Close This

सर्लाहीमा करिब साँढे ६ हजारलाई कोरोना विरुद्धको खोप,

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-१०-२४ गते   २०० पटक हेरिएको

सर्लाहीमा  कोरोना भाईरस विरुद्धको खोपको पहिलो चरणको अभियान शनिबारबाट सकिएको छ । जिल्लामा पहिलो चरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कार्यालय सहयोगी तथा सरसफाईकर्मी, महिला स्वयंसेविका, एम्बुलेन्स चालक, शव वाहन चालक लगायतलाई खोप लगाइएको जिल्ला जनस्वास्थ्य कार्यालय मलंगवाले जनाएको छ ।
 अभियान अन्तर्गत पहिलो चरणको १० दिनमा अग्रपंक्तिमा खटिने सबैलाई खोप लगाउने तय गरिएपनि शनिबार थप एकदिन समय थपिएको जिल्ला जनस्वास्थ्य कार्यालय मलंगवाले जनाएको छ ।  जिल्लामा अभियान अन्तर्गत पहिलो चरणमा २ हजार ९ सय ७६ जनाले खोप लगाएका छन् । जिल्ला जनस्वास्थ्य कार्यालयको अनुमानित तथ्यांक अनुसार जिल्ला स्थित २० वटै स्थानिय निकायमा फ्रण्टलाईनमा काम गर्ने झण्डै ६ हजार ६ सय ३९ जना रहेका जिल्ला जनस्वास्थ्य कार्यालय मलंगवाले जनाएको छ ।
जिल्लामा लक्ष्य अनुसार खोप अभियानको पहिलो चरण सफल भएको जिल्ला जनस्वास्थ्य कार्यालयका  प्रशासक श्रवण नायकले बताउनु भयो । जिल्लाबाट कोरोना विरुद्धको ७ हजार डोज खोप माग गरिएकोमा ५ हजार ३ सय डोजमात्र प्राप्त भएको थियो । अब आज आउने लिखित निर्देशन अनुसार बाँकी रहेको खोपलाई सर्लाहीमै भण्डारण गरेर राख्ने वा केन्द्रलाई फिर्ता पठाउने भन्ने निर्णय गरिने उहाँले बताउनु भयो ।
 सर्लाहीमा अहिलेसम्म खोप लगाएका कोही पनि व्यक्तिमा कुनै पनि किसिमको स्वास्थ्य समस्या नदेखिएको जनस्वास्थ्य प्रशासक नायकले बताउनु भएको छ । पहिलो डोज खोप लगाएका व्यक्तिले अब २८ दिनपछि फेरी दोश्रो डोज लगाउनुपर्ने छ । अघिल्लो बुधबार अर्थात माघ १४ गतेबाट सर्लाहीसहित देशभर सुरु गरिएको पहिलो चरणको अभियान माघ २४ गते शनिबारबाट अन्त्य भएको हो ।
 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech