सिन्धुलीका ९ वटा पालिकामा करिब ३५ हजार भूमिहीन दलित,भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरु

171 Shares

 सिन्धुलीका नौ वटै पालिकाबाट भूमिहीन दलित,भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको तथ्यांक संकलनको काम सकिएको छ।सिन्धुलीका दुई वटा नगरपालिका सहित सात वटा गाउँपालिकाबाट गरी कुल ३४ हजार नौ सय ८० जना भूमिहीन दलित,भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुले निवेदन दर्ता गराएका भूमि आयोग सिन्धुलीका अध्यक्ष कौशल कोईरालाले जानकारी दिए ।
उनका अनुसार एक हजार ५७ जना भूमिहीन दलित,एक हजार पाँच सय नौ जना भूमिहीन सुकुम्बासी र ३२ हजार चार सय १४ जना अव्यवस्थित बसोबासीहरु गरी कुल ३४ हजार नौ सय ८० जनाले आयोगमा आवेदन दिएकामा त्यसलाई प्रमाणिकरण गर्ने काम भई रहेको छ।आयोगका अनुसार कमलामाई नगरपालिकाबाट दुई सय ६३ जना भूमिहीन दलित,छ सय ८६ जना भूमिहीन सुकुम्बासी र सात हजार एक सय ७५ जना अव्यवस्थित बसोबासीहरुले आवेदन दिएका छन् ।
दुधौली नगरपालिकाबाट पाँच सय ५८ जना भूमिहीन दलित,पाँच सय ३८ जना भूमिहीन सुकुम्बासी र १० हजार तीन सय ७५ जना अव्यवस्थित बसोबासीहरु,मरिण गाउँपालिकाबाट ४८ जना भूमिहीन दलित,दुई सय १२ जना भूमिहीन सुकुम्बासी र चार हजार १० जना अव्यवस्थित बसोबासीहरु,हरिहरपुरगढी गाउँपालिकाबाट २४ जना भूमिहीन दलित,दुई सय १० जना भूमिहीन सुकुम्बासी र पाँच हजार दुई सय ७० जना अव्यवस्थित बसोबासीहरु,गोलन्जोर गाउँपालिकाबाट २० जना भूमिहीन दलित,नौ जना भूमिहीन सुकुम्बासी र नौ सय ९५ जना अव्यवस्थित बसोबासीहरु,घ्याङ्लेख गाउँपालिकाबाट तीन जना भूमिहीन दलित,२१  जना भूमिहीन सुकुम्बासी र पाँच सय ५३ जना अव्यवस्थित बसोबासीहरु, तीनपाटन गाउँपालिकाबाट एक सय ३५ जना भूमिहीन दलित,२९ जना भूमिहीन सुकुम्बासी र तीन हजार एक सय २० जना अव्यवस्थित बसोबासीहरु,सुनकोशी गाउँपालिकाबाट पाँच जना भूमिहीन दलित,१४ जना भूमिहीन सुकुम्बासी र नौ सय आठ जना अव्यवस्थित बसोबासीहरु,फिक्कल गाउँपालिकाबाट एक जना भूमिहीन दलित र आठ जना अव्यवस्थित बसोबासीहरु गरी कुल एक हजार ५७ जना भूमिहीन दलित,एक हजार पाँच सय नौ जना भूमिहीन सुकुम्बासी र ३२ हजार चार सय १४ जना अव्यवस्थित बसोबासीहरु गरी कुल ३४ हजार नौ सय ८० जनाले आयोगमा आवेदन दिएका आयोगले जनाएको छ ।
आवेदकहरुले स्थानीय पालिकाहरुमा आवेदन दिने र उत्त आवेदन जिल्ला स्थित भूमि आयोगमा पठाउने काम हुनेमा केही पालिकाहरुबाट केही आवेदनहरु आयोगको कार्यालयमा पठाउने काम भई राखेकाले आवेदकहरुको संख्या थपिन सक्ने आयोग सिन्धुलीका अध्यक्ष कोईरालाले बताए । २०८१ पुसमा गठन भएको आयोगको जिल्ला स्थित कार्यालयहरु २०८२ असोजमा गठन भएका भएपनि राजनीति नियुक्त हुने संस्था भएकाले र सर्वाेच्च अदालतले विघटन गरेका कारण पनि आयोगले आफ्नो रफ्तारमा काम गर्न नपाएको उनले बताए ।
यो समाचार तयार पार्दै गर्दा सम्म आयोगका अनुसार देशभर नौ हजार १२ जनालाई जग्गाधनी प्रमाण पूर्जा वितरण गरिएको छ भने सात सय ५० वटा पालिकासंग सम्झौता गर्दा ११ लाख ५२ हजार आठ सय ७० वटा आवेदन लगत प्रविष्ट गरिएको भूमि समस्या समाधान आयोगले जनाएको छ ।भूमिहीन दलित,भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको आवास तथा भूमिमाथिको पहुँच र स्वामित्व स्थापित गराई देशबाट भूमिहीनताको अन्त्य,भूमिको महत्तम उपयोग र जनमुखी एवम न्यायपूर्ण भूमि व्यवस्था स्थापित गर्न योगदान गर्ने भन्दै गठन भएको आयोगले भूमिसम्बन्धी बहुआयामिक समस्याहरूलाई दीर्घकालीन रूपले समाधान गर्न योगदान गर्ने आयोगका केन्द्रीय अध्यक्ष श्री हरि प्रसाद रिजालले बताए ।
उनका अनुसार भूमिहीन दलित,भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्ने प्रयोजनका लागि भूमि सम्बन्धी ऐन,२०२१ को दफा ५२क.को उपदफा (३) र ५२(ख)को उपदफा (६) बमोजिम नेपाल सरकारबाट २०८१ असोज १४ गते आयोग गठन आदेश जारी गरी भूमि समस्या समाधान आयोगको गठन भएको हो।
मानवजातिका लागि गाँस,बास र कपासजस्ता जीवनका आधारभूत आवश्यकता पूरा गर्ने मुख्य स्रोत भूमि प्रकृतिप्रदत्त सम्पदा हो।कृषि प्रधान देश नेपालका लागि भूमि मुख्य उत्पादनको साधन हो। यो कृषि तथा खाद्य उत्पादन,उद्योगधन्दा कलकारखानाका विभिन्न कच्चा पदार्थ उत्पादनका साथै मानव जीवन र जीविकाका अधिकांश दैनिक क्रियाकलापहरूको मुख्य थलो हुनुका साथै सांस्कृतिक पहिचान र समृद्विको आधार पनि हो। यसर्थ,भूमि मानव जीवनको अभिन्न हिस्सा हो।
नेपालको संविधानमा प्रत्येक नागरिकलाई खाद्यसम्बन्धी हक,आवासको हक,कानुनको अधीनमा रही सम्पत्ति आर्जन गर्ने,भोग गर्ने,बेचबिखन गर्ने,व्यावसायिक लाभ प्राप्त गर्ने र सम्पत्तिको अन्य कारोबार गर्ने सम्पत्तिको हक; प्रत्येक किसानलाई कानुनबमोजिम कृषि कार्यका लागि भूमिमा पहुँच,अनुपस्थित भू–स्वामित्वलाई निरुत्साहित गर्दै जग्गाको चक्लाबन्दी गरी उत्पादन र उत्पादकत्व वृद्धि,भूमिमा रहेको दोहोरो स्वामित्व अन्त्य गर्दै किसानको हितलाई ध्यानमा राखी वैज्ञानिक भूमिसुधार गर्ने,भूमिको उत्पादनशीलता,प्रकृति तथा वातावरणीय सन्तुलनसमेतका आधारमा समुचित उपयोग गर्ने; अव्यवस्थित बसोबासलाई व्यवस्थापन गर्ने तथा योजनाबद्ध र व्यवस्थित बस्ती विकास गर्ने मुक्त कमैया,कमलरी,हरवा–चरवा,हलिया पहिचान गरी बसोबासका लागि घर,घडेरी तथा जीविकोपार्जनका लागि कृषियोग्य जमिन उपलब्ध गराउने संवैधानिक व्यवस्था छ।
तिनलाई लागु गर्न भूमि सम्बन्धी ऐन,२०२१ मा आवश्यक संशोधन गरिएको छ। नेपालको संविधान र कानुनी व्यवस्थाबमोजिमका हक र अधिकारलाई कार्यान्वयन गर्न भू–उपयोग ऐनका आधारमा उपलब्ध भूमिको वैज्ञानिक र महत्तम उपयोग गर्न,भूमिको बहुआयामिक व्यवस्थापन गर्न र भूमि प्रशासनलाई जनमुखी बनाई आम जनताको सहज र सरल पहुँचसहितको सुशासन कायम गर्नु राज्यको दायित्व हो।

सम्बन्धित समाचार