लुटिएका सबै प्रकारका सामाग्री फिर्ता गर्न जि.प्र.का. सिन्धुलीको अनुरोध

340 Shares

जिल्ला प्रशासन कार्यालय सिन्धुलीले देशभर भएको पछिल्लो राजनीतिक घटनाक्रम र त्यसबाट सृजना भएको असहज परिस्थितिको फाईदा उठाउँदै लुटपाट गरिएका सामाग्री फिर्ता गर्ने अनुरोध गरेका छ ।प्रदर्शनका क्रममा सरकारी,सार्वजनिक तथा निजी भवन वा घर लगायतका अन्य संस्थाहरुमा भएको आगजनी र तोडफोड गर्ने क्रममा त्यस्ता भवनमा रहेका महत्वपूर्ण अभिलेख तथा कागजातका अलवा कम्प्यूटर,ल्यापटप,प्रिन्टर,क्यामेरा,पंखा,व्याट्री र अन्य विद्युतीय सामाग्री लगायतका जिन्सी सामानहरु,फर्निचर,नगद तथा गरगहना,उपहार,मुर्ती तथा धातुजन्य सामाग्रीहरु र सुरक्षा उपकरण तथा सञ्चार सेट वा सार्वजनिक सम्पत्तिहरु केही उच्छृंखल व्यक्तिहरुले लुटपाट गरी लगेको पाइएकाले त्यस्ता सामाग्रीहरु यथासिघ्र फिर्ता गरीदिन जिल्ला प्रशासन कार्यालय सिन्धुलीले सूचना जारी गरेको छ ।
प्रमुख जिल्ला अधिकारी दिनेश सागर भूसालले हस्ताक्षर गरी जारी गरिएको सूचनामा त्यसरी लुटेर लग्न लागदै गर्दा कतिपय सज्जन व्यक्तिहरुले हाम्रो आफ्नै सार्वजनिक सम्पत्ति हो भनी खोसी सुरक्षित स्थानमा समेत राखेको सूचना प्राप्त भएको हुँदा त्यस्ता सामानहरु इमान्दारीपूर्वक यथाशिघ्र फिर्ता गरिदिनुहुन अनुरोध गरिएको छ ।
साथै त्यस्ता सामाग्रीहरु किनवेच तथा खरिद विक्री नगर्न/नगराउन समेत सूचना मार्फत अनुरोध गरिएको छ।यस विषयका सम्बन्धमा कुनै सूचना वा जानकारी प्राप्त भएमा नजिकको सुरक्षा निकायमा सूचना गरिदिनुहुन,त्यस्ता सामानहरु प्राप्त भएमा सम्बन्धित निकाय वा व्यक्तिलाइ बुझाइदिनु हुन पनि सूचनामा भनिएको छ ।
शनिबार जारी गरिएको सूचनामा अन्यथा सुरक्षा निकायबाट सिसिटिभी फुटेज तथा सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरु वा अन्य सूचना समेतका आधारमा अनुसन्धान गरि पहिचान भएमा यस्ता चोरी तथा लुटपाटमा संलग्न व्यक्ति तथा सामानहरु खरिद विक्री तथा व्यक्तिगत घरमा सञ्चय गर्ने कार्यमा संलग्न व्यक्तिलाई कानून बमोजिम कारवाही गर्ने समेत चेतावनी दिईएको छ ।

सम्बन्धित समाचार