स्वा. वाग्लेको श्रद्धाञ्जली सभामा प्रचण्ड र नेपाल आउने,सर्लाहीका तीन नगरपालिकामा बिदा

3.1k Shares

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का केन्द्रीय  सदस्या तथा सर्लाही इन्चार्ज डाचाराज वाग्लेको श्रद्धाञ्जली सभामा सम्बोधन गर्न नेकपा प्रचण्ड समूहका केन्द्रीय अध्यक्ष एवम पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल विहिबार सर्लाही आउने भएका छन् । सर्लाहीको हरिपुर नगरपालिका–१ हजारबिगाहमा स्व. वाग्लेको तेह्रौं पुण्यतिथिका अवसरमा आयोजित श्रृद्धाञ्जली सभालाई सम्बोधन गर्न प्रमुख वक्ताको रुपमा दुई नेताले सम्बोधन गर्ने नेकपा सर्लाहीका अध्यक्ष रेवती पन्तले जानकारी दिनु भयो । 
स्व. वाग्लेको योगदानको कदर गर्दै  सर्लाहीको तीनवटा नगरपालिकाले विहिबार सार्बजनिक बिदा समेत दिएका छन् । हरिपुर, बागमती र बरहथवा नगरपालिकाले विहिबार एकदिन आ–आफ्नो नगर क्षेत्रभित्र सार्बजनिक विदा दिएका हुन् ।  स्व. वाग्लेको श्रद्धाञ्जली सभामा सरिक हुन पूर्व प्रधानमन्त्री समेत रहेका विशिष्ट राजनैतिक व्यक्तित्वहरु समेत आउने भएकाले सार्बजनिक बिदा दिईएको पालिका प्रमुखहरुले बताएका छन् । हरिपुर नगरपालिकाका नगर प्रमुख जमिरुद्धिन मन्सुरले नगरको विकासमा स्वा.वाग्लेले पु¥याको योगदानको कदर र देशका दुई जना विशिष्ठ व्यक्तिहरुको उपस्थितिमा हुन लागेको कार्यक्रमलाई मध्यनजर गरी विहिबार एक दिन सार्बजनिक विदा दिइएको जानकारी दिनु भयो ।
 यस्तै, नगरको विकास निर्माण तथा सामाजिक उत्थानका कार्यहरुमा स्वा.वाग्लेले पु¥याएको योगदानको उच्च कदर गर्दै बागमती नगरपालिकाले पनि बिहिबार शोक बिदा दिएको उपप्रमुख लिलाकुमारी मोक्तानले बताउनु भयो । त्यसैगरी, बरहथवा नगरपालिकाका नगर प्रमुख देवानन्द महतोले समेत एक सुचना जारी गरि विहिबार नगर क्षेत्रमा सार्बजनिक बिदा दिइएको जानकारी गराउनु भएको छ ।
नगरपालिकाको सार्बजनिक बिदामा संघ र प्रदेश सरकार मातहतका सरकारी कार्यालय एवम निजी वित्तीय संस्थाहरु भने खुल्लै रहने छन् । विशेषगरी सरकारी एवम निजी विद्यालयहरु र नगरपालिका अन्तर्गतका सम्पूर्ण सरकारी कार्यालयहरु भने नगरपालिकाले दिएको सार्बजनिक बिदामा बन्द हुने गर्दछन् । नेकपा सर्लाहीका अध्यक्ष पन्तका अनुसार सभामा करिब ५० हजार जनाको उपस्थिती रहने छ । कार्यक्रममा सहभागी हुन ‘नेपाल बुधबार साँझै रौतहट आईसक्नु भएको छ, प्रचण्ड बिहिबार बिहान साँढे ७ बजे सिमारामा ओर्लेर चपुर आउने कार्यक्रम रहेको छ’,अध्यक्ष पन्तले बताउनु भयो । 
हरिपुर नगरपालिका–१, हजारविगाहा घर भएका स्वा.वाग्ले माघ २१ गते राती बरहथवा नगरपालिका–९, स्थित नयाँरोड–बरहथवा सडकखण्ड अन्तर्गत मूर्तिया जंगलमा मृत फेला परेका थिए । उक्त दिन पार्टीले बरहथवामा आयोजना गरेको मसाल जुलुसको नेतृत्व गरी राती मोटरसाईकलमा फर्कँदै गर्दा राती ९ बजे वाग्ले मृत अवस्थामा फेला परेका हुन् । 
प्रहरीले दुर्घटनामै वाग्लेको मृत्यु भएको बताएपनि के कसरी दुर्घटना हुन पुग्यो भन्ने एकिन कारण पत्ता लगाउन सकेको छैन् । यता नेकपा नेताहरुले भने स्वा.वाग्लेको मृत्यु रहस्यमय भन्दै निश्पक्ष छानविन गर्न माग गर्दै आएको छ । नेकपा सर्लाहीका अध्यक्ष पन्तले घटनाको भोलिपल्टै विज्ञप्ति नै निकालेर मृत्यु रहस्यमय रहेकाले निश्पक्ष छानविन गर्न र दोषिलाई कानूनी कारबाहीको दायरामा ल्याउन माग समेत गर्नू भएको थियो ।

सम्बन्धित समाचार