Close This

गुन्जिन छाड्यो परम्परागत होली गीत

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-१२-९ गते   ४४२ पटक हेरिएको

 रंग र अबिरको पर्व होली  नजिकिएसंगै प्रदेश २ का जिल्लाहरुमा रौनक सुरु भएको छ । कुनैबेला होली पर्व आउन हप्ता पन्ध्रदिन बाँकी रहँदै गाउँघरमा राति गुन्जिने परम्परागत होली गीत अचेल लोप हुँदै गइरहेको छ ।  
वसन्त ऋतुको आगमनसँगै श्रीपञ्चमीदेखि फागु पूर्णिमासम्म गाइने फागुवा(होली) गीत लोप हुन थालेको भन्दै स्थानीय बुढापाकाहरुले चिन्ता ब्यक्त गरेका छन् । “पहिले गाउँघरमा होली आएको भन्ने जानकारी  फागु गीत गाएर गराइन्थ्यो । अब त्यो सब बन्द भएको छ । ” लालबन्दी नगरपालिका ७ का  उमाशंकर साहले बताउनु भयो ।
‘जोगीरा सर..र..र... कौन तालपर ढोलक बाजे कौन ताल मृदंङ. कौन तालपर गोरिया नाचे कौन तालपर हम‘ भन्ने गीत अब कमै सुन्न पाइन्छ,’ कबिलासी नगरपालिका सलेमपुरका समाजसेवी दिनेश रायले बताउनु भयो ।  ‘पहिले पहिले त गाउँको बीचमा रहेको कुनै सार्वजनिक ठाउँमा गाउँका मानिसहरु बसेर अबेर रातिसम्म जोगीरा गाउँथे तर अब जोगीरा नसुनेको पनि धैरै भयो।’ उहाँले भन्नु भयो ।
 समयको परिवर्तन र गाउँका युवा रोजगारीका लागि छिमेकी देश भारत लगायत खाडी मुलुकहरुमा गएकाले पनि गाउँ घरबाट फागु गाउने परम्परा लोप हुन थालेको सलेमपुरकै ठगा साहले बताएका छन् । “होलीको पौराणिकता अब कहाँ रह्यो र दिनहुँजसो हुने झैझगडाले गर्दा नत अब होलीको रौनक छ, नत माधुर्य नै ।”नागरिक समाजका अगुवा शिवचन्द्र चौधरीले बताउनु भयो । आपसी प्रेम, भाइचारा  र सद्भावको ठाउँमा राग र द्वेष देखापरेकाले होलीसँगै जोगीरा गीत पनि प्रभावित भएको उहाँको भनाई छ । पश्चीमा संस्कृतिको प्रवेशसंगै नेपालीका परम्परागत कला सस्कृति दिन प्रतिदिन लोप हुन थालेका स्थानिय केदार मैनालीले बताउनु भयो ।
होलीपर्व आउन करिब दुई साता समय रहेको भएपनि परापूर्वकालदेखि गाउँदै आएको होली गीत जोगीरा लोप हुँदै गएकोमा बुढापाकाले चिन्ता व्यक्त गरेका छन् । नेपालीहरुको विश्वमा आफ्नै पहिचान भएका कारण नेपालीको संस्कृति परम्परा, मुल्य मान्यताको संरक्षणमा युवावर्ग अगाडि आउनुपर्नेमा छोटेलाल साहले बताउनु भयो ।
     अहिले स्थानीय सञ्चार माध्यमहरुमा र बजारमा  बज्ने होलीका अश्लील भोजपुरी गीतले पनि परम्परागत होली गीतमाथि धावा बोलेका छन्। आधुनिकताले गर्दा पूरानो परम्परा लोप हुँदै गएको छ । सांस्कृतिक दृष्टिकोणले अति महत्वपूर्ण रहेको होली पर्वले सबै जातजातिलाई प्रभाव पारेको छ । यसको रौनकता नै समाप्त भएर जान लागेको अग्रज शम्भु घिमिरेले बताउनुभयो। 
   पहिलेको होली गीतमा धार्मिक तथा सद्भावको सन्देश बढी पाइन्थ्यो तर अहिले अश्लील भोजपुरी गीत बढी गाउन थालिएको छ । भने दिनप्रति दिन होलीको परम्परागत विश्वास पनि लोप हुने अवस्थामा पुगेको भन्दै अग्रजहरुले चिन्ता व्यक्त गरेका छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech