जिल्लामा डिजे साउण्ड सिस्टम प्रयोगमा प्रतिबन्ध लगाइएको छ । जिल्लामा हुने धार्मिक, सामाजिक, राजनीतिक लगायतका कार्यक्रमहरुमा डिजे साउण्ड सिस्टम प्रयोग गरि चर्को स्वरमा संचालन गरिने गरिएको थियो । जसबाट ध्वनि प्रदुषण, स्वास्थ्य समस्या, शान्ति सुरक्षा र सामाजिक सद्वाभावमा प्रतिकुल प्रभाव परेको भन्दै सर्लाही प्रहरीले जिल्ला भर डिजे साउण्ड सिस्टम प्रयोगमा प्रतिबन्ध लगाएको हो ।
जिल्ला सुरक्षा समिति, जिल्ला स्तरिय सर्वदलिय सर्वपक्षीय बैठक तथा स्थानीय तहका प्रमुखहरुको संयुक्त बैठकबाट सर्लाही जिल्ला भित्र डिजे साउण्ड सिस्टम प्रयोगमा प्रतिबन्ध लगाउन सिफारिस गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सन्तोषसिंह राठौरले बताउनु भयो ।
जिल्ला भर डिजे साउण्ड सिस्टम राख्दा शान्ति सुरक्षा भंग हुने, समुदायलाइ बाधा बिरोध र जनस्वास्थ्यलाई खराब असर पर्ने, विभिन्न दुर्घटनाहरु समेत भएको तथ्यलाई दृष्टिगत गरि जिल्लाका कुनै पनि स्थानमा डिजे साउण्ड सिस्टमका कुनै पनि स्पिकर राख्न नपाउने गरि स्थानीय प्रशासन ऐन २०२८ बमोजिम आदेश जारी गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनु भयो ।
ठुलो स्वारमा डिजे साउण्ड सिस्टम बजाउने र अस्लील खालमा गीत संगीत बजाउने गर्दा समाजमा विकृति विसंगती मौलाउँदै जाने गरेको जिल्ला नै अशान्त भएका कारण बाध्य भएर यस्तो निर्णय गरिएको जिल्ला समन्वय समितिका सभापति मेथुर चौधरीले बताउनु भयो ।
यो आदेशको बर्खिलाप गरिएको पाइएमा सो सिस्टम जफत गरि प्रचलित कानुन बमोजिम कारबाही गरिने प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनु भएको छ । सर्लाहीका प्रमुख जिल्ला अधिकारी पौडेल,प्रहरी प्रमुख राठौर आएपछि गैरकानूनी क्रियाकलाप दिनप्रतिदिन नियन्त्रणउन्मुख देखिएको छ ।