सर्लाहीका उखु किसानहरुको अनुदान वापतको रकम कोलेनिकामा,दशैँअघि नै किसानले पाउने

338 Shares

सर्लाहीका उखु उत्पादक किसानहरुले राज्यबाट पाउनु पर्ने अनुदान वापतको रकम दशैँ अघि नै पाउने भएका छन्।उद्योगलाई उखु वेचेका किसानहरुलाई राज्यले दिनुपर्ने रकमको माग गर्दै जिल्लाका उखु उत्पादक किसानहरुका अगुवाहरुको पटक पटकको ताकेता पछि सरकारले किसानहरुले पाउनु पर्ने अनुदान वापतको रकम कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) मा पठाएको नेपाल उखु उत्पादक किसान महासंघका अध्यक्ष कपिल मुनी मैनालीले जानकारी दिए ।
उनका अनुसार सर्लाही,महोत्तरी,सिरहा,रौतहट,बारा,सुनसरीका साथै कञ्चनपुर र नवलपरासी पश्चिमका उखु उत्पादक किसानहरुले पाउनुपर्ने अनुदान वापतको रकम रु एक अर्ब ४५ करोड ३२ लाख २१ हजार आठ सय ६८ सम्बन्धित जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) मा सरकारले पठाएको हो ।
जसका सर्लाहीका उखु उत्पादक किसानहरुले उद्योगलाई उखु बेचे वापत सरकारले दिनुपर्ने करिब ३० करोड रकम कोष तथा लेखा नियन्त्रक कार्यालय सर्लाहीलाई आई पुगेको उखु उत्पादक किसान संघ नेपालका अध्यक्ष राज कुमार उप्रेतीले जानकारी दिए ।उनका अनुसार कोष तथा लेखा नियन्त्रक कार्यालय मलंगवा सर्लाहीमा अनुदान वापतको रकम आई सकेको र दशैँअघि नै सर्लाहीका उखु उत्पादक किसानहरुको खातामा अनुदानको रकम आई पुग्ने छ ।
यसैबिच,उखु उत्पादक किसानहरुको अनुदान वापतको रकम पठाई सकेको सरकारले दुध तथा उखु किसानहरुको बाँकी बक्यौता रकम उपलब्ध गराउने प्रक्रिया सुरु गरेको पाइएको छ।कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीको विशेष पहलमा दुध तथा उखु किसानहरुका लागि करिब दुई अर्ब रकम निकास भएको छ ।दुध किसानहरूको बक्यौता रकम तिर्नका लागि सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ऋण लगानीको तमसुक तथा भुक्तानीका लागि अनुमति दिएको मन्त्रालय स्रोतले जनाएको छ । 

सम्बन्धित समाचार