Close This

२ उद्योगले अझै गरेनन् उखु किसानको भुक्तानी

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-८-९ गते   ३७५ पटक हेरिएको

जिल्लाको धनकौलमा रहेको अन्नपूर्ण चिनी मिलले अहिले सम्म पनि उखु किसानलाई भुक्तानी नदिएर धोका दिएको छ । केही दिनअघि यहाँका उखु किसान अघिल्ला वर्षमा बेचेको उखुको भुक्तानी माग्न काठमाडौँ पुगेका थिए । त्यसबेला उद्योगको केन्द्रीय कार्यालयमा रहेका अन्नपूर्णका उखु प्रबन्धकले छठअघि केही रकम किसानको खातामा पठाउने आश्वासन दिएको थियो। तर किसानहरुले अहिलेसम्म पनि भुक्तानी पाएका छैनन् ।
काठमाडौँमा राष्ट्रपति, उद्योग मन्त्री र उद्योगका जिम्मेवारी अधिकारीलाई भेटेर एक साताअघि घर फर्किएकाा धनकौलका किसान  रामकल्याण यादवले उद्योगले धोका दिएको बताउनु भयो । उहाँका अनुसार यसपटक पनि चिनी मिलले धोका दिएर किसानलाई निराश पार्ने काम गरेको हो । सर्लाहीका अधिकांश किसानहरुको आम्दानीको विशेष स्रोत, नगदे बाली उखु रहेको र त्यहि उखु बेचेको  पैसा नपाउँदा चाडपर्व पनि खल्लो भएको यादवको गुनासोे छ । “छठ अगाडि पैसा पाइएला भन्ने आशामा बसेका थियौँ । दिन्छु पनि भनेको थियो तर यसपटक पनि धोका भयो । हामीलाई चिनी मिलले ढाँट्यो । ”  उहाँले बताउनु भयो ।
गत वर्ष सञ्चालनमै आउन नसकेको उद्योगले तीन÷चार वर्षअघि देखि नै किसानसंग किनेको उखुको रकम भुक्तानी गर्न बाँकी राखेको छ । भाका राखेर सो उद्योगले किसानलाई बारम्बार ढाँट्ने काम मात्रै गरिरहेको नेपाल उखु उत्पादक महासङ्घका केन्द्रीय अध्यक्ष कपिलमुनि मैनालीले बताउनुभयो । समयमै भुक्तानी नगरेर सर्लाहीका अन्नपूर्ण र महालक्ष्मी चिनी उद्योगले किसानलाई वर्षाैंसम्म रुवाइरहेका अध्यक्ष मैनालीको भनाइ छ ।
उद्योगले थोरै रकम देखाए पनि अन्नपूर्णले करिब ३० करोड रुपैयाँ र महालक्ष्मीले करिब ६ करोड रुपैयाँ भुक्तानी दिन बाँकी रहेको किसानहरुले बताउँदै आएका छन् । राष्ट्र प्रमुख र सरकारका मन्त्रीलाई समेत पटक–पटक गुहार्दा पनि चिनी उद्योगबाट उखु बेचेको रकम भुक्तानी नहुँदा जिल्लाका उखु उत्पादक किसानहरु निराश भएका छन् । किसानको पुरानो बक्यौता बाँकी राख्ने अन्नपूर्ण र महालक्ष्मी दुवै उद्योग यसपटक पुनः सञ्चालन गर्न उखु क्रसिङ गर्नेगरी प्रविधि मर्मतको काम भइरहेको छ । 
तीन÷चार वर्ष पहिला देखिको किसानहरुको भुक्तानी बाँकी राखेका उद्योगहरु फेरी सञ्चालनको तयारी गर्न किसानहरुका लागि थप पीडा दायि हुने किसानहरुको भनाई छ । किसानहरुले पटक पटक आन्दोलन गर्दा पनि यी दुई उद्योगहरुले किसानहरुको भुक्तानी गर्न आनाकानी गरिरहेका छन ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech