सन्तोषी निर्माण कम्पनीका सञ्चालक कँडेलद्वारा करिब तीन करोड राजस्व छली

321 Shares

सन्तोषी निर्माण सेवा प्रा.लिले करिब तीन करोड राजश्व छली गरेको रहस्य बाहिरिएको छ।सन्तोषीले झुटा तथा नक्कली मूल्य अभिवृद्धि कर(भ्याट)बिजक प्रयोग गरी रु दुई करोड ८२ लाख राजस्व छली गरेको पाइएको रहस्य बाहिरिएको हो ।सन्तोषी निर्माण कम्पनी प्रा.लिका सञ्चालक एवम प्रबन्ध निर्देशक केशवराज कँडेलले अन्य दुई निर्माण कम्पनीसँग मिलेर सर्वसाधारण व्यक्तिहरूको नागरिकता र सहीछाप दुरूपयोग गरी उनीहरूको नामबाट फर्महरू खडा गरी वस्तु तथा सेवा खरिद नै नगरी झुटा तथा नक्कली मूल्य अभिवृद्धि कर(भ्याट)बिजक मात्र खरिद गरी मूल्य अभिवृद्धि कर र आयकर चुहावट गरेको पाइएको राजस्व अनुसन्धान विभागले जनाएको छ ।
विभागले भरतपुर महानगरपालिका २ स्थित सन्तोषी निर्माण सेवा प्रा.लिका सञ्चालक, सन्तोषी/लोहनी जेभी र सन्तोषी÷रौताहा जेभीका मुख्य कारोबारी कँडेलसहित तीन जनाविरुद्ध रु दुई करोड ८२ लाख चार हजार छ सय दुई राजस्व छली गरेको अभियोगमा मुद्दा दायर गरेको थियो।उक्त तीनवटै कम्पनीका मुख्य सञ्चालक केशवराज,उज्वलराज कँडेल र लक्ष्मी कुमारी कँडेल रहेका छन् ।विभागका अनुसार सन्तोषी/लोहनी जेभी र सन्तोषी निर्माणले भ्याट करतर्फ रु ६७ लाख ९५ हजार छ सय ५६ र आयकरतर्फ रु एक करोड २१ लाख ३१ हजार चार सय ५७ गरी रु एक करोड ८९ लाख २७ हजार एक सय १२ राजस्व चुहावट गरेको छ ।
 त्यस्तै,सन्तोषी/रौताहा जेभी र सन्तोषी निर्माणले भ्याट करतर्फ रु ३३ लाख ३१ हजार २२ र आयकरतर्फ रु ५९ लाख ४६ हजार चार सय ६८ गरी रु ९२ लाख ७७ हजार चार सय ९० राजस्व चुहावट गरेको विभागले जनाएको छ ।विभागले सन्तोषी/लोहनी जेभी,सन्तोषी/रौताहा जेभी र सन्तोषी निर्माणका सञ्चालक एवम मुख्य कारोबारी केशवराज,सञ्चालहरू उज्वलराज र लक्ष्मी कुमारीलाई राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन,२०५२ को दफा २३ को उपदफा (१) र (३) तथा सोही ऐन (पहिलो संशोधन–२०७६) को दफा २३(१), २३(१) को खण्ड (घ) र २३ (४) वमोजिम विभागले सन्तोषी/लोहनी जेभी र सन्तोषी निर्माणलाई रु एक करोड ८९ लाख २७ हजार एक सय १२ र सन्तोषी÷रौताहा जेभी र सन्तोषी निर्माणलाई रु ९२ लाख ७७ हजार चार सय ९० बिगो रकम असुल उपर गरी जरिबाना र कैद सजाय माग दाबी गरी उच्च अदालत पाटनमा छुट्टाछुट्टै मुद्दा दायर भएको थियो ।
त्यस्तै,सन्तोषीका सञ्चालकद्वय केशवराज र उज्ज्वलराजले सडक बनाउँदा काम गरेको पैसा नदिने,लेनदेन मिलाउने बहानामा बाराको जीतपुरसीमरा उपमहानगरपालिकामा गरेको सहमतिको पालना नगरी उल्टै पीडित विरुद्ध नै मुद्दा हालेका समेत पाइएको छ । 
जीतपुरसीमरा उपमहानगरपालिकाका विनोद प्रसाद कलवारलाई कम्पनी बाबा पेट्रोल टे«डर्स मार्फत् सन्तोषी निर्माण प्रा.लि.ले बिटुमिन र डिजल लगायत सामान लिएर करोडौं नतिरेका पाइएको छ।पीडित कलवारका अनुसार केशवराजसंग आफ्नो पैसा माग्दा उल्टै धाकधम्की दिएर चेकसमेत फिर्ता लगेका छन्।केशवराजले कलवारलाई तिर्नुपर्ने रु एक करोड ४१ लाख २० हजार रकमको चेक दिएका भएपनि पछि विभिन्न किसिमका धाक धम्की लगाई केशवराजले नै चेक फिर्ता लगेका छन्।त्यसपछि जीतपुरसीमरा उपमहानगरपालिकाको कार्यालयमा छलफल हुँदा पैसा तिर्ने सहमति गरेका पीडित कलवारले बताए ।
तर,सहमति अनुसार पैसा नपाएपछि कलवारले केशवराज विरुद्ध जिल्ला अदालत बारामा ठगीको मुद्दा हालेपछि केशवराजले पनि अदालतमा कलवार विरुद्ध मुद्दा हालेका थिए।अहिले यो मुद्दा अदालतमा विचाराधीन अवस्थामा रहेको छ।“मसंग केशवराजले डिजल र विटुमिनको काम गरे,तर,समयमा पैसा माग्दा दिएनन्।बरु उल्टै चेक फिर्ता लिनेसम्मको काम गरे।म पीडित छु,मै विरुद्ध अदालतमा मुद्दा हालिएको छ।”पीडित कलवारले बताए।नक्कली भ्याट विल प्रकरणमा करिब तीन करोडको मुद्धा उच्च अदालत पाटनबाट सर्वाेच्च अदालतमा मुद्धा चलि रहेका र उच्च अदालतबाट सन्तोषीका सञ्चालक कँडेल अहिले धरौटीमा छुटेका छन् ।
उनी विरुद्ध स्याङ्जामा कृष्ण मार्ग,सुवाङ,देउराली र केलादी घाट सडकमा गुणस्तरहीन काम गरेको र पुरानो ठेकेदारले गरेको कामको बिलसमेत बनाई रनिङ बिलमा समावेश गरी भुक्तानी लिएको,तेस्रो पक्षको रनिङ बिल मार्फत् करिब रु ६० लाख लिएको उक्त काम अहिले पनि अलपत्र अवस्थामा रहेको,तौलिहवामा सहरी विकासको काममा व्यापक अनियमितता गरी गुणस्तरहीन काम गरेको र कालीगण्डकी करिडोर अन्तर्गत सडक बनाउँदा दीपकराज कँडेललाई काममा लगाएर उनको समेत पैसा केशवराजले नतिरेका पाइएको छ ।कालीगण्डकी करिडोर अन्तर्गत सडक बनाउँदा सन्तोषीले पटक पटक म्याद थप गरेको थियो।मलेखु–शक्तिखोर सडक खण्डको काम गर्ने ठेक्का पाएको सन्तोषीले सडक मर्मत गर्दा समेत गुणस्तरहीन काम गरेको आरोप छ । 
यता,सन्तोषी निर्माण सेवा प्रा.लिका सञ्चालक एवम प्रवन्ध निर्देशक केशवराजले उक्त विषय पुरानो विषय रहेको र आफ्नो कम्पनीमा काम गर्ने जीवन कँडेलले बद्मासी गरेका बताए । उनले मुद्धा सर्वाेच्च अदालतमा विचाराधिन अवस्थामा रहेको र न्यायलयले गरेको निर्णय स्वीकार गर्ने समेत बताए।उनले आफुले गरेको कामको कोही कसैलाई पैसा तिर्न बाँकी छ भने सिधैँ सम्पर्क गरेर आवश्यक प्रमाण सहित आउन पनि आग्रह गरेका छन्।“मैले जहाँ काम गरेको छु,त्यहाँ राम्रो काम गरेको छु।तर,मेरै पैसा भुक्तानी नभएपछि कसरी पैसा तिर्ने ? ८० प्रतिशत काम सकिएपछि बैंक ग्यारेण्टी पाउने नियम हुँदाहुँदै पनि करिब नौ करोडको काम गरिसकेपछि रु चार करोड भुत्तानी माग्दा बैंकले धरौटी दिएको छैन।”केशवराजले बताए । “काम लगाउँदा सबै समयमा हुन्छ भन्ने छैन् तर,काम सकिएपछि पैसा नदिने हुँदा ठेकेदारहरु मारमा परेका छन्।मैले ८० प्रतिशत काम गर्दा बैंकमार्फत् रु दुई करोड धरौटी देऊ भन्दा पनि बैंकले दिएको छैन्।”उनले गुनासो गरे ।

सम्बन्धित समाचार