Close This

नगर विकास कोषद्धारा लालबन्दी नगरपालिका सम्मानीत

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-११-४ गते   ३०७ पटक हेरिएको

नगर विकास कोषद्धारा सम्मानीत हुदै लालबन्दी नगरपालिकाका नगर प्रमुख मान बहादुर खड्का

 नगरको पूर्वाधार विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएको नगर विकास कोषले आफ्नो ३३ औँ वार्षिकोत्सव  मनाएको छ । सानो पूँजीबाट शुरू गरेको लगानीको यात्रा ३२ वर्षको छोटों अवधिमै उच्चतम सफलता हासिल गरि ३३ वर्षमा प्रवेश गरेको अवसरमा नगर विकास कोषले आफ्नो ३३ औँ वार्षिकोत्सव  मनाएको हो ।  आफ्नो ३३ औँ वार्षिकोत्सव को अवसरमा नगर विकास कोषले सर्लाहीको लालबन्दी नगरपालिकालाई नेपालकै उत्कृष्ट नगरपालिका घोषित गरि सम्मान गरेको छ । 
देशभरिका नगरपालिकाहरुको  विभिन्न योजना तथा विकास निर्माणमा लगानी गर्दै आएको नगर विकास कोषले  लालबन्दी नगरपालिकालाई कोषको लगानीमा निर्माण भएका देशभरिका  आयोजनाहरु मध्ये सफल कार्यान्वयन तथा व्यवस्थापन गर्ने उत्कृष्ट नगरपालिका घोषणा गरि कदर पत्र र रु १ लाख नगद पुरस्कार सहित सम्मान गरेको हो । कोषद्वारा आयोजीत कार्यक्रममा  नगर प्रमुख मान बहादुर खड्का लगायत लेखा अधिकृत नेत्र बहादुर पाखिङ, इन्जीनियर रोशन कुमार पण्डित समेतलाई आमन्त्रण गरि शहरी विकास मन्त्री प्रभू साहबाट सम्मान गरेको हो । नगरपालिकाले कोषको लगानीमा डुमडुमे मन्दिर नजिक ६ तले व्यवसायिक भवन निर्माण गरिरहेको छ भने अघिल्ल आर्थिक वर्षहरुमा समेत बिभिन्न निर्माण कार्यहरु निरन्तर गरेको थियो ।
कार्यक्रममा मन्त्री साहले सहरी बिकास मन्त्रालय मातहत रहेको नगर विकास कोषले ऋण लगानीमार्फत देशको महत्वपूर्ण बिकास आयोजनाहरूमा महत्वपुर्ण भुमिका खेल्दै आएको बताउनु भयो । देश निर्माणमा उल्लेखनीय भूमिका खेलेको भन्दै मन्त्री साहले नगर बिकास कोषलाई धन्यवाद समेत दिनु भएको छ ।
सानो पूँजीबाट शुरू गरेको लगानीको यात्रा ३२ वर्षको छोटों अवधिमै उच्चतम सफलता हासिल गरि ३३ वर्षमा प्रवेश गरेको अवसरमा विशेष शुभकामना दिनुहुदै मन्त्री साहले एक स्वायत्त एवम दिगो वित्तिय मध्यस्थकर्ताको रूपमा नगर विकास कोषलाई छिट्टै “पूर्वाधार विकास निगम”मा विकास गरी दीर्घकालीन ऋण लगानीमार्फत सहरी पूर्वाधार विकासलाई तिब्रता दिने बताउनु भयो । यस योजनाले समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य हासिल गर्न महत्वपूर्ण सफलता प्राप्त हुने शहरी विकाश मन्त्रालयले विश्वास लिएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech