सर्लाहीका प्रमुख जिल्ला अधिकारीसहित जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरुको पुनः थ्रोट स्वाब लिइने भएको छ । कोरोना संक्रमित भई स्वास्थ्य लाभ गरेर बसिरहेका जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरुको पुन स्वाव संकलन गरिने भएको हो । बिहिवार फेरि स्वाब लिने र त्यसको रिपोर्टका आधारमा कार्यालय खोल्ने वा नखोल्ने भन्ने निर्णय लिइने कार्यालयका सूचना अधिकारी राम प्रमोद यादवले जानकारी दिनु भयो ।
प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, उहाँका गार्ड र अरु तीन जना कर्मचारी समेत गरी ५ जनामा कोरोना संक्रमण पुष्टी भएपछि गत आइतवारदेखि जिल्ला प्रशासन कार्यालय सर्लाहीको सेवा बन्द गरिएको छ ।
कोरोना संक्रमित प्रजिअ पौडेलसहित सबै कर्मचारीको स्वास्थ्य अवस्था सामान्य रहेको सूचना अधिकारी यादवले बताउनु भयो । यता जिल्ला प्रशासन कार्यालय बन्द हुँदा नागरिकता वितरण, राहदानी सिफारिस लगायत अन्य काम ठप्प भएको छ ।
यसअघि लामो बन्दाबन्दीपछि खुलेको कार्यालयमा राहदानी तथा नागरिकता बनाउने सेवाग्राहीहरुको अत्याधिक भीडभाड थियो । अहिले फेरी कर्मचारीमा कोरोना संक्रमण देखिएपछि काम रोकिँदा कार्यालय सुनसान बनेको छ । भने सेवाग्राहीहरु मर्कामा परको छन । जिल्ला प्रशासनसँगै ईलाका प्रशासन कार्यालय हरिवन र बरहथवा तथा नापी, मालपोत लगायतका कार्यालयहरुमा पनि अत्याधिक भीडभाड हुने गरेको छ ।