हुलाकी राजमार्गको गुणस्तरीय निर्माण तथा नेपाल भारत सिमानाका बन्द खोल्नुपर्ने माग राखेर सर्लाहीमा आन्दोलन जारी रहेको छ । पुर्व निर्धारित कार्यक्रम अनुसार बुधबार जिल्ला पुर्ण रुपमा बन्दको घोषणा गरिएको थियो ।
जिल्ला समन्वय समिति सर्लाहीका सभापति मेथुर चौधरीको संयोजकत्वमा गठित सर्वदलिय सर्व पक्षिय सघर्ष समिति सर्लाहीको संयुक्त आयोजनामा जारी अन्दोलनले बुधबार नेपाल भारत सिमानाकामा लगाइएको ढाट हटाएको छ । अन्दोलनमा सहभागी संघीय सांसद तथा पुर्व उद्योग मन्त्री महेन्द्र राय यादवले मलंगवा स्थित नेपाल भारत सिमानाकामा लगाइको ढाट आफै गएर हटाउनु भएको छ ।
सांसद रायसँगै सर्वपक्षिय सघर्ष समिति सर्लाहीका सदस्यसहितको टोली नारा जुलुस गर्दै नेपाल भारत सिमानाका (दशगजा)मा पुगेर गोरखकाली प्रहरी चौकी नजिकै रहेको जिल्ला भन्सार कार्यालय अगाडी सशस्त्र प्रहरीले बन्द गरेर राखेको फलामे ढाट हटाएका संघर्ष समिति संयोजक चौधरीले बताउनु भयो ।
गत मंसिर २१ गते देखि विभिन्न ५ बुँदे मागहरु सहित रिले धर्नामा बसेका सर्वपक्षिय संघर्ष समितिका सदस्यहरूले मुख्यतः राष्ट्रिय गौरवको आयोजना हुलाकी राजमार्ग चालू आर्थिक वर्षमै निर्माण सम्पन्न गर्नुपर्ने तथा ९ महिना देखि बन्द रहेको सीमानाका खुल्ला गर्नुपर्ने माग राखेर आन्दोलन थालेका हुन् । सर्वपक्षिय संघर्ष समितिले मंसिर २९ गते साँझ मसाल जुुलुस निकाली मंगलबार जिल्ला सदरमुकाम मलंगवाबन्दको घोषणागरेको थियो भने बुधबार जिल्लाभर बन्दको घोषणा गरिएको थियो ।
समयावधि भर जिल्लाभरीका सम्पूर्ण हाटबजार,पसल,प्रतिष्ठान ,सरकारी कार्यालय ,बैंक तथा वित्तीय संस्था र यातायात बन्द रहने घोषणा गरिएको भएपनि जिल्ला बन्दको प्रभाव सामान्य परेको थियो । सरकारले अब पनि आफ्नोे मागलाई बेवास्ता गरे आन्दोलनलाई अझ कडा गर्दै जाने समितिका सदस्यहरूले बताएका छन् । माग पूरा नभएसम्म संघर्षका कार्यक्रमहरु जारी रहने समिति संयोजक चौधरीले बताउनु भयो ।