सर्लाही प्रहरीले मलंगवा नगरपालिका–५, भाडसरबाट ठूलो परिमाणमा अवैध घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरी टोलीले छ वटा भट्टी पसलमा ४ हजार ५ सय लिटर तयारी मदिरा र २ हजार लिटर मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ बरामद गरी नष्ट गरेको हो ।
प्रहरीले मदिरा उत्पादन गर्न प्रयोग हुने विभिन्न सामग्री पनि नियन्त्रणमा लिएको हो । भारतीय सीमावर्ती क्षेत्रमा पर्ने भाडसरमा लुकिछिपी घरेलु मदिरा उत्पादन गरी बेचबिखन हुँदै आएको स्थानीयवासीले बताएका छन् । प्रहरीले त्यस ठाउँमा पटक–पटक भट्टी पसल भत्काउँदै आएपनि मदिरा बनाएर बेच्नेक्रम भने रोकिएको छैन् ।
आफ्नो ठाउँमा प्रतिवन्ध रहेकाले सीमापारीका भारतीय नागरिकहरु दशगजा क्षेत्रमा खुलेका भट्टी पसलहरुमा मदिरा सेवन गर्न आउने गरेका छन् । यस्तै, जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी यूनिटहरुले जिल्लाको विभिन्न स्थानमा ३ सय ६० बोतल सौफी रक्सी र १ सय ५० लिटर घरेलु मदिरा बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले जिल्लाका विभिन्न स्थानहरुबाट रु ५२ हजार बराबरको पट्का जन्य सामग्री समेत बरामद गरिएको सलाृही प्रहरीले जनाएको छ ।