कांग्रेसको प्रदशर्नमा १९ सुरक्षाकर्मी घाइते

2.5k Shares

नेपाली कांग्रेस सर्लाहीले मलंगवामा बुधबार गरेको प्रदर्शनमा प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । रामनगर गाउँपालिका–७ बस्ने महेन्द्र रामको मृत्यु प्रकरणमा प्रतिनिधिसभा सांसद अमरेशनारायण सिंह, नागेन्द्रकुमार यादव, प्रदेश २ का प्रमुख सचेतक उपेन्द्र कुश्वाहा, प्रदेशसभा सदस्य वीरेन्द्रप्रसाद सिंहलगायतका नेता सहभागी रहेको विरोध प्रदर्शनमा प्रहरीले अश्रुग्यास प्रहार गरेको हो । 
कांग्रेसले मलंगवाको मलंगवा पब्लिक मावि अगाडीबाट विरोध प्रदर्शन सुरु गरेको थियो । हत्याको छानबिन र उजुरी लिन माग गर्दै शान्तिपूर्ण प्रदर्शन जिल्ला प्रहरी कार्यालय अघि पुगेपछि प्रहरीले अन्धाधुन्ध अश्रुग्यास र लाठीचार्ज गरेको प्रदेशसभा सदस्य सिंहले बताउनु भयो । प्रदेश सांसद सिंहले प्रहरीले सयौं राउण्ड हवाइ फायरसमेत गरेका दाबी गर्नु भयो । प्रहरीको लाठी चार्जबाट ५० जनाभन्दा बढी प्रदर्शनकारी घाइते भएको नेपाली कांग्रेस सर्लाहीले जनाएको छ ।कांग्रेसले घटनाका दोषीलाई कारबाही तथा मृतक रामलाई सहिद घोषणा गर्न माग गर्दै नेपाली कांग्रेस सर्लाहीले विरोध प्रदर्शन गरेको हो ।  
प्रदेश प्रहरी प्रमुख डिआइजी धिरजप्रताप सिंहले कांग्रेस कार्यकर्ता र प्रहरीबीच भएको झडपमा नेपाल प्रहरीका १५ र सशस्त्र प्रहरीका ४ जना घाइते भएको जानकारी दिनु भयो । घटनामा संलग्न देखिएका विजय महरा, विलासी महरा र रामप्रदेश महरालाई पक्राउ गरिएको डिआइजी सिंहले जानकारी दिनु भएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सन्तोष सिंह राठौरले आफुहरुले हवाई फाएर नगरेको तर ३१  राउड अश्रुग्यास र सामान्य लाडी चार्ज गरेको राससलाई बताउनु भयो ।  भिड नियन्त्रण बाहिर  गएपछि आफुहरु बाध्य भएर अश्रुग्यास र सामान्य लाडि चार्ज गर्न पुगेको प्रउ राठौरले बताउनु भयो ।
नेपाली कांग्रेसले राम मृत्यु प्रकरणको विषयमा सत्यतथ्य छनबिन गर्न सोमबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र समेत बुझाएको थियो । प्रहरीले घटनाको छानबिन नगरेर पीडित परिवारको तर्फबाट जाहेरीसमेत लिन नमानेको कांग्रेसको आरोप छ । रामनगर–७ सिसौट बस्ने राममाथि गत २१ गते बेलुका आफ्नो घरअघि बसिरहेको बेला १२÷१५ जनाको समूहमा आएका अज्ञात व्यक्तिहरुले धारिलो हतियार प्रहार गरेका थिए । 
आक्रमणमा परी गम्भीर घाइते भएका रामको २२ गते उपचारको क्रममा इन्डो अस्पताल वीरगंजमा मृत्यु भएको थियो ।  रामको निधनपछि शव परीक्षणका लागि सर्लाहीस्थित मलंगलवा अस्पतालमा परिवारले ल्याउन खोजेपनि प्रहरीले दबाब दिएर वीरगंजस्थित नारायणी अस्पतालमा राखेको कांग्रेसको आरोप छ ।

सम्बन्धित समाचार