आफ्नी छोरीलाई पटक पटक बलात्कार गरेको अभियोगमा सर्लाहीको बरथहवाका ४० वर्षीय बाबुलाई अदालतले जन्मकैदको फैसला गरेको छ । आफ्नी १३ वर्षिय छोरीलाई पटक पटक बलात्कार गरेको अभियोगमा जिल्ला अदालत पूर्वी नवलपरासीले जन्म कैदको फैसला गरेको हो ।
छोरीलाई पटक–पटक बालत्कार गरेको भन्दै उनीविरुद्ध एक वर्षअघि प्रहरीमा उजुरी परेको थियो । बलात्कारपछि छोरी गर्भवती भएको र गर्भपतन गराइएको अदालतमा बाबुले स्वीकारेका भन्दै उनलार्ई जन्म कैदको फैसला गरिएको जिल्ला अदालत पूर्वी नवलपरासीका न्यायाधीश अर्जुन अधिकारीले बताउनु भयो ।
“१३ वर्षीय छोरीलाई पटक–पटक बलात्कार गर्नेलाई जिल्ला अदालतले जन्मकैदको फैसला सहित रु ५० हजार जरिवाना तोकेकोछ ।” न्यायाधीश अधिकारीले बताउनु भयो ।
आरोपित उनि आफ्ना सन्तानसहित कावासोतीमा रहेको डीबीआई इँटा उद्योगमा कार्यरत रहेका थिए । उद्योगमा श्रीमती, छोरा र छोरीसहित मजदुरी गर्दै आएका उनले छोरीलाई पटक बलात्कार गरेको अदालतमा बयान दिएका छन् ।
हाडनाता करणी गरेका उनको नेपालभर कहीं कतै कुनै सम्पत्ति नभएका कारण सरकारी राज्य कोषबाट (पीडित राहतकोष) बाट रु ५० हजार क्षतिपूर्ति भराउने अदालतको फैसला छ । पीडितबाट भरण पोषणको व्यवस्था हुने गरी फैसला आउने भए पनि उनको नेपालभरी कहींकतै कुनै सम्पत्ति नदेखिएका कारण राज्यकोषबाट ५० हजार नगद दिलाउने फैसला भएको अदालतले जनाएको छ ।
जिल्ला अदालत पूर्वी नवलपरासीमा जबरजस्ती करणी र हाडनाता करणी अभियोगमा जन्मकैदको फैसला भएको यो पहिलो अदालती नजिर रहेको अदालत स्रोतले जनाएको छ ।