Close This

नीति कार्यक्रम, बजेट तथा निर्णयहरु समेटिएको पुस्तक सार्वजनिक

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-६-२५ गते   ४४३ पटक हेरिएको

सिन्धुलीको फिक्कल गाँउपालिकाले सातौँ गाउँसभाबाट पारित आर्थिक बर्ष २०७७÷०७८ को नीति कार्यक्रम, बजेट तथा निर्णयहरु समेटिएको पुस्तक सार्वजनिक गरेको छ । गाउँपालिकाको कार्यालयमा आयोजित औपचारिक कार्यक्रममार्फत गाउँपालिकाका अध्यक्ष धनबहादुर कार्कीले चालू आर्थिक वर्षका नीति, कार्यक्रम र बजेट समावेश भएको पुस्तक सार्वजनिक गर्नु भएको हो ।
‘सडक शिक्षा र बिजुली फिक्कल विकाशको पुर्वाधार, कृषि वन र पर्यटन समृद्धिको मूल आधार’ भन्ने मूल नारा सहित आयोजना गरिएको उक्त कार्यक्रमले नीति कार्यक्रम, बजेट तथा निर्णयहरु समेटिएको पुस्तक सार्वजनिक गरेको गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु प्रसाद न्यौपानेले जानकारी दिनु भयो ।
जनताको मागका आधारमा पुस्तकमा सातौं गाउँसभाबाट स्वीकृत वार्षिक नीति, कार्यक्रम, बजेट तथा अन्य निर्णय गाउँपालिकाले समेटेको छ । गाउँसभाबाट जनताले माग गरेका आधारमा नीति तथा कार्यक्रम तय भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष कार्कीले बताउनु भयो ।
गाउँपालिकाले चालू आर्थिक वर्षका लागि पूर्वाधार विकासतर्फ ५ करोड ७० लाख, स्वास्थ्य सेवातर्फ २० लाख, शिक्षातर्फ ५५ लाख, कृषि तथा पशु सेवातर्फ ४० लाख, महिला, बालबालिका तथा समाज कल्याणतर्फ २३ लाख ४९ हजार ३ सय ५४ र युवा खेलकुदतर्फ २५ लाख रुपैयाँ विनियोजन गरेको छ भने उद्योग व्यवसायतर्फ ५ लाख, न्याय क्षेत्रतर्फ १० लाख, वन वातावरण तथा विपद् व्यवस्थापनतर्फ २० लाख, कोरोना कोष व्यवस्थापनमा १० लाख, विपद् व्यवस्थापनमा १५ लाख विनियोजन गरिएको वडा नम्बर ५ का वडा अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता राजु बरालले बताउनु भयो ।
त्यस्तै, समपूरक कोष ३ करोड, अक्षय कोष ३० लाख, रोजगार सहायता कोष ५० लाख, सहकारी तथा वित्तीय संस्थातर्फ ५ लाख र विधेयक समितिमा १ लाख रुपैयाँ विनियोजन गरेको गाउँपालिकाले जनाएको छ टेकप्रसाद पहाडी(कुशल)
 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech