Close This

पेट्रोल छर्की आगो लगाएर फरार भएका साह पाँचै दिनमा पक्राउ

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-१-२६ गते   २३२ पटक हेरिएको

सर्लाहीको  ईश्वरपुर नगरपालिका १२ घारीबथानमा भएको हत्याको आरोपित एकजनालाई प्रहरीले पक्राउ गरेको हो । इश्वरपुर नगरपालिका १२ घारीबथानमा एक साताअघि छिमेकीलाई पेट्रोल छर्की आगो लगाएर हत्या गरेको आरोपमा इश्वरपुर नगरपालिका १२ का अन्दाजी ३५ वर्षीय शिवजी साहलाई प्रहरीले नेपाल भारत  सिमा क्षेत्रबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय बेशरगञ्ज,वयलबासका प्रहरी प्रमुख प्रहरी निरिक्षक जनकराज ढुंगानाले जानकारी दिनुभयो ।
इश्वरपुर नगरपालिका १२ घारीबथानका ५८ वर्षीय शियाशरण रायलाई पेट्रोल छर्की आगो लगाएर हत्या गरेको आरोपमा साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सन्तोष सिंह राठौरले जानकारी दिनु भयो ।
उहाँका अनुसार वैशाख २० गते घर अगाडिको आँपको बगैंचामा बसिरहेका रायको शरीरमा पेट्रोल छर्की आगो लगाएर फरार भएको साहमाथि आरोप छ । शरीरको अधिकांश भाग जलेर गम्भीर घाइते भएका रायलाई तत्कालै उपचारको लागि धनुषाको लालगढ मोडल अस्पताल लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौंको कीर्तिपुर अस्पताल लगेर उपचार गराउने क्रममा रायको वैशाख २१ गते मृत्यु भएको थियो ।
घटनापछि फरार भएका साहलाई मलंगवा नगरपालिका–५ भाडसरस्थित नेपाल भारत सीमावर्ती क्षेत्रबाट पक्राउ गरिएको प्रहरी प्रमुख प्रहरी उपरिक्षक राठौरले बताउनु भयो । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । साह वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा बसेर फर्किएका थिए । उनी फर्किएको २४ घण्टा नवित्दै उक्ता घटना घटेको स्थानियबासीले बताएका छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech