Close This

गोलभेंडाको उत्पादन बढ्यो मूल्य घट्यो, किसानहरु चिन्तीत

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-१०-३० गते   २५६ पटक हेरिएको

सर्लाहीका किसानहरु गोलभेँडाको मूल्य आधाले घटेपछि किसानहरु मारमा परेकाछन् ।  प्रति क्रेट १ हजार र सो भन्दा बढी मुल्यमा बिक्री हुँदै आएको गोलभेँडाको मूल्य अचानक आधाले घटेपछि सर्लाहीका व्यवसायीक तरकारी  किसानहरु मारमा परेका छन्। 
अहिले गोलभेडाको बजार मूल्य आधाले घटेर प्रति क्रेट रु ४ सय ५० देखि रु ५ सय सम्ममा बिक्री भइरहेकोले उत्पादन गर्न लगाएको लागत पनि नउठ्ने भन्दौ सर्लाहीका गोलभेँडा उत्पादक किसानहरु चिन्तामा परेका छन् ।     उत्पादनको  सुरुवातमा गोलभेडाले राम्रो मूल्य पाए पनि पछि उत्पादन बढ्न थालेपछि  मूल्य आधाले  घटेको किसानहरुले बताएका छन् । अझैपनि उत्पादन बढिरहेकाले गोलभेडाको मूल्य अझ घट्ने उनीहरूले गुनासो गरेका छन् ।  उत्पादनको  सुरुवात र  अन्तिम समयमा गोलभेडा कम निस्कने भएकोले यसले राम्रो मुल्य पाउने तर हरेक वर्ष यो  समयमा उत्पादन बढी हुनेभएकोले मुल्य घट्ने गरेको लालबन्दीका किसान भोला रायले बताए । 
बजारमा गोलभेडा धेरै मात्रामा भित्रिएको भन्दै  व्यापारीहरुले हरेक वर्ष यो समयमा मूल्य घटाउने गरेका कारण  किसानहरु मारमा पर्ने गरेका तरकारी बजार व्यावस्थापन समिति लालबन्दीका व्यावस्थापक शम्भु घिमिरेले बताउनु भयो ।तर व्यापारीहरु भने  उत्पादन अनुसार बाहिर निकासी नहुँदा मूल्य घटेको बताउने गरेका छन्। अहिले बजारमा भारतीय गोलभेडा पनि भित्रिएकाले स्थानीय स्तरमा  उत्पादन भएको गोलभेडाको मूल्य घटेको व्यापारीहरुको भनाइ छ। 
 सर्लाहीको लालबन्दी, ईश्वरपुर, हरिवन र बागमती नगरपालि लगायत महोतरीको गौसला,सम्सी,खयरमार लगायतका स्थानका क्षेत्रका किसानहरुले सैयौं बिघा जमिनमा व्यवसायिक रुपमा गोलभेडा खेती गर्दै आएका छन् ।यस क्षेत्रका किसानहरुले  स्थानीय स्तरमा उत्पादन गरेको  गोलभेडा जिल्लाको सदरमुकाम मलंगवा ,बयलबास लालबन्दी,नवलपुर,हरिपुर र हरिवन बजारमा ल्याएर बिक्री गर्ने  गरेका छन्। भने देशका विभिन्न ठुला शहरहरुमा समेत यहाँ उत्पादन भएको गोलभेडा जाने गरेको छ । जिल्ला बाहिर काठमाडौं, हेटौंडा ,पोखरा, बुटवल, नारायणगढ,बिराटनगर, धरानलगायत देशका ठूला सहरहरुमा समेत यस क्षेत्रमा उत्पादन भएको गोलभोडा जाने गरेको व्यापारीहरु तथा तरकारी बजार व्यावस्थापन समितिले बताउने गरेका छन । 
 सर्लाहीमा मंसिरदेखि चैतसम्म गोलभेडाको उत्पादन हुने गरेको छ। अहिले लालबन्दी बजारबाट मात्रै दैनिक ३ देखि ४ सय क्विन्टल गोलभेडा जिल्ला बाहिर निकासी भइरहेको लालबन्दी तरकारी बजार व्यवस्थापन समितिले जनाएको छ ।  गोलभोडाको उत्पादन घटेको समयमा व्यापारीहरुले राम्रो मुल्य दिएर खरिद गर्ने गरेका भएपनि किसाहरुको उत्पादन बढेको समयमा व्यापारीहरुले गोलभेडा लगायतका तरकारीहरुको मूल्य घटाउने गरेका छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech