मृतक रामको परिवारलाई रु १० लाख दिने सरकारको निर्णय,शव अझैँ अस्पतालमै

2.8k Shares

सर्लाहीको रामनगर गाउँपालिका–७, सिसौट निवासी महेन्द्र रामको परिवारलाई सरकारले १० लाख रुपैंया उपलब्ध गराउने निर्णय गरेको छ ।   मंसिर ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले मृतक महेन्द्र महरा रामको परिवारलाई रु १० लाख आर्थिक सहायता दिने निर्णय गरेको बताईएको छ । सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले पनि सरकारले रु १० लाख रुपैंया दिने निर्णय गरेको बताउनु भयो । 
गत असोज २१ गते छिमेकीहरुसँग विवादका क्रममा कुटपिटबाट घाईते महेन्द्रको वीरगंजमा उपचार गर्दागर्दै मृत्यु भएको थियो । नेपाली कांग्रेस सर्लाहीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्ताको कुटाईबाट आफ्ना कार्यकर्ता महेन्द्रको मृत्यु भएको दाबी सहित मृतकलाई शहिद घोषणा तथा क्षतिपूर्ति स्वरुप मृतकका परिवारलाई रु १० लाख रुपैंया उपलब्ध गराउन र कुटपिटमा संलग्नलाई पक्राउ गरी कार्बाहीको दायरामा ल्याउन भन्दै आन्दोलन चर्काएको थियो ।
नेपाली कांग्रेस नेता कार्यकर्ताले गत असोज २८ गते जिल्ला प्रहरी कार्यालय सर्लाही घेराउ गर्ने क्रममा कांग्रेस नेता कार्यकर्ता र प्रहरी बिच झडप समेत भएको थियो । झडपमा परी कांग्रेसका नेता कार्यकर्ता र सुरक्षाकर्मीतर्फ पाँच दर्जन बढी घाईते भएका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
नेपाली कांग्रेसका जिल्ला सभापति नागेन्द्र कुमार राय, संघीय सांसद् डा. अमरेशकुमार सिंह, प्रदेश सांसद् वीरेन्द्रकुमार सिंह, उपेन्द्र कुशवाहा लगायतको नेतृत्वमा निरन्तर आन्दोलन चर्काएपछि स्थानीय प्रशासनले मृतकका परिवारको आर्थिक अवस्था अत्यन्त दयनीय भएकाले उचित आर्थिक सहयोग उपलब्ध गराउन गृह मन्त्रालयमा सिफारिस गरेको थियो । मृतक महेन्द्रको शव अझैपनि वीरगंजको अस्पतालमै रहेको पीडितका आफन्तजनले बताएका छन् ।
प्रदेश सभा सदस्य वीरेन्द्रकुमार सिंहले सरकारले गरेको निर्णय अनुसार रकम आउन केही दिन लागेपनि जिल्ला प्रशासन कार्यालयले लिखित रुपमा मृतक परिवारलाई रु १० लाख रुपैयाँ पाउने निर्णय भएको पत्र दिए तत्कालै शव बुझिने बताएका छन् । भनेप्रमुख जिल्ला अधिकारी पौडेलले आफुलाई आधिकारीकरुपमा परिपत्र आएपछि मात्र सोकामगर्ने बताउनु भएको छ । 

सम्बन्धित समाचार