बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ दशधुरेस्थित सुकुम्वासी बस्तीकी तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्नलाई कडा कार्वाहीको माग गर्दै सर्लाहीको हरिवनका युवाहरूले दवावमुलक विरोध प्रदर्शन गरेका छन्।गरिमालाई न्यायको माँग गर्दै हरिवनका युवाहरुको आयोजनामा शुक्रबार शान्तिपूर्ण दवाव र्याली निकालिएको हो।
प्रदर्शनकारीहरूले हातमा ब्यानर तथा प्लेकार्ड बोकेर“गरिमा बहिनीलाई न्याय दे,बालेन सरकार न्याय दे,गृहमन्त्री न्याय दे,हत्यारालाई कारबाही गर,बलात्कारीलाई फाँसी दे, राजनीतिक सम्झौता चल्दैन,पीडित परिवारलाई न्याय दे,नारीमाथिको अन्याय बन्द गर र नारीमाथिको हिंसा सहँदैनौँ।”लगायतका नारा लगाएका अभियानकी संयोजक आरती लामाले बताईन् ।
गरिमाको हत्यामा संलग्न दोषीलाई कडा कानुनी कार्बाहीको माग गर्दै पीडित परिवारलाई न्याय दिनुपर्ने हरिवनका युवाहरुले माग गरेका छन्।उनीहरुले देशमा भ्रष्टाचार अन्त्य, सुशासन र नागरिकको सुरक्षाको अपेक्षा गरिए पनि बालिका तथा महिलामाथि हुने हिंसाका घटनामा पीडित परिवारले न्याय पाउन नसकेको भन्दै चिन्ता व्यक्त गरे।“गरिमा बहिनीलाई न्याय दिनुपर्छ,सरकार र गृहमन्त्री सुदन गुरुङले घटनालाई गम्भीरतापूर्वक लिएर दोषीलाई कानुनी कठघरामा ल्याउनुपर्छ।अन्यथा हामी थप कडा आन्दोलन गर्न बाध्य हुनेछौँ।”शान्तिपूर्ण दवाव ¥याली पछिको कोण सभामा बोल्ने युवाहरुले बताएका छन् ।
साउन ३१ गते आइतबार बिहान करिब साढे ८ बजेदेखि बेपत्ता भएकी गरिमाको शव घरबाट करिब दुई सय मिटरको दूरीमा रहेको एक खाली घरमा तीन दिनपछि मंगलबार साँझ फेला परेको थियो।खाली घरबाट दुर्गन्ध आउन थालेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। त्यसपछि तालिमप्राप्त कुकुरसहित परिचालन भएको प्रहरी टोलीले खोजतलास गर्दा कपडामा पोको पारिएको अवस्थामा बालिकाको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको थियो।
घटनापछि स्थानीयस्तरमा आक्रोश बढ्दै गएको छ।पीडित परिवार र प्रदर्शनकारीहरूले घटनाको निष्पक्ष र प्रभावकारी अनुसन्धान गरी दोषीलाई हदैसम्मको कानुनी कारबाही गर्न तथा पीडित परिवारलाई न्याय र उचित राहत उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।