सहकारीले निर्माण व्यावसायीलाई रकम भुक्तानी गरेन्

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०८०-३-२८ गते   ६९१ पटक हेरिएको

रोल्पाको त्रिवेणी गाउँपालिका २ मा रहेको नुवागाँउ साना किसान कृषि सहकारी संस्था लिमिटेडले शीत भण्डारण भवनको निर्माण कार्य सम्पन्न गरेको लामो समय सम्म पनि निर्माण कम्पनीलई भुक्तानी नगरेको निर्माण व्यावसायीले गुनासो गरेका छन् ।
लुम्बिनी प्रदेश सरकारको कृषि खाद्य प्रविधि तथा भूमि ब्यवस्थापन मन्त्रालय र रोल्पाको नुवागाँउ साना किसान कृषि सहकारी संस्था लिमिटेडबीच आर्थिक वर्ष २०७५÷०७६ मा रु ५ करोड ५५ लाख ८९ हजार २ सय १५ मा त्रिवेणी गाउँपालिका २ दहवनमा दहवन शीत भण्डारण केन्द्र निर्माण गर्ने सम्झौता भएको थियो । सम्झौतामा उल्लेख भए अनुसार करिब रु १ करोड ३८ लाख ९७ हजार ३ सय ३ सहकारी संस्थाले नै ब्यहोर्नु पर्ने उल्लेख गरिएको सहकारीका सदस्य लोक बहादुर डाँगीले जानकारी दिए ।
बाँकी रु ४ करोड १६ लाख ९१ हजार ९ सय ११ लुम्बिनी प्रदेश कृषि मन्त्रालयले भुक्तानी दिने सम्झौता भएको र सोही अनुसार मन्त्रालयले सहकारीलाई भुक्तानी दिई सकेको भएपनि सहकारीले निर्माण कम्पनी माछापुच्छे रेफ्रिजेशन एण्ड एसी पार्ट्स भैरहवालाई भुक्तानी नगरेको पाइएको छ ।
शीत भण्डारण केन्द्र निर्माण कार्य सम्पन्न भई भण्डारण कार्य समेत सञ्चालनमा आइसकेको भएपनि हालसम्म सहकारीले निर्माण व्यावसायी माछापुच्छे रेफ्रिजेशन एण्ड एसी पार्ट्स भैरहवालाई भुक्तानी नगरेको निर्माण कम्पनी माछापुच्छे रेफ्रिजेशन एण्ड एसी पार्ट्स भैरहवाका सञ्चालक हरि प्रसाद अधिकारीले बताए । उनका अनुसार मन्त्रालयबाट रकम नआएको बताउँदै पन्छिदै गर्ने नुुवागाउँ साना किसान कृषि सहकारी संस्था लिमिटेडका पदाधिकारी र सदस्यहरु मन्त्रालयले भुक्तानी दिई सकेपछि पनि विभिन्न बाहनामा भुक्तानी गर्न ढिलासुस्ती गरि रहेका छन् ।
सहकारीकी अध्यक्ष प्रमिला पुन,सचिव चन्द्र बहादुर बस्नेत र सदस्य लोक बहादुर डांगीको हस्ताक्षरमा सहकारीको खाता सञ्चालन रहेको र मन्त्रालयले रु १ करोड ६१ लाख रकम खातामा हालिदिएको भएपनि आफुहरुले पाउनु पर्ने कमिसन रकम नपाउँदा सम्म भूक्तानी नदिने सहकारीले बताउँदै आएको निर्माण कम्पनीका प्रतिनिधि अधिकारीले गुनासो गरे ।
उनका अनुसार  नुुवागाउँ  साना किसान कृषि सहकारी संस्था लिमिटेड र माछापुच्छे रेफ्रिजेशन एण्ड एसी पार्ट्स वीच सम्झौता गरी ५ सय मेट्रिक टन क्षमताको शितभण्डार निर्माण भएकोमा सो वापत उक्त सहकारीले भुक्तानी गर्नु पर्ने बाँकी रकम रु १ करोड ६१ लाख मन्त्रालयबाट सहकारीको खातामा आएपनि सहकारीकी अध्यक्ष पुन,सचिव बस्नेत र सदस्य डाँगी विभिन्न बाहना बाजीमा लागेका छन् ।
मन्त्रालयले सहकारीको खातामा रकम भुक्तानी गरि सकेको भएपनि सहकारीले निर्माण कम्पनीलाई भुक्तानी दिनुको सट्टा कमिसनमा वार्गेनीङ गर्न थालेको र २५ प्रतिशत कमिसन नदिए भुक्तानी नदिने बताएको निर्माण व्यावसायी अधिकारीले बताए ।
अधिकारीका अनुसार लुम्बिनी प्रदेशको भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालयले २०८० असार २४ गते सबै रकम सहकारीको खातामा जम्मा गरिदिएको भएपनि सहकारीकी अध्यक्ष पुन,सचिव बस्नेत र सदस्य डांगीले लुम्बिनी प्रदेशका तत्कालीन  प्रदेश प्रमुख र प्राविधिकका साथै सहकारीकी अध्यक्ष पुन,सचिव बस्नेत र सदस्य डांगीले २५ प्रतिशत कमिसन माग गरेका र कमिसन नदिँदा सम्म पैसा नदिने बताएका छन् ।
नुवागाउँ साना किसान कृषि सहकारी संस्था लिमिटेडले ब्यहोर्नु पर्ने रकम त्रिवेणी र रुन्टिगढी गाउँपालिकाले सहयोग गर्ने सहमति भएकोमा हालसम्म ति पलिकाहरुबाट पनि आर्थिक रकम प्राप्त नभएको नुवागाउँ साना किसान कृषि सहकारी संस्था लिमिटेडका सदस्य डांगीले बताए ।
शीत भण्डारण केन्द्र निर्माणमा अनियमितता भएको भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेकाले आवस्यक छानबिन तथा जाचबुझका लागि केही समय ढिलाइ भएको भएपनि मन्त्रालयबाट सहकारीको खातामा जानु पर्ने सबै रकम गई सकेको लुम्बिनी प्रदेशस्थित कृषि खाद्य प्रविधि तथा भूमि व्यवस्थापन मन्त्रालयका सचिव यम नारायण देवकोटाले बताए । 
यता,गाउँपालिकाका उपा अध्यक्ष लेखमणी डाँगीले त्यस प्रकारको कमिसनको कुनै कुरा नभएको र कसैले आफुहरुलाई त्यस प्रकारको गलत आरोप लगाएर बद्नाम गर्न खोजेको बताए ।उनले सत्यता बुझेर मात्र समाचार सम्प्रेषण गर्न पनि आग्रह गरे ।उनाले आफुहरुले गल्ती नगरेको समेत दाबी गरे ।
त्यसैगरी,त्रिवेणी गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर बाँठा मगरले लुम्बिनी प्रदेश सरकारको कृषि खाद्य प्रविधि तथा भूमि व्यवस्थापन मन्त्रालयले समन्वय गर्ने भन्ने भएको र आफ्नो नाम जोडेर कसैले बद्धनाम गर्ने काम गर्छ भने अनुसन्धान गरी आवश्यक कार्बाही प्रक्रियामा जाने बताए । उनले बाहिर अनावश्यक हल्ला गर्नु भन्दा अनुसन्धान गरि तथ्य पत्ता लगाउनु पर्ने बताए ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech