Close This

सर्लाहीको उत्तरी भेगका नागरिकलाई वर्षायाममा समस्या

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-४-६ गते   २५८५ पटक हेरिएको

सर्लाहीको उत्तरी क्षेत्रका खोलाको बाटो अवरुद्ध भएपछि दैनिक उपभोग्य बस्तु ढुवानी गर्न समस्या भएको सृजना भएको छ । जिल्लाको उत्तरी क्षेत्रका खोलामा आएको बाढीका खोलाको बाटो बिगार्दा चुरेबासीलाई बजारबाट खाद्यान्न लान समस्या भएको छ ।
 खोलाको बगर हुँदै चुरे बस्तीहरूमा जाने सवारी साधन अहिले बन्द भएका छन्। जिल्लाको कर्णाली भनेर चिनिने लालबन्दी नगरपालिका–१४ नारायणखोला र वडा नम्बर १२ भालुखोप लगायतका गाउँका स्थानीयले वर्षौदेखि वर्षायाममा सास्ती खेप्दै आएका छन्। 
वर्षायामको समयमा नदीमा निरन्तर जसो आउने बाढीले सो क्षेत्रका नागरिक जोखिम मोलेर ट्याक्टरमार्फत खाद्यान्न ढुवानी गर्न बाध्य हुने गर्दछन्। सरोकारवाला निकायले चासो नदिँदा खाद्यान्न जोहो गर्नकै लागि सो क्षेत्रका नागरिकले दुर्घटनामा परि बर्सेनि ज्यान गुमाउने गरेका छन्।
लालबन्दी बजारबाट खाद्यान्न बोकेर जाने ट्याक्टर लखन्देही र बाहुनी खोलामा पटक पटक फस्ने र दुर्घटनामा पर्ने गरेको लालबन्दी नगरपालिका वडा नम्वर–१४ का वडाध्यक्ष सुवाइसिंह ब्लोनले बताउनु भएको छ । । गाउँमा उब्जिने अन्नले १२ महिना खान नपुग्ने भएकाले नारायण खोलाका नागरिकले चामललगायत अन्य दैनिक उपभोग्य खाद्यान्न किनेरै खानु पर्ने बाध्य छ ।
ढु्वानीका साधन ट्याक्टर र बोलेरोमार्फत खाद्यान्न जसोतसो ढुवानी हुने गरेको भए पनि बिरामी पर्दा औषधोपचार लागि अस्पतालसम्म आउन जान घण्टौं पैदल हिँड्नुपर्ने बाध्यताका कारण पनि कतिपय सो क्षेत्रका नागरिकले अकालमै ज्यान गुमाउनु परेको वडाध्यक्ष ब्लोनले बताउनु भयो ।
वर्षा लागेसँगै जिल्लाको उत्तर क्षेत्रमा पर्ने गुइडुङ,भालुखोप,पिपलदमार, लामीदमार र महोत्तरीको उत्तर क्षेत्रमा पर्ने छोड्के क्षेत्रका बासिन्दालाई पनि खाद्यान्न ढुवाानी गर्न उस्तै समस्या सृजना भएको छ । इश्वरपुर नगरपालिका १२ को गुइडुङ, पिपलदमार लगायतका क्षेत्रमा जाने बाँके खोलाको बाटो पनि बाढीका कारण बिग्रिएको ईश्वरपुर नगरपालिका–१२ का वडाध्यक्ष नागेन्द्र पाख्रिनले कमलामाई मिडिया प्रालीलाई जानकारी दिनुभयो ।
अन्य क्षेत्रमा कम पानी परिरहेको भए पनि चुरे क्षेत्रमा दैनिकजसो पानी परिरहेकोले खोलामा बाढी आउने गरेको स्थानीयको भनाइ छ । खाद्यान्न बोकेर जाने ट्याक्टर, बोलेरो र औषधोपचारलगायत अन्य कामका लागि बजार झरेकाहरू फर्किने क्रममा बीचमै फस्ने गरेका छन्। वर्षायाम सुरु भएसँगै जिल्लाको ईश्वरपुर, लालबन्दी, हरिवन र बागमती नगरपालिकाअन्तर्गत पर्ने चुरे क्षेत्रका बस्तीमा खोलाको बाटो भएर प्रवेश गर्ने कच्ची तथा गोरेटो बाटोहरू अत्यन्तै जीर्ण भएका छन्। भने सोक्षेत्रका नागरिकहरुलाई सास्ती त्यतिकै छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech