Close This

लालबन्दीमा पनि करदाता सेवा कार्यलयको सेवा सुरु

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-९-४ गते   ६२९ पटक हेरिएको

सर्लाहीको लालबन्दीमा  करदाता सेवा कार्यालयले आफ्नो सेवा सुरु गरेको छ । सहकारी र निजी क्षेत्रबीचको सहकार्यमा अघि बढ्ने अवधारणा अनुरुप जनतालाई घरदैलोमा नै सेवा दिने उदेश्यले लालबन्दीमा करदाता सेवा कार्यालय सुरु गरिएको आन्तरिक राजश्व कार्यालय जनकपुरका प्रमुख कर अधिकृत गजेन्द्र प्रसाद यादवले बताउनुभयो । 
अर्थतन्त्रको विकासका लागि सरकारले लिएको तीन खम्बे अर्थ नीति अनुसार काम भईरहेको आन्तरिक राजश्व कार्यालय जनकपुरका प्रमुख कर अधिकृत यादवको भनाई छ  । आफुहरुको अनुरोधलाई स्विकारेर सरकारले लालबन्दीमा करदाता सेवा कार्यालयबाट सेवा सुरु भएको उद्योग वाणिज्य संघ लालबन्दीका अध्यक्ष कल्याण कुमार जोशीले बताउनुभयो ।  अध्यक्ष जोशीले सेवा कार्यालयको स्थापना पछि लालबन्दीमा मात्र नभई आसपासका हरिवन, हरिपुर, ईश्वरपुर, बागमती र बरहथवाका ब्यवसायी हर्षित भएको बताउनुभयो । 
करदाता सेवा कार्यालय लालबन्दीका प्रमुख हुमलाल भट्टराईले लालबन्दी सेवा कार्यालयबाट आसपासका कर कार्यालयसँग आवद्ध ९ हजार ५ सय सेवाग्राही तत्काल लाभान्वित हुने र कर कार्यालयसँग जोडिन चाँहने थप कयौं सेवाग्राहीलाई फाईदा पुग्ने बताउनु भयो । कार्यालय प्रमुख भट्टराईका अनुसार सेवामुलक कार्यालय भएकाले यहाँबाट स्थाई लेखा नम्बर बितरण, कर चुक्ता, बिवरण भेरिफाई लगाएतका काम हुने छन् ।
कार्यालय प्रमुख भट्टराईले नेपाल सरकार मन्त्रिपरिषद्को २०७६ पुस २१ गतेको निर्णय अनुसार करदाता सेवा कार्यालय लालबन्दीको स्थापना भएको बताउनु भयो । आन्तरिक राजश्व कार्यालय जनकपुर अन्तर्गत पाँचवटा सेवा कार्यालय रहने र त्यसै मध्य लालबन्दीको सेवा कार्यालय पनि रहेको भट्टराईको भनाई छ । कार्यक्रममा करदाता सेवा कार्यलय मलंगवाका प्रमुख बालकृष्ण कट्टेल, स्थानिय उद्योगी व्यापारी तथा लेखा परिक्षकहरुको उपस्थिती रहेको थियो । लालबन्दीमा नयाँ कार्यालय स्थापना भएपछि उत्तरी क्षेत्रका उद्योगी व्यापारी एवं कर कार्यालयसँग सरोकार राख्ने सेवाग्राहीहरुलाई थप सहज भएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech