जहाँ गयो त्यँही विवादमा उप सचिव जोशी,उनीमाथि बर्हिगमन,कालोमोसो र हातपात सम्म

384 Shares

महोतरीको बर्दिवास नगरपालिकाका नगर प्रमुख प्रशासकीय अधिकृत.उप सचिव) धर्मानन्द जोशीको मधेश प्रदेशका स्थानीय तहहरुमा रहेका उप सचिवहरु मध्य सबै भन्दा बढी विवादित उप सचिवको रुपमा परिचित भएका छन् ।स्थानीय तहमा कार्यरत एउटा प्रमुख प्रशासकीय अधिकृत(उप सचिव)हरुले  कार्यालय कुशल ढंगले चलाउन नियम,कानुन जानेको हुनुपर्छ  तर घमण्ड र अभिमान सिकेको प्रमुख प्रशासकीय अधिकृत भयोभने कार्यालयको व्यवस्थापकीय तथा प्रशासनिक काम कार्बाही राम्रोसंग सञ्चालन हुन सक्दैन भन्ने एउटा उद्धहरण महोतरीको बर्दिवास नगरपालिकामा देखिएको छ ।
मधेशका धेरै पालिकामा थोरै काम गरेका हाल बर्दिवास नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत(उप सचिव)का रुपमा कार्यरत जोशीको कार्यकुशलतालाई हेरे उनी कसरी प्रमुख प्रशासकीय अधिकृत भए?भन्ने सामान्य नागरिकले पनि थाहा पाउँछन्।सेवाग्राहीहरुको काम सहज ढंगले नगर्ने,सानासाना विषयहरुमा अल्झाइ राख्ने,कर्मचारीहरुप्रति तल्लोस्तरको व्यवहार गर्ने प्रवृति र जनप्रतिनिधिहरुलाई पोष्टर बनाई दिन्छु सम्म भन्न भ्याउने शैली कै कारण उनी  लामो समयसम्म कुनै पनि स्थानमा टिकेका छैनन् ।
छोटो समयमा दर्जनौ पालिकामा जानु र लामो समयसम्म काम गर्न नसक्नुले पनि उप सचिव जोशीको वास्तविकता झल्काई रहेको छ।सर्लाही र महोत्तरीमा उप सचिव जोशीको विवादास्पद छवि भंगाहा नगरपालिकावाट प्रारम्भ हुन्छ। करिब १६ महिना भंगाहा नगरपालिकामा काम गरेका जोशीको उक्त अवधि विवाद नै विवादमा सकियो।सम्भवतःयो नै जोशीले काम गरेको सवैभन्दा लामो समय पनि हुन सक्छ ।
कहिले काम नै नसकी भुक्तानी दिएको,कहिले सेवाग्राहीसँग झगडा त कहिले जनप्रतिनिधिहरुसगँको विवादमा अल्झिरहने उप सचिव जोशीले कहिल्यै सेवाग्राही,जनप्रतिनिधि र कर्मचारीहरुको सहयोग पाउन सकेनन्। काम नै नसकाई एउटा विद्यालय वनाउने क्रममा गुपचुप करिब १६ लाख भुक्तानी दिएको आरोपमा उनीविरुद्ध स्थानियहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत दिएका थिए ।त्यहाँवाट उनको बहिगर्मन पनि नगर प्रमुख सन्जिव साहसँगको विवाद कै कारण भयो।आफ्ना नगरवासीलाई गर्ने व्यवहार र कर्मचारीहरुलाई गर्ने व्यवहारको विषयमा वाक्लै गुनासो आउन थालेपछि नगरवाट हटाएको नगरप्रमुख साह बताउँछन् ।
आफुलाई अनुकुल हुदाँ नियम कानुन मिचेर काम गर्ने र अनुकुल नहुँदा नियमअनुसार काम नगरेको आरोपमा  स्थानीयहरुले प्रतिरोध गर्न सुरु गरेका थिए।नगरवासीहरुले कानुन नै हातमा लिएर उप सचिव जोशीविरुद्ध उत्रने सुइँको पाएपछि अगाडि नै हतार हतार हटाउनु परेको नगरप्रमुख साह बताउँछन् ।भंगाहावाट निकालिएका उप सचिव जोशी लालबन्दी हुँदै बर्दिवास सम्म भंगाहा नगरपालिकामा निक्कै विवादास्पद छवि बनाएर बहिगर्मन भएका उप सचिव जोशी पहिलेदेखि नै बर्दिवास नगरपालिकामा जान चाहन्थे।
 बर्दिवास नगरपालिकाका तत्कालीन नगर प्रमुख बिदुर कार्की हुँदा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा मिलाएर बर्दिवास नगरपालिकामा उप सचिव जोशी त आए तर नगरप्रमुख कार्कीले हाजिर हुनै दिएनन् ।हाजिर हुन नपाएपनि उनी जवर्जस्त कार्यालयमा आउन त आए तर नगर प्रमुख कार्कीले आर्थिक कारोवार र  निर्णयको भूमिका दिएनन्।“जिम्मेवारी विहिन भएर बस्नुभन्दा उनी आफैले बाटो खोजे अनि  बर्दिवासवाट बाहिरिए” निवर्तमान नगरप्रमुख कार्कीले भने,“मलाई त्यो बेला उनको व्यवहार ठीक लागेको थिएन र उनले नगरमा कर्मचारीहरु र जनप्रतिनिधिहरुसँग मिलेर काम गर्न सक्छन् भन्ने नलागेपछि मैले हाजिर नगराएको हो।कार्कीले थपे ।
त्यसपछि सर्लाहीको लालबन्दी नगरपालिका आएका उप सचिव जोशीले छोटो समयमै जनप्रतिनिधिहरुलाई पोष्टर बनाउँछु भनेपछि लालबन्दी नगरपालिका नगर कार्यपालिकाले निर्णय नै गरेर अयोग्य उपसचिव भनी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा फिर्ता पठाए ।
त्यसपछि बर्दिबास नगरपालिकाका नगर प्रमुख प्रह्लाद कुमार क्षेत्रीकै पहलमा उनी पुनः बर्दिवास नगरपालिकामा हाजिर भए।कार्यालयमा औपचारिक प्रवेश गरे लगत्तै एकजना कर्मचारीसँगको विवादका कारण उनीमाथी हातपात नै भयो।उप सचिव जोशीको व्यवहारका कारण अनिवार्य अवकाश हुन लागेका कर्मचारीले हातपात गरेपनी आन्तरिकरुपमा नै त्यसलाई मिलाइयो।“तँ भन्ने,हेप्ने र तल्लोस्तरको व्यवहार मैले भोगेको नै थिइन्।अनि हात छाडन बाध्य भएँ,”ती कर्मचारीले बताए ।
नगरपालिकालाई बदनाम गराउंदै उप सचिव जोशी
आफुलाई ऐन,कानुनको वौद्धिक भनेर स्वघोषणा गर्ने उप सचिव जोशीले अहिले बर्दिवास नगरपालिकालाई समेत अफ्ठ्यारोमा पारेका जनप्रतिनिधिहरुको भनाइृ छ ।रातु खोलाको नदीजन्य पदार्थ ठेक्का लगाउन उनले गरेको अवैधानिक सम्झौतादेखि यो अवधिमा उप सचिव जोशीले गरेका निर्णय र भुक्तानी समेत अवैधानिक देखिएका छन्।जनप्रतिनिधिहरु योजना वनाउने तर उक्त योजनामा उप सचिव जोशीले हस्तक्षेप गर्ने प्रवृतिका कारण नगर प्रमुख समेत अहिले असन्तुष्ट छन्।जनप्रतिनिधिहरुलाई बाध्य बनाएर कानुन विपरित हस्ताक्षर गर्न लगाएको विषय अहिले नगर क्षेत्रमा चर्चाको विषय बनेको छ।जफत गर्नुपर्ने राजस्वलाई रकमान्तर गरेर पर्यटन शीर्षकवाट भुक्तानी दिएका उप सचिव जोशीले नगरसभावाट पास गराउन बाध्य बनाएका थिए ।
 जुन विषय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा तानिएपछि उनकै कारण जनप्रतिनिधिहरुले बयान दिइरहेका छन् ।
महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा पनि उप सचिव जोशीमाथि दर्जनौ प्रश्न चिन्ह खडा भएका छन्।“उप सचिव जोशी बर्दिवास नगरपालिकामा नै रहने हो भने हरेक जनप्रतिनिधिहरुलाई अख्तियार र अदालत धाउदा धाउदै कार्यकाल सकिने देखियो,”नगर प्रमुख क्षेत्रीको सचिवालयको भनाई छ ।“उप सचिव जोशीको व्यवहार निक्कै रुखो छ,आफुलाई मात्र जान्ने बुझ्ने भनेर स्वघोषणा गर्ने जोशीमा ठूलो अभिमान रहेछ,जसका कारण उनी लामो समय कहीपनि काम गर्न नसकेका देखिन्छ ।”एक स्थानीय जानकारले बताए ।
उप सचिव जोशी जाँहा गए पनि विवादित र कलंकित नबनेको कुनै ठाउँ छैन।जसको कारण छोटो समयमा धेरै कार्यालयबाट लखेटिएका उनका प्रशस्त उदाहरणहरु छन्।वेलका,राजविराज जस्ता ठाउँमा समेत सन्तुलित काम गर्न नसकेपछि उनलाई निकालिएको थियो ।तनहुँमा उनी केही समय प्रमुख जिल्ला अधिकारी समेत वनेर बसेको थिए।प्रमुख जिल्ला अधिकारी बनेपछि सेवाग्राहीहरुलाई गर्ने तल्लोस्तरको व्यवहारका कारण त्यहाँका स्थानीयहरुले उप सचिव जोशीलाई कालोमोसो समेत लगाएर निकालेको पाइएको छ ।
उनी पोखरियामा काम गर्दा होस् या रौतहटमा सहायक प्रमुख जिल्ला अधिकारी भएर काम गर्दा होस निक्कै विवादास्पद छवि वनाएर वाहिरिएका थिए।उता बझाङमा प्रमुख जिल्ला अधिकारी हुँदा त निर्वाचनको समयमा मतपेटिका नै लिएर बेपत्ता भएको आरोप लागेको थियो।तत्कालीन समयमा उनी मधिरा सेवन गरेर सुतेको र मतपेटिका वेवारिसे छाडेको उनीमाथी आरोप लागेको थियो ।
ज्यालादारीमा राखेको एक जना कर्मचारीलाई प्रष्टिकरणको मौका समेत नदिइकन उनले  निकालेका समेत पाइएको छ।भुक्तानी दिनुपूर्व आफैँले त्यसको चेकजाँच गर्नुपर्ने प्रावधान भएता पनि एक जना असहायलाई दिनुपर्ने रु २५ हजार कर्मचारीको नै मिलोमतोमा बाँडफाँड भएको खुलासा भएको हो ।
आफुलाई निक्कै कडा प्रशासकको रुपमा उभ्याउने उप सचिव जोशीको कार्यक्षमतालाई बर्दिवास नगरपालिका र लालबन्दी नगरपालिका सहित उनी बसेका स्थानीय तहहरुमा  देखिएको वेथितिले गिज्याईरहेको स्थानीय शंकर फुयालले बताए । नियम विपरित काम गर्ने जो कोही भएपनि आफुहरुलाई स्वीकार्य नहुने उनले बताए ।उप सचिव जोशीको अवधिको महालेखा परीक्षकको प्रतिवेदन तुलनात्मकरुपमा अध्यन गर्ने हो भने करोडौँको सैद्धान्तिक बेरुजु र अनियमितता भएको देखिएको छ। 

सम्बन्धित समाचार