Close This

स्व. वाग्लेको घटना सिआइबीले छानविन गर्नुपर्ने माग, छानविन समितिले गृहमन्त्रीलाई बुझाइयो ज्ञापनपत्र

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-१२-४ गते   २५७ पटक हेरिएको

स्व. वाग्लेकी धर्म पत्नी सरस्वती सहित घटना छानविन समितिको टोली गृहमन्त्री बादललाई ज्ञापनपत्र बुझाउदै गर्दा

नेकपाका केन्द्रीय सदस्य तथा सर्लाही जिल्ला इन्चार्ज डाचाराज वाग्लेको रहस्यमय मृत्युको घटना छानविन गर्न माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले घटनाको अनुसन्धान गर्नुपर्ने मागसहित छानविन समितिले सिंहदरवारमा पुगेर गृहमन्त्री रामबहादुर थापा (बादल)लाई ज्ञापनपत्र बुझाएको स्वा.वाग्लेकी धर्मपत्नी सरस्वती मिश्र(वाग्ले)ले जानकारी दिनु भयो । 
नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य गिरीराजमणि पोखरेलको नेतृत्वमा वाग्लेकी पत्नी सरस्वती,पार्टीद्वारा गठित छानविन समितिका संयोजक प्रल्हाद बुढाथोकी, माओवादी केन्द्रका केन्द्रीय सदस्य अच्युतम काफ्ले, सर्लाही जिल्ला अध्यक्ष कमल बुढाथोकी, नेकपा (माओवादी केन्द्र)का सांसदद्वय रामेश्वर राय यादव, राधेश्याम पासवानसहितको टोलीले गृहमन्त्री बादललाई भेटेर ज्ञापन पत्र बुझाएको हो।
ज्ञापनपत्र बुझेपनि गृहमन्त्री बादलले सिआइबीको टोलीलाई घटना छानविन गर्न लगाउने÷नलगाउने विषयमा कुनै प्रतिक्रिया नजनाएको वाग्लेकी पत्नी सरस्वतीले बताउनु भयो । 
यहि माघ २१ गते राति सर्लाहीको मुर्तिया जंगलमा वाग्लेको शव फेला परेको थियो। सवारी दुर्घटनामा वाग्लेको मृत्यु भएको दाबी प्रहरीले गर्दै आएको भएपनि दुर्घटनाको प्रकृति हेर्दा सवारी दुर्घटना मात्र नभइ शंकास्पद सवारी दुर्घटना भएकोले घटना छानविन गर्न परिवारजनले जोडदार माग गरि रहेको छ ।
तत्कालिन नेकपा (प्रचण्ड–नेपाल पक्ष) र वाग्लेका परिवारका सदस्यले भने सवारी दुर्घटनालाई रहस्यमय भन्दै वाग्लेको हत्या भएको हुनसक्ने आशंका व्यक्त गर्दै आएका छन्।
वाग्लेको रहस्यमय मृत्यु घटना छानविन गर्न पार्टीले नेता प्रल्हाद बुढाथोकीको संयोजकत्वमा ९ सदस्यीय छानविन समिति गठन गरेको थियो। छानविनको प्रतिवेदनसमेत गृहमन्त्री बादललाई बुझाइएको छानविन समितिले जनाएको छ । सो प्रतिवेदनमा पनि वाग्लेको मृत्युलाई रहस्यमय ठहर गर्दै राज्यले उच्चस्तरीय छानविन गर्नुपर्ने माग गरिएको छानविन समितिका संयोजक बुढाथोकीले बताउनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech