सर्लाहीका उखु उत्पादक किसानहरुका लागि अनुदान वानपतको रु १८ करोड रकम कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) मा आइपुगेको छ । उखु उत्पादक किसानहरुलाई अनुदान दिन रु १८ करोड ७५ लाख ५० हजार छ सय ९० निकासा भएर आएको कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका)का प्रमुख कोष नियन्त्रक पुष्पप्रसाद गुरागाईले जानकारी दिए ।
उनका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा सरकारले उखु उत्पादक किसानहरुलाई प्रतिक्विन्टल रु ७० का दरले अनुदान उपलब्ध गराउने निर्णय गरेको भएपनि अहिले निकास भएर आएको रकम प्रतिक्विन्टल रु ३५ मात्रै हो ।सर्लाहीका तीनवटा चिनी मिलले क्रसिङ गरेको उखुको विवरण अनुसार जिल्लाका उखु उत्पादक किसानहरुलाई रु ३७ करोड अनुदान रकम माग गरिए पनि रु १८ करोड मात्रै निकासा आएको प्रमुख कोष नियन्त्रक गुरागाईले बताए ।उनका अनुसार कार्यालयलाई प्राप्त रकम किसानको बैँङ्क खातामा पठाउन तीव्रताका साथ काम भइरहेको छ ।

बैँङ्क तथा वित्तीय संस्थाले कोलेनिकाबाट एकमुष्टमा चेक लिएर सम्वन्धित किसानहरुको खातामा रकम जम्मा गरिदिने छ ।उखु उत्पादक किसानहरुले उखुको अनुदान वापतको रकम प्रतिक्विन्टल रु ७० नै पाउनुपर्ने माग गर्दै एक सातादेखि काठमाडौंको माइतीघरमा प्रदर्शन गरिरहँदा सरकारले भने जिल्लामा उखुको अनुदान वापतको रकम प्रतिक्विन्टल रु ३५ का दरले मात्रै अनुदान रकम निकासा गरेको केन्द्रीय उखु किसान संघर्र्ष समितिका सह–संयोजक राजकुमार उप्रेतीले बताए ।उनका अनुसार आन्दोलित उखु उत्पादक किसानहरुलाई भुलाउन र आगामी वर्षदेखि अनुदान नै नदिने योजनासहित सरकारले हतार हतारमा अपुरो रकम निकासा गरेर पठाएको हो ।