सिन्धुलीको दुधौली नगरपालिका ११ पत्रिङ्गाका मुसहर परिवारलाई शुक्रबार घर हस्तान्तरण गरिएको छ । दुधौली नगरपालिकाका ८ वटा वडामा ३५५ वटा एकीकृत नमुना मुसहर बस्ती निर्माण गरिएको हो । शिक्षा, स्वास्थ्य र आर्थिक हिसावले पिछडिएका दुधौली नगरका ३५५ मुसहरले भूकम्प प्रतिरोधी घरको बास पाएका छन् ।
गरिवीको चपेटामा परेका मुसहर जातिलाई खरको छानोबाट पक्की घरमा वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले वस्ती हस्तान्तरण गर्नृ भएको हो । “असुरक्षित बसोबासबाट सुरक्षित स्थलमा नागरिकलाई राख्ने प्रदेश सरकारको लक्ष्यअनुसार नमूना वस्ती निर्माण गरिएको मुख्य मन्त्री पौडेलले बताउनु भयो ।
“अव कसैले सडक र जंगलमा बस्नु पर्दैन । प्रदेश सरकारले खोजी खोजी वस्तीमा ल्याएर वास राख्ने छ ।” उहाले बताउनु भयो ।पाँचौँ संविधान दिवशको पुर्व सन्ध्यामा मुख्यमन्त्री पौडेलले दुधौली नगरपालिकाका नगर प्रमुख घनश्याम राउतलाई नमुना वस्तीको साँचो हस्तान्तरण गर्नुभएको हो ।
एकीकृत बस्तीका सबैभन्दा बढी घर वडा नम्बर ९ मा बनाइएको नगर प्रमुख राउतले बताउनु भयो । त्यहाँ १७३ वटा घर बनेका छन् । त्यस्तै वडा नम्बर ११ मा ८६, वडा १० मा ५०, वडा ७ मा ३१ वटा घरहरु बनाइएका छन् । त्यस्तै, वडा ४, ५, ६ मा १५ वटा घर बनाइएको नगर प्रवक्ता तथा वडा नम्बर २ का वडा अध्यक्ष रितेश राउतले जानकारी दिनु भयो ।
जस्तापाताको छानो लगाइएको दुई कोठे घरमा दुई ढोका र दुई झ्याल रहेका छन् । भवन निर्माणका लागि प्रदेश सरकारको सहरी विकास तथा भवन कार्यालयमार्फत प्रत्येक घरका लागि तीन लाखका दरले १० करोड ६५ लाख खर्च भएको जनाइएको छ । भने दुई वर्ष पहिलाबाट निर्माणको काम सुरु भएको थियो।
शौचालयसहित प्रत्येक घर निर्माण सम्पन्न हुँदा एक घर बराबर ६ लाख ३६ हजार लागत लागेको नगरपालिकाले जनाएको छ ।
स्थानीय सरकार तथा लाभग्राहीबाट ३ लाख ३६ हजार व्यहोर्ने सम्झौता भएको थियो । दुधौली नगरपालिकामा ५९० मुसहरको घर निर्माण गर्ने लक्ष्यका साथ सर्भे भएकोमा ३५५ घर पहिलो चरणमा निर्माण गरिएको नगरपालिकाले जनाएको त्यहाँबाट हाम्रा सहकर्मी सोम प्रसाद न्यौपानेले जानकारी दिनु भयो ।
दुधौली नगरपालिकाका नगर प्रमुख राउतले मुसहरहरूको आर्थिक, सामाजिक, शैक्षिक जीवनस्तर उकास्न एकीकृत वस्ती निर्माण गरिएको बताउनु भयो । एकीकृत वस्तीमा मुसहर जातिलाई राखिएपछि उनीहरुको शिक्षा, स्वास्थ्य र जनजिविकाका कार्य सञ्चालनमा सहजता आउने विश्वास नगर प्रमुख राउतले बताउनु भयो ।
घर हस्तान्तरण कार्यक्रममा सिन्धुली जिल्ला प्रतिनिधि सभाका सदस्य मा.गणेश कुमार पहाडी, वागमती प्रदेशका भौतिक, योजना तथा पुर्वाधार मन्त्री मा.रामेश्वर फुँयाल, बागमती प्रदेशका प्रदेश सभा सदस्य राजन हादाल(लेखनाथ) बागमती प्रदेशका प्रदेश सभा सदस्य प्रदिप कटुवाल, बागमती प्रदेशका प्रदेश सभा सदस्य विनोद खड्का, बागमती प्रदेशका प्रदेश सभा सदस्य वसन्त माझी लगायतको उपस्थिती रहेको थियो ।