ठगी तथा संगठित अपराधको कसुरमा पूर्वमन्त्री राय र कुँवरसहित छ जना पक्राउ

106 Shares

ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमन्त्रीसहित छ जनालाई प्रहरीले पक्राउ गरेको छ।वैदेशिक रोजगारीका नाममा ठगी गरी गैर–कानुनी रूपमा रकम संकलन गरेर मलेसिया पठाउने कार्यमा संलग्न रहेको आरोपमा तत्कालीन श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेर बहादुर कुँवर र रामेश्वर राय यादव सहित छ जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार पक्राउ पर्ने अन्यमा श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका तत्कालीन सचिव विनोद केसी,तत्कालीन रोजगार व्यवस्थापन महाशाखा प्रमुख (सह–सचिव) उमेश ढुंगाना,राजीव पोखरेल र मन्त्रालयकी तत्कालीन कानुन अधिकृत (उप–सचिव) निर्मला गुरुङ रहेका छन् ।कार्यालयका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र वैदेशिक रोजगारसँग सम्बन्धित विभिन्न निकायबाट प्राप्त पत्र तथा विकास रानाभाट समेतको जाहेरीका आधारमा उनीहरूमाथि पक्राउ गरि अनुसन्धान अघि बढाइएको हो ।
नेपाल सरकार र मलेसिया सरकारबीच भएको समझदारी (एमओयू) विपरीत गैर–कानुनी रूपमा रकम संकलन गरि ठगी गरेको प्रहरीको भनाइ छ।संकलित रकममध्ये अमेरिकी डलर र बेलायती पाउन्ड गरी ठूलो परिमाणको रकम मलेसिया पठाउने निर्णयमा उनीहरू संलग्न रहेको प्रहरीको आरोप छ ।
प्रहरीका अनुसार सम्झौताको दायरा र कानुनी प्रक्रिया विपरीत अधिकार क्षेत्र नाघेर विदेशी मुद्रा अपचलन गराइएको थियो।यसबाट देशको अर्थतन्त्रमा प्रतिकूल असर पर्ने निर्णय गरी संगठित समूहको लाभका लागि पद तथा जिम्मेवारीको दुरुपयोग गरिएको आरोप उनीहरूमाथि छ।उनीहरूलाई काठमाडौं,ललितपुर र सर्लाहीका विभिन्न स्थानबाट पक्राउ गरी थप अनुसन्धान अघि बढाईएकोे प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार