सर्लाहीको बलरा नगरपालिका–७ स्थित डुमरियामा रहेको एक कुखुरा फार्मबाट प्रहरीले ठूलो मात्रामा लागु औषध गाँजा सहित एक जनालाई नियन्त्रणमा लिएको छ।बलरा नगरपालिका–७ स्थित डुमरियामा रहेको एक कुखुरा फार्मबाट अन्दाजी तीन सय ३० किलो लागूऔषध गाँजा सहित एक जना मानिसलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रहरी प्रवक्ता एवम प्रहरी निरीक्षक गणेश पाण्डेले जानकारी दिए ।
उनका अनुसार शनिबार दिउँसो बलरा नगरपालिका–७ डुमरियामा रहेको भोला सिंहको कुखुरा फार्ममा बागमती प्रदेश ०१–०२६ च २८८६ नम्बरको पिकअपमा गाँजा अनलोड भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी चौकी मधुवनीगाउँ र इलाका प्रहरी कार्यालय गडहियाको संयुक्त प्रहरी टोलीले छापा मारेको थियो।
प्रहरी निरीक्षक कैलाश चौधरीको नेतृत्वमा पुगेको टोलीले फार्ममा खानतलासी गर्दा तीन सय ३० किलोग्राम गाँजा बरामद भएको र बलरा नगरपालिका–७ डुमरियाका अन्दाजी २८ वर्षीय अमरजित राउतलाई पक्राउ गरिउको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।कार्यालयका अनुसार बरामद गरिएको गाँजा,पिकअप भेन तथा पक्राउ परेका राउतमाथि लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान सुरु भएको छ।