सुनसरीको कप्तानगन्ज घटनाको विरोधमा मोरङ,सप्तरी,सिरहा,पर्सा र धनुषामा पनि प्रदर्शन सुरु भएको छ।स्थिति नियन्त्रण बाहिर गएपछि सिरहा,जनकपुरमा कफ्र्यु आदेश जारी गरिएको छ भने पर्साको वीरगन्जमा निषेधाज्ञा लगाइएको छ।सिरहाको गोलबजारमा बिहीबार तनाव भएको थियो।गोलबजारमा प्रदर्शनका क्रममा गोली लागेर स्थानीय अन्दाजी १९ वर्षीय गणेश यादवको मृत्यु भएपछि अवस्था झन तनावपुर्ण बनेको थियो ।
त्यसपछि अनिश्चितकालीन कफ्र्यु आदेश जारी गरिएको सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिए।मधेस प्रदेशको राजधानी जनकपुरधाममा समेत बिहीबार प्रदर्शनपछि अनिश्चितकालीन कफ्र्यु आदेश जारी गरिएको छ ।
सिरहाको पूर्व–पश्चिम राजमार्गको पूर्वतर्फ गोलबजार नगरपालिका–३ को कसहा खोलादेखि पश्चिमतर्फ गोलबजार नगरपालिकाको चोहर्वा चौक,उत्तरतर्फ गोलबजार नगरपालिका–६ को सैनिक चौकदेखि दक्षितर्फ गोलबजार नगरपालिका–४ को राप्र बहुमुखी क्याम्पस वरिपरिको क्षेत्रमा कफ्र्यु आदेश जारी गरिएको स्थानीय प्रशासनले जनाएको छ ।
यस्तै प्रदर्शन चर्किएपछि जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुर उपमहा नगरपालिका भित्र कफ्र्यू आदेश जारी गरेको छ।प्रशासनले बिहीबार दिउँसो साढे ३ बजेदेखि अनिश्चितकालका लागि कफ्र्यु आदेश जारी गरेको हो।जनकपुरधाम उपमहा नगरपालिका सबै भाग,लक्ष्मीनियाँ गाउँपालिका र नगराएन नगरपालिका क्षेत्रका विभिन्न क्षेत्रमा कफ्र्यू आदेश जारी गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइँटेलले जानकारी दिए ।
उनका अनुसार जिल्लाको पछिल्लो सुरक्षा स्थितिको विश्लेषणका आधारमा आन्दोलन तथा हुलदङ्गा भई शान्ति भङ्ग हुन जाने देखिएपछि जिल्ला सुरक्षा समितिको निर्णय अनुसार कफ्र्यु लगाइएको हो।बिहीबार बिहानैदेखि जनकपुरधामका विभिन्न चोकमा टायर बालेर प्रर्दशन गरिएको थियो।भिडलाई नियन्त्रण गर्न तथा उपद्रो गर्न नदिन हालसम्म १५ भन्दा बढी राउन्ड अश्रुग्यास प्रहार गरिएको छ।प्रदर्शनकै क्रममा एक बालक घाइते भएका छन्।कोसी प्रदेशको राजधानी विराटनगरमा पनि प्रदर्शन चर्किको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि पुगेका प्रदर्शनकारीलाई सुरक्षाकर्मीले “ब्यारिकेड” लगाएर रोकेका छन्।सुनसरीका १० पालिकामा लगाइएको निषेधाज्ञा जारी नै छ।पूर्व–पश्चिम राजमार्गमा यातायात आंशिक रूपमा चलाइएको छ ।जिल्ला प्रशासन कार्यालय पर्साले पर्साका केही क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ।बिहीबार एक सूचना प्रकाशन गर्दै निषेधाज्ञा जारी गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले
बताए।जिल्ला सुरक्षा समितिको निर्णय अनुसार बिहीबार साँझ ५ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको उनले जानकारी दिएका छन्।पुर्वमा प्रतिमा चौक, बसपार्क बाइपास रोड,पश्चिममा तिलावे पुल,उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य क्षेत्रमा निषेधाज्ञा जारी गरिएको उनले बताए । उक्त क्षेत्रमा पाँचजना भन्दा बढी मानिसहरू भेला हुन,सभा,जुलुस तथा प्रदर्शन गर्न नपाइने निषेधाज्ञा आदेशमा उल्लेख छ।सुनसरीमा सुरक्षाकर्मीको बाक्लो तैनाथी बीच नेपाली सेनाको हवाई तथा स्थलगस्ती निरन्तर छ।भित्री गाउँहरूमा पनि ड्रोनबाट निगरानी भइरहेको छ ।
सुनसरीको कप्तानगन्ज भने साउन १३ गते बुधबारदेखि केही शान्त देखिएको र विगतका दिनहरू भन्दा बुधबार र बिहीबार कप्तानगन्ज शान्त देखिएको बताउँदै जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक चन्द्रबहादुर खड्काले बताए । उनका अनुसार अवस्था शान्त भएपनि सुरक्षा निगरानी र गस्तीलाई निरन्तरता दिइएको छ ।