तीनपाटन–१० को दुर्गम गाउँ सिरुटारको कथा

209 Shares

देशमा व्यवस्था फेरियो,संविधान फेरियो,सरकार फेरिए,नेताका भाषण फेरिए र विकासका नारा पनि पटक–पटक फेरिए।तर सिन्धुलीको तीनपाटन गाउँपालिका–१० सिरुटारका नागरिकको जीवनमा परिवर्तनको अनुभूति कति आयो ? गाउँका जनताले विकासको उज्यालो कहिले देख्ने ? निर्वाचनका बेला गाउँगाउँ पुगेर आश्वासनको पोको बाँड्ने नेताहरूलाई आज सिरुटारका नागरिकले तपाईंहरूले भाषणमा देखाएको समृद्धि कुन बाटो हुँदै हाम्रो गाउँसम्म आउँछ भन्ने  प्रश्न सोध्नुपर्ने बेला आएको छ ।
सिरुटारका नागरिकलाई विकासको सपना देखाउन कुनै नेताले बाँकी राखेनन्।सडक,सिँचाइ, खानेपानी,शिक्षा,स्वास्थ्य,कृषि र रोजगारीका नाममा अनेकौँ प्रतिबद्धता सुनाइए।तर प्रतिबद्धताको भारी बोकेर बसेका नागरिकको काँधमा विकासको जिम्मेवारी बोक्ने सरकार भने हराए जस्तो देखिन्छ।जनताले तिरेको करबाट चल्ने राज्यका निकायहरू जनताकै समस्या समाधान गर्न उदासीन देखिनु लोकतन्त्रको सुन्दर पक्ष होइन यो त जनताप्रतिको उपेक्षाको तीतो उदाहरण हो।
तीनपाटन गाउँपालिका–१० सिरुटारको लिफ्ट सिँचाइ आयोजना र सडक सञ्जाल नै स्थानीय विकासको अवस्थामाथि गम्भीर प्रश्न उठाउने विषय बनेको छ।स्थानीयस्तरमा उठेको गुनासो अनुसार आयोजना अलपत्र पर्दा करिब १५ बिघा जग्गाले सिँचाइ सुविधा पाउन सकेको छैन। खेतीपातीमा निर्भर किसानका लागि सिँचाइ सुविधा विलासिता होइन,जीवन धान्ने आधार हो। खेतमा पानी पु¥याउन नसक्ने विकासले किसानहरुको जीवनमा समृद्धि कसरी ल्याउँछ ? कागजमा योजना बनाएर,बजेट छुट्याएर र उद्घघाटनका सपना देखाएर मात्रै कृषि क्रान्ति सम्भव हुन्छ ?
किसानको खेतमा पानी नपुग्दा सरकारका भाषणमा भने विकासको बाढी आउँछ,यही हाम्रो विकास प्रणालीको विडम्बना हो। आयोजनाको वर्तमान अवस्था,बजेट खर्च,प्राविधिक समस्या र निर्माणमा भएको ढिलाइ बारे सम्बन्धित निकायले स्पष्ट जवाफ दिनुपर्छ।योजना किन रोकियो ? कसको जिम्मेवारी के हो ? र कहिलेसम्म सञ्चालनमा आउँछ ? भन्ने प्रश्नको उत्तर खोज्नु नागरिकको अधिकार हो।यो कुनै कृपा मागिएको होइन,सार्वजनिक स्रोतको जवाफदेहिता खोजिएको हो।
स्थानीय सरकारलाई जनताको सबैभन्दा नजिकको सरकार भनिन्छ।संविधानले अधिकार दिएको छ।बजेट परिचालन गर्ने जिम्मेवारी दिएको छ र स्थानीय आवश्यकता अनुसार योजना सञ्चालन गर्ने अवसर दिएको छ।तर जनताको नजिक भएर पनि जनताका समस्याबाट टाढा रहने हो भने त्यस्तो सरकारको औचित्यमाथि प्रश्न उठ्नु स्वाभाविक हो।गाउँपालिकाको कार्यालयमा विकासका फाइल कति अगाडि बढे भन्नेभन्दा किसानहरुको खेतमा पानी पुग्यो कि पुगेन ? भन्ने प्रश्न महत्वपूर्ण हो।बैठक,निर्णय र प्रतिवेदनको थुप्रोले मात्र गाउँको मुहार फेरिँदैन।
लिफ्ट सिँचाइ आयोजना सञ्चालनका लागि के पहल भइरहेको छ?बजेट अपुग हो कि व्यवस्थापकीय कमजोरी ? प्राविधिक समस्या हो कि प्राथमिकताको अभाव ?स्थानीय सरकारका जनप्रतिनिधिले सिरुटारका नागरिकलाई जवाफ दिनुपर्छ ।यदि समस्या छ भने समाधानको समयसीमा सार्वजनिक किन नगर्ने ? जनताले आफ्नो प्रतिनिधि चुनेका हुन् चर जवाफ नदिने शासक बनाएका होइनन्।
प्रदेश सरकारको भूमिका पनि कम प्रश्नयोग्य छैन। प्रदेश सरकार विकासको अर्को ढोका हो। स्थानीय तहको क्षमताले मात्र समाधान गर्न नसकिने समस्या समाधान गर्न प्रदेशले समन्वय, बजेट र प्राविधिक सहयोग दिनुपर्छ।तर प्रदेश सरकार पनि सभा,समारोह,औपचारिक कार्यक्रम र राजनीतिक समीकरण मै व्यस्त हुने हो भने दुर्गम गाउँका नागरिकले संघीयताको लाभ कहाँ खोज्ने ? प्रदेशको नक्सामा सिरुटार देखिनु मात्र पर्याप्त छैन,प्रदेश सरकारको प्राथमिकतामा पनि सिरुटार देखिनुपर्छ ।
सिंहदरबारबाट देशका दुर्गम बस्तीको पीडा देखिन्छ कि देखिँदैन ?संघीय सरकारलाई पनि प्रश्न छ ।संघीयताको उद्देश्य अधिकारलाई नागरिकको नजिक पु¥याउनु हो।तर अधिकारको नाममा तीन तहका सरकार बनेर पनि नागरिकले आधारभूत सुविधा पाउन संघर्ष गर्नुपर्छ भने संरचना फेरिएको अर्थ के रह्यो ? जनताले कर तिर्ने,नेताले भाषण गर्ने,कर्मचारीले फाइल घुमाउने र किसानहरुले आकाश हेरेर खेती गर्ने अवस्थालाई नै विकास भनिन्छ भने यस्तो विकासको परिभाषा बदल्नुपर्छ।
सिरुटारको कथा एउटा गाउँको कथा मात्रै होइन।यो नेपालको ग्रामीण विकासमा देखिएको प्राथमिकताको असन्तुलनको कथा हो।सहरमा ठूला आयोजना र आकर्षक संरचनाको चर्चा भइरहँदा गाउँका किसानहरुले आफ्नो खेतमा पानी पु¥याउन नसक्नु राज्यको विकास दृष्टि माथिको प्रश्न हो।विकासको मापन सडकमा राखिएका शिलालेख,भवनमा झुन्डिएका नामपट्टी र सामाजिक सञ्जालमा सार्वजनिक गरिएका तस्बिरबाट होइन,नागरिकको जीवनमा आएको परिवर्तनबाट हुनुपर्छ।
अब सिरुटारका जनतालाई आश्वासन होइन,परिणाम चाहिएको छ।तीनपाटन गाउँपालिका, बागमती प्रदेश सरकार र संघीय सरकारले आ–आफ्नो जिम्मेवारी स्पष्ट गरी लिफ्ट सिँचाइ आयोजना सहित सडक सञ्जालको वास्तविक अवस्था सार्वजनिक गर्नुपर्छ।आवश्यक बजेट, प्राविधिक समाधान र सञ्चालनको समयसीमा निर्धारण गरी किसानहरुको खेतसम्म पानी पु¥याउने,बिरामी हुदा एम्बुलेन्स पुग्ने सडकको कामलाई प्राथमिकता दिनुपर्छ।ढिलाइ र कमजोरी भएको भए त्यसको जिम्मेवारी समेत स्पष्ट हुनुपर्छ।
अन्त्यमा,जनताको मत माग्न सिरुटार पुग्ने बाटो भेटिन्छ तर जनताको समस्या समाधान गर्न त्यही बाटो किन हराउँछ ? सरकारहरूलाई कटु प्रश्न छ ।लोकतन्त्रमा जनता पाँच वर्षमा एक पटक मतदाता मात्र होइनन्।उनीहरू राज्यका स्थायी मालिक हुन्।त्यसैले सिरुटारका नागरिकले विकास माग्नु कुनै अपराध होइन,आफ्नो अधिकार माग्नु हो।
सरकारले यो आवाजलाई विरोधको सामान्य स्वर ठानेर बेवास्ता नगरोस्।किनकि किसानहरुको खेतमा सुक्खा लागेको बेला सरकारको विश्वसनीयतामा पनि खडेरी लागिरहेको हुन्छ। सिरुटारलाई विकासको नक्सामा नाम मात्र नभई व्यवहारमै स्थान दिनुपर्छ। अन्यथा तीन तहका सरकार हुँदा पनि एउटा गाउँका किसानहरुले सिँचाइको पानी किन पाएनन् ?चुनावमा भोट माग्न नेता पुग्ने गाउँमा चुनाव पछि बाटो किन पुगेन् ? इतिहासले प्रश्न गर्नेछ ।

सम्बन्धित समाचार