Close This

प्रदेश सांसद यावदद्धारा कर्मचारीमाथि कुटपिट,पीडित कर्मचारीद्धारा जिप्रकामा उजुरी

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-८-७ गते   २७६४ पटक हेरिएको

कृषि ज्ञान केन्द्र सर्लाहीका अधिकृतमाथि कुटपिट गरेको आरोपमा प्रदेश सभा सदस्य अशोक कुमार यादवमाथी जिल्ला प्रशासन कार्यालय सर्लाहीमा उजुरी परेको छ  । गत बुधबार राती साँढे सात बजे कृषि ज्ञान केन्द्र परिसरमा रहेको निवासमै पुगेर सांसद् यादवले आफू र अर्का अधिकृतमाथि गालिगलौज सहित कुटपिट गरेको प्रमुख कमल देव प्रसाद कुशवाहाले दाबी गर्नु भएको छ ।
 यस आर्थिक वर्षदेखि प्रदेशको कृषि तथा सहकारी मन्त्रालयले दुईजना कार्यालय सहयोगीको दरबन्दीमा एक दरबन्दी कटौती गरेको र एकजनालाई हटाउनु पर्ने अवस्था आएपछि सांसद् यादवले आफ्नो मान्छेलाई अहिले नै नियुक्तिपत्र दिनुपर्ने भन्दै गालीगलौज एवम कुटपिट गरेका प्रमुख कुशवाहाको आरोप छ ।
सांसद यादव सहित ४÷५ जनाको समुहमा बुधबार राती निवासमा आउनु भो अनि करारमा के छ भन्दै सोध्नु भयो, त्यसपछि मैले ‘अब मन्त्रालयबाट दरबन्दी कटौती भएपछि त हामीले एकजनालाई हटाउनै पर्ने हुन्छ, भनेँ,तर उहाँ आएर मेरो मान्छेलाई अहिले नै नियुक्ति पत्र दिनुपर्छ भन्नु भयो, अनि हामीले मन्त्रालयसँग समन्वय गरेर आवश्यक प्रकृया अगाडी बढाउछौं भन्दा मसँगै रहेका अर्का अधिकृत गणेश प्रसाद सिंहलाई एक्कासी गालीगलौज सहित कुटपिट नै गर्नुभयो ।’ कार्यालय प्रमुख कुशवाहाले बताउनु भयो। आफूले प्रमुख जिल्ला अधिकारी समक्ष दोषि उपर कार्बाहीका लागि उजुरी दिइ सकेको  प्रमुख कुशवाहाको भनाई छ ।
कृषि ज्ञान केन्द्रका अधिकृत सिंहले कार्यालय प्रमुखको निवासमा बसिरहेको अवस्थामा आउने वितिकै प्रदेश सांसद यादव सहितको समूहले हातपात गरेको दाबी गर्नु भएको छ । ‘हाकिम साहेब र म निवासमा बसिरहेका थियौं, उनीहरुले आउने वितिकै हात हालिहाले, चार पाँच जना अरुपनि थिए, म माथि कुटपिट गरे, अनुहारमा चोटपटक लागेको छ’, सिंहले भन्नु भयो । ‘कार्यालय सहयोगीमा मेरो मान्छेको अहिले नै नियुक्ति पत्र दिई हाल भन्दै कुटपिट गरियो, म तत्काल जिल्ला अस्पताल पुगेर उपचार गराएँ, घाउ जाँच केस फारम पनि गराएको छु ।’ सिंहको भनाई छ । 
यता प्रदेश सांसद् यादवले भने आफूले कसैलाई पनि कुटपिट नगरेको दाबी गर्नु भयो । ‘मैले कसैमाथि पनि हातपात वा कुटपिट गरेको छैन, मलाई फसाउने नियतले आरोप लगाईएको हो’, सांसद् यादवले रासससँग बताउनु भयो । ‘मैले त खाली सिस्टम अनुसार पहिला देखि नै काम गरिरहेको कर्मचारीलाई प्राथमिकता दिई पुनः नियुक्ति दिनुपर्छ भनेको हुँ ।’ सांसद यादवको भनार्य छ । 
हरेक सरकारी कार्यालयमा कर्मचारी नियुक्ति होस् वा बजेट बाँडफाँड सिस्टममा काम हुनुपर्छ भन्ने आवाज बुलन्द रुपमा उठाउँदै आएकाले पहिला देखि नै प्रहरी प्रशासन एवम सरकारी कार्यालयका कर्मचारीले आफूमाथि फसाउने नियत राख्दै आएको सांसद् यादवको आरोप छ । जनप्रतिनिधिको हैसियतले जनताको गुनासोलाई सम्बोधन गर्ने र भ्रष्ट्राचार एवम अनियमितता विरुद्ध आवाज उठाउँदा प्रहरी प्रशासन सहित सरकारी कार्यालयका कर्मचारीहरुबाट आफूमाथि अनावश्यक आरोप प्रत्यारोप लाग्ने गरेको सांसद् यादवले आरोप लगाउनु भयो ।
सर्लाही र महोत्तरी जिल्ला हेर्ने गरी स्थापना भएको कृषि ज्ञान केन्द्र मलंगवालाई मन्त्रालयले यस आर्थिक वर्षदेखि फुटाएर महोत्तरी जिल्ला हेर्नका लागि जलेश्वरमा छुट्टै कृषि ज्ञान केन्द्र स्थापना गरेको कार्यालयले जनाएको छ । दुईवटा जिल्ला हेर्ने कार्यालय फुटेपछि कार्यालय सहयोगिको दरबन्दी कटौती भएको हो । कार्यालय स्रोतका अनुसार दुईजना कार्यालय सहयोगीको दरबन्दी अनुसार एकजना सांसद् यादवको तथा अर्का एकजना प्रदेश सांसद् संजय यादवको मान्छेले करारमा काम गरिरहेका थिए ।
प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले कृषि ज्ञान केन्द्रका कर्मचारीमाथि कुटपिट भएको लिखित उजुरी परेको जानकारी दिनु भयो । ‘प्रदेश सांसद् यादवले मदिरा सेवन गरेर राती निवासमा बसिरहेका कर्मचारीमाथि हातपात गरेको भन्ने जानकारी आएको छ’, प्रजिअ पौडेलले रासससँग बताउनु भयो ।, ‘पीडित कर्मचारीबाट लिखित उजुरी आएको र घाउचोट जाँच केस फारम समेत भईसकेकाले घटनाबारे गम्भिर रुपमा अनुसन्धान भईरहेको छ, दोषि देखिए जो सुकैलाई कानून बमोजिम कार्बाही हुनेछ ।’ प्रजिअ पौडेलले बताउनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech