प्रदेश २ प्रदेश प्रमुखमा डा. झा नियुक्त

3.5k Shares

सर्लाहीको मलंगवा निवासी पत्रकार एवम राजनैतिक विश्लेषक डा.राजेश झा(अहिराज)प्रदेश नम्बर दुईको प्रमुखको रुपमा नियुक्त हुनु भएको छ । संघीय मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मलंगवा नगरपालिका–८ निवासी डा.झालाई प्रदेश दुई प्रमुखमा नियुक्त गर्नु भएको हो । । राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले शुक्रबार एक विज्ञप्ति जारी गर्दै डा. झालाई प्रदेश नं. २ को प्रदेश प्रमुखमा राष्ट्रपति भण्डारीद्वारा नियुक्त गरेको जानकारी गराउनु भयो । तत्कालिन प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गर्दै राष्ट्रपति भण्डारीले परियारको ठाउँमा डा.झालाई नियुक्त गर्नु भएको हो ।
पूरानो घर रौतहट भएपनि हाल डा. झाको घर मलंगवा नगरपालिका–८ मा रहेको छ । उहाँले मलंगवाबाटै पत्रकारिता क्षेत्रको सूरुवात गर्नु भएको थियो । २०६२÷०६३ सालदेखि केही वर्षसम्म काठमाडौंको अनामनगरमा मधेश मिडिया हाउस सञ्चालन एवम मधेशवाणी साप्ताहिक प्रकाशन सूरु गरेर मधेशवादी दलको मुद्धा उठानमा सक्रिय पत्तत्रकार डा. झाले केही वर्षयता भने संघीयताको विरुद्धमा समेत आफ्ना विचारहरु राख्दै आउनु भएको थियो । पछिल्लो समय भने उहाँ मधेश मिडिया हाउस एवम मधेशवाणी साप्ताहिकमा निश्क्रिय हुनु भएको छ ।
मधेश मामिलामा विद्यावारिधी गर्नुभएका डा. झाले पछिल्लो समय मधेशवादी दलका नेता विरुद्ध कटाक्ष गर्दै राष्ट्रिय एकताको पक्षमा आवाज उठाउँदै आउनु भएको थियो । पछिल्लो केही वर्षयता राष्ट्रिय एकताको पक्षमा मात्र नभइ नेपालमा धेरै प्रदेश हुनुहुदैन भन्ने लगायत आवाज उठाउदै आउनु भएका डा.झाले प्रधानमन्त्री केपी शर्मा ओलीबाट उच्चस्तरीय पुरस्कारको रुपमा प्रदेश प्रमुखको पद हात पार्नु भएको हो । 

सम्बन्धित समाचार