Close This

सुनकोसी मरिण डाइभर्सनमा मुआब्जा वितरणका लागि सुचिकृत गर्ने काम सुरु

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-५-२९ गते   ४४६ पटक हेरिएको

सुनकोसी–मरिण डाइभर्सन आयोजनाको काम द्रुत गतिमा अगाडि बढेको छ । सुनकोसीको पानी मरिण खोलामा झारेर प्रदेश नं २ का विभिन्न जिल्लामा सिँचाइ सुविधा उपलब्ध गराउने र विद्युत समेत उत्पादन गर्ने लक्ष्यका साथ आयोजनाले प्रारम्भिक कामलाई पूर्णता दिई अब खरिद प्रक्रिया शुरु गर्न लागेको छ ।
सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको यस आयोजनामा कूल ३९२ घरपरिवारलाई मुआब्जा वितरणका लागि सार्वजनिक सूचना प्रकाशित गरेको छ । रामेछापको साबिक भालुवाजोर, खाँडादेवी, पकरबास, भिरेपानीलगायत स्थानमा बसोबास गर्दै आएका स्थानीयवासी र उनीहरुको घरजग्गा प्राप्तिका लागि सार्वजनिक सूचना प्रकाशित गरिएको छ ।
जग्गा प्राप्ति ऐन, २०३४ अनुसार सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र मुआब्जाका लागि जिल्ला प्रशासन कार्यालय रामेछापमा आवेदन दिन आग्रह गरिएको छ । आयोजना अन्तर्गत सुनकोसीको नदीमा बाँध लगायतका संरचना निर्माणका लागि नेपाल सरकारको २०७४ साल असोज २ गतेको निर्णय र जिल्ला प्रशासन कार्यालय रामेछापको यही भदौ २६ गतेको निर्णयानुसार मुआब्जा वितरण गर्न लागिएको सुनकोसी मरिण डाइभर्सन आयोजनाका प्रमुख सुशील आचार्यले जानकारी दिनुभयो ।
सरकारले नदी स्थानान्तरण परियोजनाका रूपमा सुनकोसी मरिण डाइभर्सन आयोजनामा टिबिएम नै प्रयोग गर्न लागिएको आयोजना प्रमुख आचार्यको भनाइ छ । हाल आयोजनाको सुरुङ मार्ग निर्माणका लागि गर्नुपर्ने प्रारम्भिक काम सकिसकेको छ । विस्तृत डिजाइन तथा अन्य प्राविधिक काम सम्पन्न भएकाले छिट्टै विश्वव्यापी बोलपत्र सार्वजनिक गर्न लागिएको आयोजनाले जनाएको छ । 
बाँध स्थल लगायतको डिजाइनको काम नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी एनइए इन्जिनीयरिङ कम्पनीले गरिरहेको छ । सो कम्पनीका प्राविधिक अहिले पनि आयोजनाको बाँध स्थलमा नै प्राविधिक काम गरिरहेका छन् ।
‘ड्रिलिङ एन्ड ब्लास्ट’ प्रणालीबाट मात्रै सुरुङ खन्ने गरिएकामा टिबिएमको प्रयोग नेपालका लागि नौलो प्रविधि भए पनि भेरी बबई डाइभर्सन आयोजनाको सफलताले आफूहरुलाई पनि आकर्षित गरेको सुनकोशी मरिण डाइभर्सन आयोजनाले जनाएको छ ।
आयोजनालाई सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा समावेश गरेपछि स्थानीयवासी पनि खुसी भएका छन ।
प्रदेश नं २ का बारा, पर्सा, रौतहट, सर्लाही र सिरहाको खेतीयोग्य जमीनमा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य राखिएको आयोजनाका निर्देशक आचार्यले बताउनु भयो । आयोजनाबाट १ लाख २२ हजार हेक्टर कृषियोग्य जमीनमा सिँचाइ सुविधा उपलब्ध हुनेछ ।
निर्माणमा जाने तयारीमा रहेको सुनकोसी–मरिण डाइभर्सन आयोजनामा टिबिएम प्रयोग गरेर १३.१ किलोमिटर सुरुङ निर्माण गरिनेछ । नदी स्थानान्तरण गरेर सिँचाइ सुविधा तथा विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ सरकारले अगाडि बढाएका आयोजनामा अब क्रमशः टिबिएमको प्रयोग गरिने भएको छ ।
सिन्धुलीको गोलन्जोर गाउँपालिका ७ को खुर्कोटबाट बाँध बाँधी १३.१ किलोमिटर लामो सुरुङमार्फत ६७ मिटर क्युसेक पानी मरिण खोलामा खसालिनेछ । सिन्धुलीको कमलामाई नगरपालिका २ मा निर्माण हुने विद्युत् गृहबाट ३१ मेगावाट विद्युत् उत्पादन गर्ने तथा बारा, पर्सा र रौतहट र सर्लाहीमा सिँचाइ सुविधा उपलब्ध हुनेछ ।
भौगोलिक रुपमा समेत विस्फोटन गराएर सुरुङ खन्न नसकिने अवस्था भएकाले टिबिएमको नै प्रयोग गर्नु उचित हुने निष्कर्षमा आयोजना पुगेको छ । कूल ५.५ मिटर व्यासको सुरुङ निर्माण हुने भएकाले सोही अनुसारको टिबिएम डिजाइन गर्नुपर्ने देखिएको छ । तराई मधेशमा सिँचाइ र खानेपानी सुविधा उपलब्ध गराउने लक्ष्यका साथ सरकारले सो आयोजनालाई प्रमुख प्राथमिकतामा राखेको छ । विस्तृत परियोजना प्रतिवेदन तयार भएपछि ठेक्का प्रक्रिया अगाडि बढाइने ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको भनाइ छ । हिमाल, पहाड र तराईलाई जोड्ने भएकाले राष्ट्रिय एकतासमेत निर्माण गर्ने भएकाले आयोजना महत्वपूर्ण रहेको सरकारको बुझाइ छ । आयोजना निर्माण सम्पन्न गर्न ५ वर्ष लाग्ने अनुमान गरिएको छ ।
सो आयोजनाको अनुमानित कूल लागत रु ८२ अर्ब रहेको छ । त्यसमा विद्युत् र सिँचाइको फरक–फरक लागत रहनेछ । विद्युत् गृह, सुरुङ निर्माण लगायतमा रु ५२ अर्ब ८८ करोड र सिँचाइतर्फ रु ३२ अर्ब लागत रहने अनुमान गरिएको छ ।आयोजनाका प्रमुख आचार्यले उक्त परियोजनाबाट २ नं प्रदेशलाई खानेपानीका लागि पानी उपलब्ध गराउने लक्ष्यसमेत राखिएको बताउनुभयो । बागमतीमा पानीको सतह घटेपछि रौतहट र सर्लाहीको खेतीयोग्य जग्गामा सिँचाइमा समस्या देखिँदै आएको छ ।
बागमती सिँचाइको क्षमता १ लाख २२ हजार क्युसेक रहे पनि हिउँदमा पानीको मात्रा असाध्यै कम हुने हुँदा कृषकहरुले सिचाईका लागि चाहेजति पानी प्रयोग गर्न नपाएको गुनासो गरेका छन । सुनकोशीबाट मरिण उपत्यकामा झारिने पानीमध्ये रौतहटका किसानलाई ४८ र सर्लाहीलाई ६४ क्युसेक पानी उपलब्ध गराउने लक्ष्य राखिएको छ ।उर्मिला भट्टराई

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech