Close This

सर्लाहीको लालबन्दी १४ बाट १६ बिग्गा क्षेत्रफलमा लगाइएको गाँजा खेती नष्ट

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-९-२१ गते   ४५२ पटक हेरिएको

सर्लाहीको नारायणखोलामा किसानहरुले लगाएको करिव १६ बिग्गामा अवैध लागूऔषध गाँजा खेती नष्ट गरिएको छ । लालबन्दी नगरपालिका १४  मा पर्ने जिल्लाकै दुर्गम भेग नारायणखोलामा व्यावसायिक रुपमा  ठूलो क्षेत्रफलमा गाँजा खेती भइरहेको सूचना पाए लगतै सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल,जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सन्तोष सिंह राठौर सहितको टोली सो परिमाणमा लगाइएको गाँजा खेती नष्ट गरेको हो ।
प्रजिअ पौडेल, प्रहरी उपरीक्षक राठौर, सशस्त्र प्रहरी नायव उपरीक्षक जगन्नाथ खड्का र इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी प्रमुख प्रहरी निरिक्षक निर्मल थापा सहितको टोलीले गाँजा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
त्यस क्षेत्रमा गाँजाको व्यापक मात्रामा खेती हुने गरेको पाइएकोले जिल्लाको सुरक्षकर्मीहरुको टोली त्यहाँ पुगेर अवैध लागु औषध गाँजा खेती नष्ट गरेको प्रहरी उपरीक्षक राठौरले बताउनु भयो । सोमबार र मंगलबार गरी २ दिनमा १७ बिग्गा क्षेत्रफलमा लगाइएको जाँगा खेती नष्ट गरिएको प्रहरी नायव उपरिक्षक मदन कुँवरले जानकारी दिनु भयो । उहाँका अनुसार सोमबार करिब ९ विग्गा क्षेत्रफलमा र मंगलबार  ७ बिग्गा क्षेत्रफलमा लगाइएको गाँजा खेती नष्ट गरिएको हो । जिल्लाको उत्तरी चुरे क्षेत्रमा ठुलो क्षेत्रफलमा गाँजा खेती गर्ने गरेको पाइएको भन्दै त्यस क्षेत्रमा गाँजा नष्ट गर्न प्रहरीले  अपे्रसन नै चलाउने प्रहरी उपरिक्षक राठौरले बताउनु भयो । जिल्लाको कर्णाली भनेर चिनिने सो क्षेत्रमा फोन समेत लाग्दैन ।  गाँजा फडानी गर्न हातहतियारसहित ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिइ गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
यता, केही दिनअघि पनि दुई पटक इलाका प्रहरी कार्यालय लालबन्दी र प्रहरी चौकी पत्थरकोटबाट खटिएको प्रहरी टोलीले नारायणखोलाको विभिन्न ठाउँमा लगाइएको गाँजा नष्ट गरेको थियो । गाँजाबाट राम्रो आम्दानी हुने देखेर सो क्षेत्रका स्थानीयहरुले केही वर्षअघि देखि अरु बाली लगाउन छाडेर डाँडापाखाका पाखाबारीमा गाँजाको खेती गर्दै आएका छन् । गत वर्ष पनि तत्कालिन प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीको नेतृत्वमा प्रहरी टोली पुगेर नारायणखोलाका विभिन्न ठाउँमा लगाइएको गाँजा नष्ट गरेको थियो । प्रहरी स्रोतका अनुसार भारतीयहरुको सहयोगमा खेती गरिने गाँजा तयार पारेर बिक्रीका लागि लुकाईछिपाई भारत नै पु¥याउने गरिएको छ । त्यसरी लगिने गाँजा प्रहरीले जिल्लाका विभिन्न स्थानबाट बरामद समेत गर्दै आएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech