निःशुल्क पशु उपचार शिविरबाट दुई सय किसानलाई लाभ

2.7k Shares

सर्लाहीको चन्द्रनगर गाउँपालिका  ५ मोहनपुरमा आयोजना गरिएको एक दिने निःशुल्क पशु स्वास्थ्य शिविरमा २ सय बढी किसान लाभान्वित भएका छन् । गाउँपालिकाको पशु सेवा शाखाले आयोजना गरेको शिविरबाट मोहनपुरका २ सय २३ जना किसानहरुले पालेका १ हजार २ सय गाई, भैँसी र बाख्रापाठाको औषधोपचार गरिएको हो । 
बुधबार आयोजना गरिएको एक दिने शिविरमा १ सय ८० जना किसानहरुले पालेका ६ सय पशुलाई भ्यागुते र चरचरे रोग विरुद्धको भ्याक्सीन लगाइएको गाउँपालिकाको पशु सेवा शाखाका प्रमुख राकेश कुमार महतोले बताउनु भयो ।
यस्तै १० वटा भैँसी र १५ वटा गाईको गर्भ परीक्षण, ८ वटा गाई र ४ वटा भैँसीमा कृतिम गर्भधान सेवा, १३ वटा भैँसी र २ वटा गाईको गोबर परीक्षण गरिएको पशु सेवा शाखाका प्रमुख महतोले बताउनुभयो  । शिविरमा गाउँपालिकाका पशु प्राविधिकसँगै जिल्ला पशु सेवा कार्यालय सर्लाहीका  विज्ञ डा.जयप्रकाश यादव र अधिकृत श्यामसुन्दर यादव लगायतका पशु प्राविधिकहरुले किसानहरुले ल्याएका पशु चौपायहरुको औषधोपचार गर्नु भएको थियो । गाउँमै वस्तुभाउको उपचारसँगै रोग अनुसारको औषधि समेत निःशुल्क रुपमा पाएपछि किसानहरु खुसी भएका गाउँपालिका पशुसेवा शाखाले जनाएको छ ।

सम्बन्धित समाचार