Close This

आइसोलेसन बनाउन मरिण गाउँपालिका र कर्मचारीको सहयोग

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-५-२० गते   ५०८ पटक हेरिएको

सिन्धुलीको मरिण गाउँपालिका र कर्मचारीहरुले आइसोलेसन अस्पताल नर्मिाणमा सहयोग गरेका छन् ।कोरोना भाइरस (कोभिड–१९)को संक्रमीतको उपचारका लागि निर्माण थालिएको आइसोलेसन भवनका लागि पालिका र कर्मचारीहरुले जम्मा ६ लाख ६३ हजार ७ सय १७ रुपैयाँ सहयोग गरिएको हो ।

भवन निर्माणमा आर्थिक अभाव भएपछि गाउँपालिकाले ५ लाख ५० हजार र कर्मचारीहरुले १ लाख १३ हजार ७ सय १७ रुपैयाँ गरी जम्मा ६ लाख ६३ हजार ७ सय १७ रुपैयाँ सहयोग गरिएको हो । जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा आइसोलेसन वेड अभाव भएपछि एकैपटक ५० वेडको आइसोलेसन अस्पताल निर्माण थालिएको थियो ।

अस्पताल निर्माणमा आर्थिक अभाव हुँदा सम्पूर्ण निर्माण सामाग्री उधारोमा ल्याएर निर्माण गरिएको छ । अस्पताल निर्माणमा सहयोग होस भन्ने अभिप्रायले गाउँपालिकाको तर्फबाट ५ लाख ५० हजार रुपैयाँको चेक निर्माण स्थलमै आएर सहयोग गरिएको गाउँपालिकाका अध्यक्ष पानीराज बम्जनले बताए ।

‘जिल्लाकै ठुलो र सुविधा सम्पन्न आइसोलेसन भवन निर्माण सुरुभएपछि गाउँपालिकाको तर्फबाट थोरै भएपनि सहयोग पुग्ने अपेच्छा छ । पैसा अभावमा अस्पताल निर्माण नरोकियोस भन्दै आवश्यक परे अझै सहयोग गर्न तयार छौं,’ बम्जनले भने । उक्त चेक भवन निर्माण समितिका संयोजक तथा रेडक्रस शाखा सिन्धुलीका सभापति अशोक श्रेष्ठलाई हस्तान्तरण गरिएको छ ।

यसैबीच उक्त गाउँपालिकामा कार्यरत कर्मचारीहरुले समेत १ लाख १३ हजार ७ सय १७ रुपैयाँ नगद सहयोग गरेका छन् । कर्मचारीहरुबाट स्वतस्पुर्त संकलन गरिएको नगद आइसोलेसन भवन निर्माण कालागि शनिवार उपलब्ध गराइएको उक्त गाउँपालिकाको योजना शाखा प्रमुख तथा नेपाल राष्ट्रिय कर्मचारी संगठन जिल्ला अध्यक्ष सुदीप केसीले जानकारी दिए ।

गाउँपालिका र वडा कार्यालय मातहतका साथै कोरोना भाइरसको उपचारमा दिनरात नभनी खटेका स्वास्थ्यकर्मीहरुले समेत अस्पताल निर्माणमा सहयोग गरेको नगद रकम गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद पोखरेलले हस्तान्तरण गरेका हुन् ।

पैसाको कुनै तयारी नहुँदै कमलामाई नगरपालिका ६ शिबनगरमा बागमती प्रदेशका सांसद तथा नेकपा सिन्धुलीका अध्यक्ष राजन दाहालको अग्रतामा ३ करोड ३६ लाख रुपैयाँको लागतमा आइसोलेसन अस्पताल निर्माण थालिएको थियो । तिन हप्ता भित्र सम्पन्न गर्नेगरी निर्माण थालिएको उक्त भवनको ८० प्रतिसत काम सम्पन्न भईसकेको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech