सुनकोसी गापाद्धारा रेडक्रसलाई एम्बुलेन्स सहयोग

3.2k Shares

सिन्धुलीको सुनकोशी गाउँपालिकाले नेपाल रेडक्रस सोसाइटी सुनकोशी उपशाखालाई बुधबार एम्बुलेन्स हस्तान्तरण गरेको छ । सुनकोशी गाउपालिकाका सात वटै वडामा अब एम्बुलेन्स सेवाको पहुँच पुगेको छ । वाग्मती प्रदेश सभा सदस्य राजन दाहाल, सुनकोशी गाउँपालिका अध्यक्ष दीपा बोहरा (दाहाल), उपाध्यक्ष दिर्वुसिं मोक्तानले एम्बुलेन्सको साँचो सुनकोशी उपशाखा सभापति मणिराम आचार्यलाई हस्तान्तरण गर्नु भएको हो ।
 सो अवसरमा नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय तदर्थ समितिमा मनोनित सिन्धुली शाखा सभापति अशोक श्रेष्ठलाई सम्मान समेत गरिएको छ । यसअघिको कार्यसमितिमा समेत श्रेष्ठ केन्द्रीय सदस्यको रुपमा रहनु भएको थियो । कार्यक्रममा नेकपाका केन्द्रीय सदस्यसमेत रहनुभएका सांसद दाहालले मानवीय सेवामा समर्पित संस्था भएकाले रेडक्रसले आफ्ना मान्यताअनुसार सामाजिक सेवा प्रभावकारी रुपमा दिनुपर्ने बताउनुभयो । उहाँले आर्थिक अवस्था कमजोर भएकालाई सेवा दिन गाउँपालिकाले सातै वडामा विपन्न आर्थिक सहयोग कोष मार्फत् सहयोग गर्न सुझाव दिनुभयो ।
सुनकोशी गाउँपालिकाका अध्यक्ष बोहराले सबै वडामा एम्बुलेन्स सेवा पुर्याउन पाउँदा खुशी लागेको बताउनुभयो । सिन्धुली शाखाका सभापति श्रेष्ठका अनुसार, सुनकोशी गाउँपालिकाको १२ लाख अनुदानमा एम्बुलेन्स खरिद गरिएको हो । एम्बुलेन्सको भन्सार छुट, बीमा, साइरन जडानलगायत कार्यमा जिल्ला रेडक्रसले संयोजनकारी भूमिका निर्वाह गरेको थियो । सुनकोशीको दुई वडामा मात्र एम्बुलेन्स रहेकोमा सुनकोशी गाउँपाकाले थप पाँच वटा एम्बुलेन्स खरिदमा अनुदान दिएर रेडक्रसमाथि विश्वास गरेकामा गाउँपालिका अध्यक्ष एवं जनप्रतिनिधिलाई श्रेष्ठले धन्यवाद दिनुभयो ।

सिन्धुलीका नौ वटै स्थानीय तहसँग समन्वय गरी २० वटा एम्बुलेन्स रेडक्रस मार्फत् सञ्चालनमा रहेका छन् । कमलामाई नगरपालिकाको अनुदानमा रेडक्रसले सव वाहन सेवा समेत सञ्चालन गरिरहेको छ । जिल्लामा रेडक्रसले रक्त सञ्चार सेवा समेत सञ्चालनमा ल्याएपछि सिन्धुली अस्पतालमा प्रसूतिलगायत शल्यक्रियाका लागि समेत सहज वातावरण बनेको छ ।

एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा स्थानीय रेडक्रसकर्मी, जनप्रतिनिधि, विभिन्न पार्टीका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार