प्रदेश २ मा विगत ७ महिनामा १२ हजार बढीले कोरोना जिते

2.2k Shares

प्रदेश–२ मा कोरोना भाईरुस(कोभिड–१९) सङ्क्रमणबाट मुक्त हुनेको संख्या १२ हजार नाघेको छ । असोज मसान्तसम्म कूल सङ्क्रमण पुष्टि भएका १४ हजार ६ सय २० मध्ये सङ्क्रमण मुक्त हुने १२ हजार २ सय ७२ पुगेको प्रदेश–२ स्वास्थ्य निर्देशनालय जनकपुरले जनाएको छ ।
प्रदेशका आठवटै जिल्लामा गरी असोज मसान्तसम्म १४ हजार ६ सय २० मा सङ्क्रमण पुष्टि भएको छ । यिमध्ये १२ हजार २ सय ७२ निको भएर नियमित काममा फर्केका निर्देशनालयका निमित्त निर्देशक विजयकुमार झाले जानकारी दिनु भयो ।
प्रदेशमा कोभिड–१९ महामारीले १ सय ५९ जनाको ज्यान गएको छ । सङ्क्रमण पुष्टि भएर अहिले आइसोलेसनमा रहेका १ हजार ६ सय ८९ मध्ये धेरैजसोको स्वास्थ्य सुधारोन्मुख रहेको निर्देशनालयले जनाएको छ ।
चैत्रमा प्रदेशको पर्सामा आएका ३ भारतीयमा कोभिड–१९ पुष्टि भएसँगै पछिल्ला दिनहरुमा कोरोना सङ्क्रमण बढ्दै गएको हो । चैत्रदेखि असोजसम्मको सङ्क्रमण अवस्था हेर्दा सबैभन्दा बढी भदौ महिनामा सङ्क्रमण उच्च देखिएको निर्देशनालयले जनाएको छ । भदौमा मात्रै ५ हजारभन्दा माथि सङ्क्रमण पुष्टि भएको थियो । भदौमा सङ्क्रमणले मर्नेको सङ्ख्या पनि सबैभन्दा बढी ६६ पुगेको निमित्त निर्देशक झा बताउनुभयो ।
महामारीले वैशाखमा ९२, जेठमा १ हजार ९ सय १९, असारमा १ हजार ८ सय ९७ र साउनमा ३ हजार ५४ जनामा सङ्क्रमण पुष्टि भएको तथ्याङ्कमा उल्लेख छ । त्यसैगरी असोजमा २ हजार माथि सङ्क्रमण पुष्टि भएका र ४८ जनाको मृत्यु भएको निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ ।

सम्बन्धित समाचार