पत्रकार अलीलाई थप उपचारका लागि काठमाडौं लगियो

3.1k Shares

 नेपाल पत्रकार महासंघ सर्लाही शाखाका उपाध्यक्ष बख्तियार अलीलाई थप उपचारका लागि बिहिबार काठमाडौं लगिएको छ । मलंगवा नगरपालिका–१० स्थित घरै अगाडि फागुन २७ गते साँझ आफ्नै कान्छो भाईले हम्मरले आक्रमण गर्दा गम्भीर घाईते भएका पत्रकार अलीलाई थप उपचारका लागि काठमाडौं लगिएको उनका परिवारजनले बताएका छन् ।
पत्रकार अलीको वुधवारबाट स्वास्थ्यमा थप समस्या भएपछि बिहिवार दिउँसो जनकपुरबाट विमानमार्फत काठमाण्डौं लगिएको अलीका भाई पत्रकार अनवर अहमद्ले जानकारी दिएका छन् ।
पत्रकार अलीलाई यसअघि सिटिस्क्यान गर्न चैत २ गते जनकपुर लगिएको थियो । त्यहाँ छाती र खुट्टामा चोट देखिएको थियो भने चिकित्सकले टाउकोमा रगत जमेको आशंका गरेका थिए । पत्रकार अलीलाई टाउकोको सिटिस्क्यान गर्न काठमाण्डौं लगिएको हो ।
बिरामीलाई यहाँबाट अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार गर्ने गरी पठाइएको परिवारका सदस्यले बताएका छन् । पत्रकार अनवरका अनुसार टाउको अत्यन्त दुख्न थालेपछि अलिलाई अपरझट काठमाडौं पठाईएको हो ।
 यता, पत्रकार अलीमाथि आक्रमण गर्ने भाई घटना भएको एक साता भइसक्दा समेत फरार रहेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सन्तोष सिंह राठौरका अनुसार विभिन्न टिम बनाएर दोषीको खोजी कार्य जारी रहेको छ ।
जिल्लाका पत्रकारहरुले शुक्रवार जिल्ला सदरमुकाम मलंगवामा भेला भएर यस घटनालाई गम्भीर रुपमा लिन र दोषीलाई पक्राउ गरी कारवाही गर्न माग गर्दै जिल्लाका सुरक्षा अधिकारीहरुको ध्यानाकर्षण गराएका छन् ।
यसअघि घटना भएको भोलीपल्टै पनि नेपाल पत्रकार महासंघका जिल्ला सचिव श्रवण थापाको नेतृत्वमा जिल्लाका अग्रज पत्रकार टंकबहादुर क्षेत्रीको नेतृत्वमा जिल्लाका पत्रकारहरुले प्रमुख जिल्ला अधिकारी हेमराज तामाङ र  प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरलाई भेटेर घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई तुरुन्त पक्राउ गरेर कडा भन्दा कडा कारवाहीको माग राखेका नेपाल पत्रकार महासंघ सर्लाहीका सचिव श्रवण थापाले जानकारी दिनु भयो । 
घटना पारिवारिक भएपनि ज्यानै लिने हिसाबले भएको यस घटनाका दोषीलाई पक्राउ गरी कानुन बमोजिम कारवाही हुनुपर्ने जिल्लाका पत्रकारहरुको माग रहेको छ । सर्लाहीमा विभिन्न समयमा समाचार सम्प्रेषण लगायतका विषयलाई लिएर पत्रकारहरुलाई धम्क्याउने तथा पत्रकारहरु माथी पटक पटक आक्रमणको प्रयास भएको छ । यस विषयमा नेपाल पत्रकार महासंघ सर्लाही र जिल्लाका पत्रकारहरुले सरोकारवाला निकायको ध्यानाकर्षण गराएका भएपनि स्थानिय प्रशासनले त्यस विषयमा खासै चासो नदेखाएको पाइएको छ ।

सम्बन्धित समाचार