Close This

सिमानामा मालवाहक सवारीलाई मस्ती, सर्वसाधारणलाई सास्ती

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-८-२२ गते   ३१३ पटक हेरिएको

कोरोना भाईरस(कोभिड–१९) रोकथाम र नियन्त्रणका नाममा जारी करिब ९ महिना लामो नेपाल–भारत सीमा बन्द रहि रहँदा सर्वसाधारणलाई सास्ती भएको छ । नेपाल–भारत सिमाना वारिपारि आउन जान रोक लगाइँदा सीमावर्ती क्षेत्रमा आर्थिक, सामाजिक र सांस्कृतिक गतिविधि प्रभावित बनेका छन् । सीमा वारिपारिको सम्बन्धमा लगाइएको ‘ब्रेक’ ले दैनिक जीवनमा प्रभाव परेको भन्दै सीमा क्षेत्रका मानिसहरुले आक्रोश समेत पोख्न थालेका छन् ।
जिल्लाका मुख्य नाकाहरुबाट मालवाकह सवारी साधनहरु खुलेआम रुपमा नेपाल प्रवेश गरिरहेको भएपनि सर्वसाधारणहरु भने सिमानाका नजिकैको खेतको बाटोबाट वारिपारि गरिरहेका छन् । मुख्य सिमानाका मलंगवा,सिमानाकाहरुत्रिभुवननगर,पर्सा,बलरा लगायतकमा स्थानबाट चामल,दाल,आलु प्याज बोकेका मालबाहक सवारी साधनहरु नेपाल प्रवेश गरि रहेका भएपनि स्थानिय प्रशासनले सर्वसाधारणलाई सो बाटोको प्रयोेग गर्न नदिदा सर्वसाधारणहरु खेत तथा गल्लीको बाटो प्रयोग गर्न बाध्य भएका स्थानियबासी रामाआधार साहले बताउनु भयो । 
नेपाली बजारमा भन्दा भारतीय बजारमा सस्तोमा सामान किन्न पाउँने भएका कारण सो क्षेत्रका अधिकांश स्थानियबासीहरुले सिमापारीबाट नै घरायसी सामानहरु ल्याउने गरेका अर्का स्थानियबासी रविराज कुशबाहले बताउनु भयो । मालबाहक सवारी साधानलाई विना अवरोध प्रवेश गर्न दिदाँ र सर्वसाधारणहरु चोरबाटोबाट आवतजावत गर्नु पर्दा सीमावर्ती क्षेत्रका नेपालीलाई मर्का परेका सर्लाही उद्योग वाणिज्य संघका अध्यक्ष वीरेन्द्र साहले बताउनु भयो । उहाँका अनुसार जीविकोपार्जनका लागि रासन खरिददेखि पेसा व्यवसायसम्मका लागि दुईतर्फी आउजाउ गरिरहने मानिसलाई नियमित कामकाज रोकिँदा समस्या भएको छ । भने मालबाकहसवारी साधनलाई प्रवेश गर्न दिनु र घरायसी सामान खरिद गर्ने स्थानियबासीलाई प्रवेश रोक लगाउनुले स्थानिय प्रशासन कमिसनको खेलमा लागेको आरोप लगाउन सक्ने आधार रहेको उहाँको भनाई छ ।‘पारिका मान्छे यता आउन रोकिँदा नेपालको बजार र व्यवसाय पनि सुकेको छ,’ भने वारीका मानिसहरुलाई पारिजान रोक लगाउँदा सिमा क्षेत्रका स्थानियबासी पनि मारमा परेका छन् । उहाँले बताउनु भयो । 
सीमा खुलाउनुपर्ने मागमा राजनीतिक दल, सीमा क्षेत्रका स्थानिकाहरु र सांसदहरू एकमत देखिएका छन् । जिल्ला समन्वय समिति सर्लाहीका सभापति मेथुर चौधरीको संयोजकत्वमा सीमा खुलाउनका लागि दबाब दिन सर्वदलीय संघर्ष समिति समेत बनेको छ । संघर्ष समितिको नेतृत्वमा मलंगवाको भारतको सोनवरसासँग जोडिने भन्सार क्षेत्रमा धर्ना समेतदिइएको भएपनि अहिले सम्म त्यसको कार्यान्वयन भएको छैन । धर्नामा प्रदेश सांसद, स्थानिय निकायका प्रमुख, नागरिक समाज, उद्योग वाणिज्य संघ लगायतले साथ दिएका संघर्ष समितिका संयोजक चौधरीले बताउनु भयो । उहाँका अनुसार जिल्लाबासीको जनजीवन सहज पार्न धर्नाए दिएको भएपनि स्थानिय प्रशासनले त्यसको वेवास्था गरेको गरेको छ ।
