Close This

देशको विकासमा सबै शक्ति एक भएर लाग्न मन्त्री यादवको आग्रह 

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-८-३ गते   २२१२ पटक हेरिएको

सर्लाहीको लालबन्दीमा इमरजेन्सी सेल्टर भवनको शिलान्यास गरिएको छ ।  संघिय सरकारको शहरी विकास तथा भवन निर्माण कार्यक्रम अन्र्तगतको २ करोड ५० लाखको लागतमा निर्माण हुन लागेको इमरजेन्सी सेल्टर भवनको नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री मा. रामेश्वर राय यादवले एक कार्यक्रमका विच शिलान्यास गर्नु भएको हो ।

भवन निर्माण शिलान्यास कार्यक्रममा मन्त्री यादवले देशको विकास निर्माणमा सबै राजनैतिक शक्ति एक भएर लागेमा मात्र नेपाली जन्ताले गाउँ गाउँमा सिंहदरवार आएको महसुस गर्ने बताउनु भयो । उहाँले देश नै संकटमा रहेको समयमा एक पार्टीले अर्काे पार्टीलाई आरोप प्रत्यारोप लगाउनुको सट्टा देश विकासमा जुट्न साथ दिन र संकटबाट देशलाई बचाउन  सबै शक्तिहरुलाई केन्द्रीत हुन पनि आग्रह गर्नु भयो । साथै जिल्लामा आइसियु र पिसिआर मेसिन जडान गर्नका लागि आफुले सक्दो सहयोग र पहल गर्ने मन्त्री यादवले बताउनु भयो ।
प्रशान्त आर्चाय,कृष्ण दाहाल,गोविन्द महत,सुर्य नारायण श्रेष्ठ,लक्ष्मण श्रेष्ठ,लालबहादुर गोले र दिल कुमारी पाख्रिङ गरी ७ जनाले ४ कठ्ठा ५ धुर जग्घा सहयोग गरेर भवन निर्माणस्थल जुटाउनु भएको लालबन्दी नगरपालिका १० का वडा अध्यक्ष टोप बहादुर श्रेष्ठले बताउनु भयो । दैविय प्रकोप तथा विपत्तीको समयमा मानविय संकट सृजना नहोस भन्नका लागि इमरजेन्सी सेल्टर भवनको निर्माण हुन लागेको हो ।

आर्थिक वर्ष २०७७÷०७८ को संघिय सरकारको शहरी विकास तथा भवन निर्माण कार्यक्रम अन्र्तगतको बजेटबाट चालु आर्थिक वर्षमै निर्माण सम्पन्न गर्ने गरि जय धनन्जय रविन जेवि निर्माण कम्पनीले ठेक्का लिएको छ । करिब २ सय ५० जना सम्म अटाउन सक्ने क्षमता भएको इमरजेन्सी सेल्टर भवन निर्माण कार्यको शिलान्यास कार्यक्रममा प्रदेश सभा सदस्य बेची लुगेंली,मा.डिल्ली उप्रेती,मा.हरि उप्रेती,नेकपा सर्लाहीका इन्चार्ज तथा केन्द्रीय सदस्य डाचाराज वाग्ले,केन्द्रीय सदस्य प्रह्लाद बुढाथोकी,पुर्व राज्य मन्त्री शम्भुलाल श्रेष्ठ लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।
त्यस्तै शहरी विकास तथा भवन निर्माण कार्यक्रमले लालबन्दी नगरपालिका ४,८ र १० का  साथै हरिवन नगरपालिका १ मा इमरजेन्सी सेल्टर भवन तथा सुख जेष्ठ नागरिक आवाशको निर्माण गर्ने भएको छ । लालबन्दी नगरपालिका ८ मा ६ करोडको लागतमा  र वडा नम्बर ४ मा ५ करोडको लागतमा यस्ता भवनहरु निर्माण हुने भएका छन । भने हरिवन नगरपालिका १ मा २ करोड ५० लाखको लागतमा भवन निर्माण हुन लागेको नेकपा सर्लाहीका इन्चार्ज तथा केन्द्रीय सदस्य वाग्लेले बताउनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech