सिन्धुलीको तीनपाटन गाउँपालिकाका एक सय जनालाई जग्गाधनी लालपूर्जा वितरण गरिएको छ । गाउँपालिका १, २ र ३ को (साविकको पाटनदेवी, बेलघारी र भिमस्थान) का एक सयजनालाई मङ्गलबार लालपूर्जा वितरण गरिएको हो । वि.सं.२०२८ सालमै नापी भएको तर बसोबास भएको क्षेत्रलाई गाउँ ब्लक भनेर राख्ने चलन रहेकाले अहिले छुट्टाछुट्टै पूर्जा वितरण गरिएको मालपोत कार्यालय सिन्धुलीका सूचना अधिकारी पुरुषोत्तम दाहालले जानकारी दिनु भयो ।
त्यो बेला वस्ती क्षेत्रको एकमुष्ट कित्ता राख्ने चलन थियो । दाहालका अनुसार, सिन्धुलीमा करिव पाँच सय घरधुरी गाउँ ब्लकका रुपमा रहेका छन् । सिन्धुलीको भिमान बजार, रानीवास, मरिण, खुर्कोटलगायत स्थानमा त्यस्ता गाउँ ब्लक रहेका हुन् । यो आर्थिक वर्षमा गाउँ ब्लकमा रहेका जग्गाधनीलाई पूर्जा दिइसक्ने लक्ष्य रहेको सूचना अधिकारी दाहालले बताउनु भयो ।
नापी कार्यालय सिन्धुलीको आयोजना र तीनपाटन गाउँपालिका १ वडा कार्यालयको सह आयोजनामा पूर्जा वितरण कार्य सम्पन्न भएको हो । साविक पाटनदेवी गाउँपञ्चायतबाट सर्वेनापी भई गाउँब्लक क्षेत्र अन्तर्गतका एक सय जनालाई माध्यमिक विद्यालय बेलघारीमा आयोजना गरिएको एक कार्यक्रमको बीच पूर्जा वितरण गरिएको थियो । सो अवसरमा बाग्मती प्रदेशसभा सदस्य प्रदिप कटुवाल, सिन्धुलीका प्रमुख जिल्ला अधिकारी योगेन्द्र पाण्डे र तीनपाटन गाउँपालिका अध्यक्ष कर्ण थापा मगरले जग्गाधनी पुर्जा वितरण गर्नुभएको हो ।
त्यस्तै, कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रहरी प्रमुख प्रहरी उपरिक्षक रन्जु सिग्देल, तीनपाटन गाउँपालिका उपाध्यक्ष पदममाया तामाङ, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रतिनिधिहरु,नेपाली कांग्रेसका प्रतिनिधिहरु, वडाअध्यक्षहरू,शिक्षाप्रेमी,समाजसेवी लगायतको उपस्थिति रहेको थियो । नापी कार्यालय सिन्धुलीका प्रमुख सरोज श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बाग्मती प्रदेशसभा सदस्य कटुवालले २०२८ सालमा नापी भई गाउँ ब्लकका रुपमा रहेका स्थानमा पूर्जा वितरण गरिएको बताउनुभयो । उहाँले सरकारले सार्वजनिक जग्गाको संरक्षणमा विशेष योजना बनाउनुपर्नेमा समेत ध्यान दिनुपर्ने बताउनुभयो । उर्मिला भट्टराई