सर्लाहीको बागमती नगरपालिका–४, नयाँबस्तीमा आयोजना गरिएको प्रथम नयाँबस्ती कप फुटबल प्रतियोगिताको उपाधी लाफा युवा क्लब मिलनचौकले जितेको छ ।
बिहिवार भएको अन्तिम खेलमा जनसहयोगी युवा क्लब हरिवन ३ सासापुरलाई १–० गोलले पराजित गर्दै लाफा युवा क्लव विजयी भएको हो । निकै प्रतिस्पर्धात्मक फाइनल खेलमा जनसहयोगी युवा क्लवका खेलाडीले आत्मघाती गोल गरेपछि लाफा युवा क्लब मिलनचौकले उपाधि जितेको छ ।
अन्तिम समयको ६८ औँ मिनेटमा लाफा युवा क्लवका क्याप्टेन सुन्दर रानाको सशक्त प्रहारलाई रोक्न खोज्दा जन सहयोगी युवा क्लवका डिफेन्सबाट आफ्नै पोष्टमा गोल हुन पुगेको हो ।
जितसँगै लाफा युवा क्लवले नगद रु २० हजार र पहिलो शिल्ड उचालेको छ भने उपबिजेता भएको जनसहयोगी युवा क्लवले नगद रु १० हजार र दोस्रो शिल्डमा चित्त बुझाएको आयोजकले बताएको छ । ७० औँ मिनेटको खेलमा प्रतियोगिताका बिजेता तथा उपबिजेता र उत्कृष्ट खेलाडीहरुलाई बागमती नगरपालिकाका नगर प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथी भरत कुमार थापाले पुरस्कार वितरण गर्नुभएको आयोजक नयाँ बस्ती युवा क्लवका अध्यक्ष अर्थमान स्याङतानले जानकारी दिनु भयो ।
कात्तिक १५ गतेदेखि सुरु भएको प्रतियोगितामा आयोजक क्लवका दुईवटा टिमसँगै जिल्लाका २२ वटा क्लबले सहभागिता जनाएका आयोजकले बताएको छ । प्रतियोगिताको समापन समारोहमा बागमती नगरपालिका ४ का वडाका वडाध्यक्ष कृष्णकुमार लामा लगायत जनप्रतिनिधिहरु, स्थानिय समाजसेवी लगायत स्थानियबासीको उल्लेख्य सहभागीता रहेको थियो ।