Close This

बलत्कार पछि हत्याको विरुद्धमा भएको प्रदर्शनमा प्रहरीद्धारा गोली प्रहार, तीन प्रदर्शनकारी गम्भीर घाइते

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-८-९ गते   २११७ पटक हेरिएको

महोतरीको बर्दिबासमा बालिका बलात्कार गरी हत्या गरेको विरुद्धमा भएको प्रदर्शनमा प्रहरीले गोलि चलाएको छ । प्रहरीले चलाएको गोलि लागेर तीनजना प्रदर्शनकारी घाइते भएका छन् ।
बर्दिबासका ३५ वर्षीय संजय न्यौपाने, अफताब आलम र श्याम कार्की प्रहरीले चलाएको गोली लागि गम्भीर घाइते भएका हुन् । न्यौपानेको तिघ्रमा गोलि लागेको छ । उनलाई बिर्दबासमा उपचार हुन नसकेपछि थप उपचारको लागि काठमाडौं पठाइएको छ । यस्तै  कार्कीलाई ४ गोलि लागेको छ भने आलमलाई टाउकोमा एक गोलि लागेको स्थानीयले बताएका छन् । दुबैजनाको शुभ स्वस्तिक हस्पिटल बर्दिबासमा उपचार भइरहेको  छ ।
आइतबार बेलुकादेखि बेपत्ता भएकी बर्दिबास नगरपालिका १४ शुभम् बस्तीका सहिद आलमकी ६ वर्षीया छोरी गुलाब साह खातुनको हत्या भएको अवस्थामा सोमबार राति शव फेला परेपछि मंगलबार बिहानैदेखि बर्दिबासमा प्रदर्शन भएको हो ।
स्थानीय २५ वर्षीय अरुण कुमार साहले बलात्कार गरी हत्या गरेर शव बोरामा राखेर फालेको स्वीकार गरेको प्रहरीले जनाएको छ । बिहानैदेखि आक्रोशित स्थानीयले पक्राउ परेका साहको घरमा आगो लगाएका छन् । पूर्व पश्चिम लोकमार्ग अवरुद्ध गरी प्रदर्शन समेत गरिएकोथियो।
सोमबार दिउँसो बालिकको शव राजमार्गमा राखेर प्रदर्शन गर्न थालेपछि प्रहरीले गोलि चलाएको हो । गोलि चलाएपछि भिड तितर वितर भएको छ । प्रहरीले केहि सेल अश्रुग्यास र हवाइ फायर समेत गरेका थिए ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech