राष्ट्रिय अनुसन्धान विभागका प्रमुखले अवकाश पाएपछि सरकारले सुरक्षा निकायको महत्वपूर्ण र संवेदनशील निकायमा नेकपा(माओवादी केन्द्र)ले चाहे अनुरुपको नेतृत्वलाई नियुक्त गरेको छ । कुनै बेला सुरक्षा निकयबाट किलो शेरा टु जस्ता अप्रेशन भोगेको माओवादी केन्द्रले पहिलो पटक आफूले चाहेजस्तो नेतृत्व प्राप्त गरेको हो ।
निर्वाचनको मुखमा बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रिय अनुसन्धान विभागका प्रमुख यदुलाल खरेलले भदौ २८ गतेबाट अनिवार्य अवकाश पाउने भएपछि सरकारले सो विभागका एआईजी हुतराज थापालाई प्रमुखमा नियुक्त गरेको हो ।
एआईजी थापा विभागको तीन वर्ष प्रमुख रहनु हुनेछ । राज्य व्यवस्था समितिमा छलफलमा रहेको ऐनमा राखिएको चार वर्षे व्यवस्था पास भएको अवस्थामा थप एक वर्षसमेत उहाँले पाउनु हुनेछन् । विभागको रिक्त एआईजीमा टेकेन्द्र कार्कीको बढुवा भएको स्रोत बताउछ । उहाँ माओवादी केन्द्रको कोटामा नियुक्त हुनु भएको हो ।
एआईजी थापा गृहमन्त्री रामबहादुर थापा(बादल)भएको समयमा लामो समय गृहमन्त्रालयमा बस्नु भएको थियो ।त्यसपछि उहाँको सरुवा प्रदेश १ मा भएको थियो । उहाँले आजैबाट विभागको प्रमुखको जिम्मेवारी सम्हाल्नु भएको छ ।
यसैबीच राष्ट्रिय अनुसन्धान विभागका ६ अनुसन्धान उप निर्देशक(एसपी)हरु बरिष्ठ अनुसन्धान उप निर्देशकमा बढुवा भएका छन् । भुमी पाठक,उर्मिला पोखरेल,विकास पाण्डे, विष्णुमणि आचार्य,रमेश यादब र अर्जुन भण्डारीको बढुवा भएको हो । अवकाश हुने दिन विभागका प्रमुख खरेलले उनीहरुको बढुवा गरेका थिए । विभागमा अनुसन्धान उप निर्देशक(एसपी)हरुको १४ पद रिक्त भएका छन् । जसमा दोब्बर डिएसपीहरु प्रतिस्पर्धामा छन् ।