Close This

भारतीय महावाणिज्य दुतद्धारा ६ किलो मिटर सडक उद्घाटन

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-१०-२३ गते   १८३ पटक हेरिएको

सर्लाहीको बलरा बजार हुँदै गडहियासम्म जोड्ने कालोपत्रे सडकको भारतीय महावाणिज्य दुतले उद्घाटन गरेको छ ।  नेपालको श्रीकट्टा देवीको मन्दिर छेउबाट भारतीय सीमावर्ती बजार बसभिट्टा नाका छेउ सम्मको सडकको भारतीय महावाणिज्य दुतले उद्घाटन गरेको हो ।
नेपालका लागि भारतीय महावाणिज्य दुतावासका महावाणिज्य दुत नितिश कुमार र सर्लाहीको क्षेत्र नं. ४ का निर्वाचित प्रतिनिधिसभाका सांसद् डा. अमरेश कुमार सिंहले संयुक्त रुपमा शुक्रबार दिउँसो सडकको उद्घाटन गर्नु भएको हो । श्रीकट्टा देवीको मन्दिर नजिक ३३९÷२ सीमा पिलर छेउमा बनाईएको स्तम्भको पर्दा उघारेर तथा रिवन काटेर कालोपत्रे सडकको उद्घाटन गरिएको छ । उद्घाटन कार्यक्रममा विभिन्न राजनैतिक दलका नेताहरु लगायत स्थानीय सुरक्षा अधिकारीहरु, स्थानीयबासी लगायतको उपस्थिती रहेको थियो । 
भारत सरकारको आर्थिक सहयोगमा डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरले आव्ह्वान गरेको टेण्डर अनुसार करिब ६ किलोमिटर सडकखण्ड कालोपत्रे सम्पन्न भएको हो । सडकमा ह्यूमपाईप हाल्ने र कल्भर्ट निर्माणको समेत काम भएको बताईएको छ ।
दुई प्याकेजमा कालोपत्रेको काम भएको थियो । पहिलो प्याकेजको रोशन कन्ट्रक्शन कम्पनी लिमिटेड जनकपुरले  रु ३ करोड १ लाख १५ हजार ८ सय ७० । १९ पैसा तथा दोस्रो प्याकेजको विवेक निर्माण सेवा सर्लाहीले रु १ करोड २३ लाख ६२ हजार ४ सय ८८। ९१ पैसा टेण्डर सकारेर निर्माण सम्पन्न गरेको हो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech