Close This

हुलाकी सडकदेखि जिल्लाका अधिकांश सडकको अवस्था दयनीय

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-७-२५ गते   २६७ पटक हेरिएको

जिल्लाका अधिकांश ग्रामीण सडक धूलाम्य हुँदा चाडपर्वको समयमा गाउँघर फर्किने यात्रुले सास्ती पाएका छन् । लामो समयदेखि जीर्ण अवस्थामा रहेका जिल्लाका भित्री ग्रामीण सडकहरु आवतजावत गर्ने मुस्किल पर्ने गरी धूलाम्य भएका छन जसका कारण पैदल यात्रीहरुका साथै सवारी साधनमा यात्रा गर्ने यात्रीहरु मारमा परेका हुन । जिल्लाका पूर्व–पश्चिम हुलाकी सडक, चन्द्रनगर, ब्रम्हपुरी हुँदै सदरमुकाम मलंगवासम्म पुग्ने सडक,हरिपूर्वाबाट पर्सा गाउँपालिका हुँदै सदरमुकाम मलंगवासँग जोडिएको सडक र नवलपुरबाट मलंगवा जोड्ने सडक जीर्ण भएका कारण धूलाम्य हुँदा यात्रीहरुलाई सास्ती भएको हो ।
यात्राको क्रममा चर्को घाममा ठूल्ठूला खाल्डाखुल्डी र कुहिरी मण्डल भई धूलो उड्ने हुलाकी सडकको यात्रा गर्दा विरामी हुने अवस्था आएको एक यात्री रजनिस रायले बताउनु भयो । अहिले धूलाम्य भएका सडक सानो पानी पर्ने बित्तिकै हिलाम्य भई पोखरीमा परिणत हुने गरेका कारण पानी नपर्दा धुल्लाम्य र सामान्य पानी पर्दा हिल्लाम्य हुने गरेका कारण पनि स्थानिय पैदल यात्री तथा सवारी यात्रीहरु मारमा पर्ने गरेका पर्सा गाउँपालिका–१, का  वडाध्यक्ष सुरेन्द्र कुमार रायले बताउनु भयो ।
अत्यधिक खाल्डाखुल्डी र धूलाम्मे अवस्थामा रहेका ग्रामीण सडकका कारण यात्रुलाई हैरानी हुनुका साथै दुर्घटना पनि बढ्न थालेको अध्यक्ष रायले बताउनु भयो ।  विशेष गरी साँझको समयमा सवारी साधनको बढी आवागमन हुने भएकाले ग्रामीण सडकहरुमा दुर्घटना बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
जिल्लाका दक्षिण–पूर्वी र दक्षिण–पश्चिम भेगका नागरिकले ग्रामीण सडक अत्यन्त खराब हुँदा सदरमुकामसम्म आउजाउ गर्न समस्या भइरहेको गुनासो गरिरहेका मलंगवा नगरपालिकाका नगर प्रमुख निरसल साहले बताउनु भयो । नगरपालिका मातहतका सडक मर्मत सम्भार र निर्माणको काम चलिरहेको भएपनि केन्द्र सरकारले लगानी गरिरहेको हुलाकी सडकमा आफूहरुले केही गर्न नसक्ने नगर प्रमुख साहले बताउनु भयो ।
त्यस्तै चुरे फेदीका बस्तीका नागरीकहरु पनि सहज रुपमा सवारी साधन सञ्चालन गर्न सक्ने सडकको अभावका कारण मारमा परेका छन । भने सरकारी उदासिनताका कारण वर्षौंदेखि जीर्ण तथा निर्माणाधीन अवस्थामा रहेको अति पुरानो हुलाकी सडकखण्डको अवस्था दिन प्रतिदिन दयनीय बन्दै गएको सो सडकखण्डको निर्माण कार्य तोकिएको समयमा पुरा हुन नसकेको भन्दै स्थानियबासी आक्रोसित भएका छन ।
तराई मधेसका जिल्लाहरुलाई जोड्ने हुलाकी सडकलाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा राखेको भएपनि यसको निर्माणमा संघीय,प्रदेश र स्थानीय तीनवटै तहका सरकारले चासो नदेखाएका कारण यसको निर्माण कार्यमा ढिलाई भइरहेको जानकारहरुको भनाइ छ । उत्तर तर्फ सर्लाहीको पर्सा गाउँपालिका अन्तर्गत संग्रामपुरपछि पर्ने महोत्तरी जिल्लामा निर्माणकार्य पूरा भइसकेको छ । तर संग्रामपुरदेखि सर्लाहीको सदरमुकाम मलंगवा हुँदै बागमती सम्मको हुलाकी सडकको निर्माणकार्य रोकिएको छ ।उक्त सडकमा कतै खाल्डा खुल्डी छन् भने कतै वर्षाको पानीले सडकनै बगाएको छ ।जिर्ण अवस्थामा रहेको सडकमा दिनहु जसो दर्जनौं दुर्घटनाहरु हुने गरेको ट्राफिक प्रहरीले जनाएको छ । तीनै तहको सरकारको उदासीनता र ठेकेदारहरुको लापरबाहीका कारण राष्ट्रिय गौरवको आयोजना कलंकित बनेको जानकारहरुको भनाइ छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech