Close This

माघे संक्रान्ति आएसंगै सर्लाहीका किसानहरु तरुल खन्न व्यास्त

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-९-२२ गते   ३६६ पटक हेरिएको

सर्लाहीको  पश्चिम क्षेत्रमा व्यवसायिक रुपमा खेती गरिने तरुल माघे संक्रान्ति नजिकिएसँगै खन्न सुरु गरिएको छ । व्यापारीहरुले अहिले किसानहरुको खेतमै पुगेर धमाधम तरुल खरिद गरिरहेका छन् । माघे संक्रान्ति आउन दुई हप्ता बाँकी भएपनि अन्यत्र निकासीका लागि अहिले देखिनै तरुल खन्न थालिएको एक किसानले बताएका छन् । अहिलेदेखि संक्रान्तिसम्म नै तरुल खन्ने चटारो हुने किसानको भनाई छ ।
जिल्लाको कर्मैया,जिरायत,बरहथवा,हजरिया,राजघाट रशंकरपुर लगायतका क्षेत्रमा व्यवसायिक रुपमा तरुल खेती गरिन्छ । तरुल खेतीबाट यहाँका किसानहरुले बर्सेनि मनग्य आम्दानी गर्दै आएका छन् । यो वर्ष आफूले १७ कठ्ठामा लगाएको तरुल रु २ लाख १५ हजारमा बिक्री गरिसकेको बागमती नगरपालिका–१०, शंकरपुरका किसान मोहन लुम्रे मगरले बताउनु भयो । व्यापारीहरु किसानहरुको खेतमै पुगेर तरुल किन्ने गरेका कारण किसानहरुले  आफैले मजदुर लगाउनु पर्ने समस्या समाधान भएको किसानहरुको भनाई छ ।
तरुल यो वर्ष प्रतिकठ्ठा रु १५ देखि २० हजारसम्ममा बिक्री भइरहेको बागमती नगरपालिका–५, राजघाट टेकानीका किसान शिव पुलामीले बताउनु भयो । पुलामीले पनि आफ्नो ६ कठ्ठा खेतमा लगाएको तरुल रु ९० हजारमा व्यापारीलाई बेचि सकेको बताउनु भयो । व्यापारीले नै खनेर लैजाँदा किसानको ज्याला पनि बचिरहेको उहाँको भनाई छ । जिल्लाका किसानहरुले फलाएको तरुल बढी मात्रामा काठमाण्डौं लाने गरिएको व्यापारीहरुले बताएका छन् ।
यहाँको तरुल स्वादिलो हुने भएकाले काठमाण्डौं लगायत ठूला शहरहरुबाट अत्यधिक माग आइरहेको बरहथवा नगरपालिका–५, का व्यापारी रामनाथ साहले बताउनु भयो । जिल्लाका किसानहरुले पताले र रातो तरुल धेरै मात्रामा लगाउने गरेका छन् । यहाँको तरुल काठमाडौं, पोखरा, वीरगन्ज, इटहरीलगायत प्रमुख बजारसम्म पुग्ने गरेको व्यापारीहरुको भनाई छ । भने जिल्लामा करिब २ सय ५० हेक्टर क्षेत्रफलमा तरुल उत्पादन हुने जिल्ला कृषि ज्ञान केन्द्र मलंगवाका निमित्त प्रमुख कमलदेव प्रसाद कुशवाहले बताउनु भयो । उहाँका अनुसार तरुल  प्रतिहेक्टर १५ टन सम्म फल्ने गर्दछ । जिल्लाका किसानहरुले उत्पादन गरेको तरुल गतवर्ष रु १५० प्रति किलो सम्मा विक्रि भएको थियो भने यस वर्ष अहिले नै रु ५० प्रतिकिलोमा बिक्रि सुरु भएको किसानहरुको भनाई छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech