नेपालसंग अमेरिका ६ विकेटले पराजित

990 Shares

काठमाडौं । आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले अमेरिकालाई पराजित गरेको छ । जिम्बावेको राजधानी हरारेमा रहेको टागासिंगा स्पोर्टस् क्लबमा मंगलबार भएको खेलमा नेपालले ६ विकेटले अमेरिकालाई पराजित गरेको हो ।

अमेरिकाले दिएको २ सय ८ रनको लक्ष्य नेपालले ४३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा भीम सार्कीले १ सय १४ बलमा ७ चौका र १ छक्काको सहयोगमा अविजित ७७ रनको अर्धशतकीय ईनिङ खेले । 

पहिलो विकेटका लागि ओपनरद्वय आसिफ शेख र कुशल भुर्तेलले ३० बलमा २५ रनको साझेदारीका साथ राम्रो सुरुआत दिलाएका थिए । ओपनर शेख पाँचौ ओभरको अन्तिम बलमा सौरभ नेत्राभाल्करको बलमा १२ रन बनाउँदै एलबिडब्लु आउट भए । 

अर्का ओपनर कुशल भुर्तेलले ५४ बलमा ४ चौका र १ छक्काको सहयोगमा ३९ रन बनाए । दोस्रो विकेटका लागि भीम र कुशलले ६८ बलमा ४९ रनको महत्वपुर्ण साझेदारी भएको थियो । कुशल नोस्तुषा केन्जिगेको बलमा आउट भएसँगै यो साझेदारी तोडिएको थियो । 

कप्तान रोहित पौडेलले २९ बलमा १६ रन बनाए । कुशल मल्ल १३ बलमा १३ रन बनाउँदै आउट भए । पाँचौ विकेटका लागि भीम सार्की र दीपेन्द्र सिंह ऐरीले ६४ बलमा अविजित ७४ रनको विजयी साझेदारी गरे । 

दीपेन्द्रले ३२ बलमा ५ चौका र १ छक्काको सहयोगमा अविजित ३९ रन बनाए । अमेरिकाका लागि नोस्तुषा केन्जिगे, सौरभ नेत्राभाल्कर, निशर्ग पटेल र स्टेभन टेलरले समान १र१ विकेट लिए । 

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अमेरिका ४९ ओभरमा २ सय ७ रनमा अलआउट भएको थियो । अमेरिकाका लागि शायन जाहान्गिरले ७९ बलमा १० चौका र ३ छक्काको सहयोगमा अविजित १ सय रनको शतकीय ईनिङ खेले । अमेरिकाले सुरुआतको चार विकेट सस्तै गुमाएको थियो ।

पाँचौ विकेटका लागि गजानन्द सिंह र सुशान्त मोदानीले ७३ बलमा ४७ रनको साझेदारी गरेका थिए । वेस्ट इन्डिजसँगको अघिल्लो खेलमा शतक बनाएका सिंह २६ रनमा आउट भएका थिए । गजानन्द ४१ बलमा २ चौका र १ छक्काको सहयोगमा २६ रन बनाएर आउट भए । छैटौं विकेटका लागि शायन जाहान्गिर र सुशान्त मोदानीले ३७ बलमा २९ रनको साझेदारी गरे । ओपनर मोदानीले ७१ बलमा ३ चौका र १ छक्काको सहयोगमा ४२ रन बनाए ।

सातौं विकेटका लागि जाहान्गिर र निर्शग पटेलले ५४ बलमा ३४ रनको साझदारी गरे । पटेलले २५ बल खेलेर ८ रन बनाए । आठौं विकेटका लागि जाहान्गिर र जसदिप सिंहले ४१ बलमा ४२ रनको महत्वपूर्ण साझेदारी गरे । जसदिपले २५ बलमा १२ रन बनाए । नवौं विकेटका लागि जाहान्गिर र सौरभ नेत्राभाल्करले ३२ बलमा ३७ रनको साझेदारी गरे ।नेपालका लागि करण केसीले ९ ओभरमा ३३ रन खर्चिएर ४ विकेट लिए । गुलसन झाले ३ तथा दीपेन्द्रसिंह ऐरीले २ विकेट लिए । ललितनारायण राजवंशी १ विकेट आफ्नो नाममा गरे ।

नेपालको तेस्रो खेल वेस्ट इन्डिजसँग २२ जुन अर्थात असार ७ मा रहेको छ । नेपालले समूह चरणको अन्तिम खेलमा नेदरल्यान्डसँग २४ जुन अर्थात असार ९ मा खेल्नेछ । आजको जितसँगै सुपर सिक्समा पुग्ने नेपालको सम्भावना बलियो भएको छ । जितसँगै २ अंकका साथ नेपाल समूह ए को तेस्रो स्थानमा उक्लिएको छ । अमेरिका भने चौथो स्थानमा झरेको छ ।

सम्बन्धित समाचार