औपचारिक नाका बन्द भइरहँदा सवारीसाधनबाट मानिसको ओहोरदोहोर हुन सकेको छैन । अत्यावश्यक कामले वारिपारि गर्नेहरू कष्टप्रद यात्रा गरिरहेका छन् । महिनौं सीमा बन्द गरेर सरकारले सीमावर्ती क्षेत्रका बासिन्दाबीच फाटो ल्याउने काम गरेको प्रदेशसभा सदस्य अशोककुमार यादवले बताउनु भयो । वारिका बजार पूर्णरूपमा खुलेका छन् । पारि पहिलेदेखि नै खुल्ला छ । दशगजा क्षेत्रमा मात्रै नेपालका तर्फबाट गरिएको लकडाउनले कोरोना संक्रमण नियन्त्रण हुने विश्वास राख्नु गलत भएको प्रदेशसभा सदस्य उपेन्द्र कुशवाहाले बताउनु भयो । 
सीमा बन्दले सम्बन्ध र परम्परा मात्र हैन, यस क्षेत्रका नागरिकलाई औषधि उपचार गराउन पनि निकै समस्या परिरहेको छ । भारतीय बजार नजिक पर्ने गरेकाले सीमा क्षेत्रका नागरिकका लागि औषधि उपचारसहित किनमेल गर्न भारतीय बजार रोजाइमा पर्दै आएको थियो । अर्कोतर्फ भन्सारको बाटो बन्द हुँदा तस्करीले प्रश्रय पाएको छ । विद्यालय तथा कलेज पढ्ने उमेरका युवा तस्करीमा जोडिन थालेका छन् । पढाइ रोकिएर घर आएका कतिपय युवा वारिका व्यापारीका लागि सामान ल्याइदिने, औषधि ढुवानीमा संलग्न हुने जस्ता काममा सक्रिय भएका छन् ।
धेरै मानिसले भारतीय कम्पनीको औषधि सेवन गर्ने गरेको र त्यही आवश्यकता पूर्ति गरि दिँदा आफ्नो आम्दानी हुने गरेको एक विद्यार्थी रामएकवाल साहले बताए । उनले एक किलोमिटर वारपार गर्दा दिनमा रु १ हजार रुपैयाँसम्म आम्दानी हुने गरेको बताएका छन् ।
रामएकवाल जस्तै कयौँ युवा जानेर नजानेर यसरी नै तस्करीमा रमाउन थालेका छन् । तस्करी बढ्दा सीमा क्षेत्रमा खटिएका प्रहरीले अनुचित लाभसमेत लिन थालेको एक जनप्रतिनिधिले बताउनु भयो । युवाले ड्युटीमा खटिएको प्रहरीलाई रकम बुझाएर सामान वारपार गराउने गरेको बताएका छन् । उनका अनुसार बन्द रहेको मुख्य नाकामा खटिएका प्रहरीले नै चोरबाटो बताइदिने गरेका छन् । भारतको सीतामढीमा उपचार गराउँदै आएका धनकौल–९ का शिवकिशोर सिंहले भारतीय बजारमा सहजै सुपथ मूल्यमा पाउने औषधिलाई नेपालमा दोब्बर मूल्य तिर्नु परिरहेको बताउनु भयो । दोब्बर पैसामा भारतीय बजारबाट औषधीहरु नेपालमा आउने गरेको बताउनु भयो ।
नाका बन्दका कारण किसानलाई यसपालि रासायनिक मल अभावको समस्या समेत भयो । यता नेपाल सरकारले मल उपलब्ध गराउन सकेन, उता किसानले पारिबाट मलको आपूर्ति गर्न सहज भएन । तस्करी गरेर ल्याइएको मललाई किसानले महँगोमा किन्नु परेको नागरिक समाजका महासचिव शिवचन्द्र चौधरीले बताउनु भयो ।
मलंगवामा सीमा क्षेत्र जोडिने मुख्य बाटोमै घर रहेका चौधरीले महिनौंदेखि वारिपारि गर्ने हजारौं मानिसको पीडा देख्दा विरक्त लागेको बताउनु भयो । ‘झोला र बालबच्चा लिएर पैदल चोरबाटो हिँडिरहेका हुन्छन्,आफुलाई असहज हुन्छ,उनिहरुको पीडा देख्दा आफ्नै पीडा झैँ लाग्छ’ उहाँले भन्नु भयो ।
सरकारले कोरोना नियन्त्रणका लागि गत चैत ११ गते देशव्यापी लकडाउन तथा सीमा बन्द गरेयता सर्लाहीको नाका औपचारिक रूपमा खोलिएको छैन । पारि छिर्ने मुख्य बाटामा प्रहरीले बाँसको ढाट लगाएको छ । जसका कारण सर्वसाधारण वारीपरी गर्न पाउँदैन्न । 
चक्रघटा गाउँपालिकाका अध्यक्ष विक्रम यादवले सीमा खुलाउन ढिला भइरहँदा मानिसमा उकुस मुकुस बढ्दै गएको बताउनु भयो । ‘ग्राउन्ड रियालिटी एउटा छ । सरकारको नीति अर्कै खालको हुँदा समस्या छ,’ उहाले भन्नु भयो । नागरिक अगुवा रजनीकान्त झाले नाका बन्द गरिए पनि कोरोना संक्रमणको फैलावट नरोकिएको बताउनु भयो । ‘दुवैतिर लकडाउन भइरहेको अवस्थामा अर्कै थियो । दुवैतिर सबै खुल्ने तर सीमा मात्रै बन्द गरिरहँदा आम मानिसमा संशय पनि बढेको छ,’ उहाको भनाई छ ।
सरकारले देशैभर भारतबाट नेपाल प्रवेशका लागि पछिल्लो समय १० वटा नाकालाई मात्रै अनुमति दिएको छ । प्रवेश गर्न भनिएका स्थानमा पनि आउजाउ सहज छैन ।सीमा खुलाउनका लागि दबाब थेगि नसक्नुभएको रहेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र प्रसाद पौडेलले बताउनु भयो ।‘जिल्ला तहको हातमा छैन, यहाँको विषयवस्तु केन्द्रमा पु¥याएका छौं,’ उहाले भन्नु भयो । उहाले सीमा बन्द हुँदा तस्करी लगायत विकृति बढेको र त्यसको नियन्त्रणका लागि स्थानिय प्रहरी प्रशासनले हरसम्भव प्रयास गरिरहेको छ । यता भन्सार कार्यालयका कार्यालय प्रमुख राजेश कुमार दत्तका अनुसार माथिको निर्देशन अनुसार मालबाहक सवारी साधनलाई आवतजावत गर्न दिएको र त्यस्ता सवारी साधनहरुले चामल,धान,दाल तथा आलु र प्याज लिएर आउने गरेका छन् । तर सर्वसाधरणलाई सिमानाको बाटो प्रयोगमा रोक लगाइएको प्रति आफुपनि आश्चर्य चकित परेको उहाँको भनाई छ ।
“ठुला ठुला मालवाहक सवारी साधन आउने जाने गरि रहेका छन् । तर ५÷७ किलो घरायसी सामान ल्याउने सर्व साधारणलाई चोरबाटो देखाइएको छ । यो आश्चर्यको कुरा हो । स्थानिय प्रशासन मौन छ ।” उहाँले बताउनु भयो । 
यता चामल,दाल,प्याज,आलु तथा तेल गरी ५÷७ किलो लिएर आउँदा आफुहरुले सिमानामा रहेका प्रहरीलाई रु ५० देखि रु एकसय दिनु पर्ने स्थानियबासीले बताएका छन् । साइकल तथा टाउँकोमा लिएर आएको ५÷७ किलो घरायसी सामानमा पनि सुरक्षाकर्मीले रकम असुल्ने गरेको अर्का स्थानियबासी विनोद सिंहले बताउनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech